२०८२ फाल्गुन २३ गते, शनिबार १०:५२
  • १३ हजारमा भैरहवाबाट बैंकक, थाइ एयर एशियाले कात्तिक ९ गतेबाट उडान गर्दै

    भैरहवा– थाइ एयर एशियाले कात्तिक ९ गते अर्थात अक्टोवर २६ तारिखबाट भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुन उडान थाल्दै छ। आइतबार र बुधबार साताको दुई दिन बैंकक भैरहवा बैंकक उडान हुन लागेको हो ।

    थाइल्याण्डको बैंककबाट भैरहवा उडान गर्नको लागि उडान गर्नको लागि एयर एशियाले गत असारमै अनुमती लिएर टिकट खुल्ला गरेको थियो। भैरहवाबाट थाइल्याण्ड उडानको लागि न्युनतम १३ हजार ३६ रुपैया भाडादर तोकिएको छ।

    कात्तिक ९ गते पहिलो दिनको टिकट दर १७,८५५ रुपैया रहेको छ। त्यसपछि कात्तिक १२, १६ र १९ गतेका उडानको लागि १३,०३६ रुपैया निर्धारण गरिएको छ। यो एयर एशियाको वेवसाइटमा बुधबार दिउसो देखिएको भाडादर हो। जहाजको भाडादर परिवर्तन भइरहन्छ। कात्तिक २३ गते १५,०३५ रुपैया देखिएको छ। त्यसपछिका उडानमा १३,०३६ रुपैया नै रहेको छ।

    तालिका अनुसार दिउसो सवा १२ बजे एयर एशियाको जहाज भैरहवा आउने छ। सवा १ बजे भैरहवाबाट बैंकक प्रस्थान गर्ने छ।
    थाइ एयर एशियाले गत वर्ष पनि विन्टर सेड्युलमा उडान गरेको थियो। तर चैत्रबाट उडान रोकिएको थियो। कात्तिकबाट फेरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गर्न लागेको हो।

    विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले अन्तर्राष्ट्रिय उडान, यात्रुहरुको सहजता र सुरक्षाको लागि विमानस्थल प्रशासन तयार रहेको बताए। फेरि हुन लागेको भैरहवा-बैंकक उडानको निरन्तरताको लागि पर्यटन व्यवसायीहरुको भूमिका पनि महत्वपूर्ण हुने उनले उल्लेख गरे। जजिरा एयरवेजसँग पनि भैरहवाबाट पुन: उडानको लागि कुराकानी भइरहेको तर मिति निश्चित नभइसकेको तिवारीले जानकारी दिए।