
भैरहवा– थाइ एयर एशियाको उडानमा बैंककबाट भैरहवा आउने यात्रु पनि बढेका छन्। यो सिजनको तेस्रो उडानमा आइतबार ४७ जना बैंककबाट भैरहवा आएका छन्।
यस अघि पहिलो उडानमा १७ र दोस्रो उडानमा ११ जना यात्रु गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। भैरहवाबाट प्रस्थान गर्ने यात्रु भने यस अघिका दुई वटा उडानमा पनि राम्रो थियो।
तेस्रो उडानमा आइतबार १३६ जना भैरहवाबाट बैंकक प्रस्थान गरेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए। जसमध्ये ४० जना विदेशी पर्यटक हुन्।
थाइ एयर एशियाले कात्तिक ९ गतेदेखी बैंकक भैरहवा बैंकक उडान सुरु गरेको छ। अघिल्लो वर्ष पनि कात्तिक देखी चैत्रसम्म पनि एयर एशियाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको थियो। चैतपछि रोकिएको उडान अहिले फेरि सुरु भएको हो।

