
पोखरा -गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण पोखराको पर्यटन व्यवसायमा पनि ठूलो असर परेको छ। यो सिजनमा पोखरामा पर्यटन आगमन राम्रो हुने संकेत देखिएको थियो।
तर आन्दोलन र राजनीतिक घट्नाक्रमका कारण होटलका ८० प्रतिसत बुकिङ रद्द भएको पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले बताए। ‘कोभिड पछि पर्यटक आगमन कम थियो। २०२६ लाई हामीले रिभाइवल वर्ष भनेका थियौं। त्यसको संकेत पनि देखिएको थियो । सेप्टेम्बर अगाडिबाट पर्यटकहरु देखिँदा आशा थियो।’ उनले भने ‘यो पटक ७० प्रतिसत बढि अक्कुपेन्सी हुन्छ कि भन्ने लागेको थियो। तर आन्दोलन, तोडफोड र आगजनीका कारण ८० प्रतिसत बुकिङ रद्द भयो।’
अहिले पोखराका होटलहरुमा ३० प्रतिसत मात्र अक्कुपेन्सी भएको पहारीले बताए। कोभिड अगाडीका यो अवधिमा ८५ देखी ९० प्रतिसत अक्कुपेन्सी हुने गरेको थियो। अहिले पोखरामा विदेशी पर्यटकको चहलपहल निकै कम छ। आफ्नै गाडी लिएर आउने भारतीय पर्यटकको आगमन पनि एक्कासी घटेको छ।
अक्टोवर महिनाबाट सिचुवान एयरलाइन्सले पोखरादेखी चिनको छेन्दु हुँदै अष्ट्रलिया उडानको तयारी गरेको थियो। तर आन्दोनलका कारण तत्काललाई उडान नहुने भएको छ। संकटमा परेको पर्यटन क्षेत्रलाई अघि बढाउन सरकारले विभिन्न कार्यक्रम ल्याउनुपर्ने बताए। उनले पर्यटकलाई आकर्षित गर्नेखालका कार्यक्रम ल्याउन सरकारलाई आग्रह समेत गरे।

