२०८२ फाल्गुन २३ गते, शनिबार १०:५५
  • गतिशील लोकतान्त्रिकले पर्यटनमा देखाएको आशा र रुपन्देहीबासीले व्यक्त गरेको आसंका

    भैरहवा-गतिशील लोकतान्त्रिक पार्टीले विहिवार भैरहवामा आफ्नो अवधारणा सार्वजनिक गरेको थियो। जुन पार्टीमा बुद्ध एयरका कार्यकारी अध्यक्ष विरेन्द्रबहादुर बस्नेत संस्थापक सदस्य रहेका छन्। गतिशील लोकतान्त्रिक निर्वाचन आयोगमा दल दर्ताको प्रक्रियामा रहेको छ। कार्यक्रममा बस्नेतले नेपालको पर्यटन दृष्टी २०२५ प्रस्तुत गरेका थिए। उनको अवधारणापत्रमा नेपालमा अहिले भन्दा ५ गुणा बढि अर्थात ५० लाख पर्यटक भित्राउन सकिने उल्लेख छ। जसबाट ३० लाख रोजगारी सिर्जना हुने बस्नेतको दाबी छ।

    त्यस्तै भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल मार्फत नेपाल विश्वसँग जोडिन सक्ने अवधारणापत्रमा उल्लेख छ। भैरहवाबाट लामो दुरीको अन्तरमहादेशीय उडान हुन सक्ने बुद्ध एयरका अध्यक्ष बस्नेतले उल्लेख गरे। ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार पाँच घण्टाको भन्दा लामो उडान त्यहाँबाट गर्न सक्दैनौं। त्यहाँको भौगोलिक अवस्था र उपत्यका भएकाले गर्दा हो।’ उनले भने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै भन्दा लामो दुरी भनेको अमेरिकाको टोरन्टो, न्युयोर्क लस एन्जल्स सिधा उडान गर्न सक्ने क्षमता राख्दो रहेछ।’ एयरबसको प्राविधिक हिसाब किताबमा यो सम्भावना छ भनेर पुष्टी भएको बस्नेतको भनाइ छ।

    भैरहवा विमानस्थलबाट ठूलो संख्यामा पर्यटक भित्राउन नेपाल बायुसेवा निगमलाई पुनसंरचना गरि पब्लीक लिमिटेडमा लैजानुपर्ने अवधारणा पत्रमा उल्लेख छ। पुनसंचरना भएपनि नेपाल बायुसेवा निगमले १० वर्षमा ५० वटा वाइडबडी ए ३५०-१००० जहाज सञ्चालन हुन सक्ने लोकतान्त्रिक गतिशिल पार्टीले जनाएको छ। बुद्धएयरका अध्यक्ष बस्नेतले केही वर्षमा नेपाल एयरलाइन्स आधुनिक, दिगो र नाफामुलक हवाई सेवा प्रदायक विश्व स्तरको विमान सेवाको रुपमा स्थापित हुने दाबी गरे। त्यसो भएमा दाङमा हवाइ विश्वस्तरको हवाइ उड्यन तालिम केन्द्र पनि सञ्चालन हुन सक्ने बताइएको थियो।

    गतिशिल लोकतान्त्रिक पार्टीको तर्फबाट बस्नेतको प्रस्तुती सुनिसकेपछि कार्यक्रममा सहभागीहरुले प्रस्तुत अवधारणा कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका थिए। विगतमा गौतम बुद्ध विमानस्थल निर्माण हुँदा पनि रुपन्देहीबासीले ठूलो आशा गरेका थिए। अन्तर्राष्ट्रिय विमानस्थल बन्ने आशामा यहाँ दर्जन बढि तारे होटल खुले। व्यापार विस्तार भए। नीजि क्षेत्रबाट अर्बौंको लगानी भएको थियो। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको साढे ३ वर्ष भयो। तर भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। रुपन्देहीबासीले गतिशिल लोकतान्त्रिक पार्टीले प्रस्तुत गरेको अवधारणा पनि सपनामा मात्र सिमित हुने त होइन भन्ने प्रश्न गरे।

    सिद्धार्थ उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष विष्णु शर्माले अन्तर्राष्ट्रिय विमानस्थल बन्दा भैरहवाबासीहरु हौसीएको र अहिले निराश भएकाले आसंका गर्नुपरेको सुनाए। ‘हामी आसवासनमा फँसीसकेका छौं। अन्तर्राष्ट्रिय विमानस्थल बन्दै गर्दा राजनीतिक नेताहरुले यहाँ स्तरिय होटल खै भन्दै हामीलाई सोध्थे। यहाँ ठूलो लगानी भयो। तर अन्तर्राष्ट्रिय उडान भएन।’ उनले भने ‘हामीलाई पटक पटक हौस्याइयो। त्यही भएर अवधारणाप्रति संका उपसंका भएको हो।’

    पर्यटन व्यवसायी तथा सोट्टो लुम्बिनीका पूर्वअध्यक्ष सञ्जय बजिमयले देखाइएको सपना कार्यान्वयन पनि हुनुपर्ने बताए ‘अहिले कम्तीमा एउटा आन्तरिक र एउटा अन्तर्राष्ट्रिय उडानको बेस बन्नुपर्छ। भैरहवाबाट भारतका शहरमा उडान गर्न म आग्रह गर्दछु। उनले भने सपनासँगै कार्यान्वयन पनि सुरु हुनुपर्छ। बल्ल विश्वासको आधार बन्छ। लिजमा जहाज लिएर भएपनि अन्तर्राष्ट्रिय उडान सुरु गर्न बुद्ध एयरलाई आग्रह गर्दछु।

    पत्रकार दिपक घिमिरेले अन्तर्राष्ट्रिय विमानस्थलको आशामा बनेका रुपन्देहीका कतिपय स्तरिय होटल खण्डहर बनेको उल्लेख गरे। राज्यका हरेक संयन्त्रले भनेकाले आज होटल थुपै होटल र पर्यटन व्यवसाय खुले, तर स्तरिय होटलहरु खण्डहर अवस्थामा छन्। उनले प्रश्न गरे तपाईले देखेको सपना साकार हुन्छ भनेर हामीले विश्वास गर्ने आधार के छ ? ५० लाख पर्यटक ल्याउँछौं भनेर कसरी विश्वास गर्ने ।’ प्रख्यात बन्जाडेले भैरहवाबाट यस अघिका उडानमा यात्रु भएपनि निरन्तरता नपाएको बताए। सरकारले उडानको वातावरण निर्माणका लागि आवश्यक सुविधाहरु ल्याउनुपर्ने बताए। पर्यटन व्यवसायी अनिलमान श्रेष्ठले ट्राभल व्यवसायीहरुका समस्या र गुनासा राखेका थिए।

    गतिशिल लोकतान्त्रिक पार्टीका अध्यक्ष दिनेश प्रसाइँले कार्यान्वयन हुने अवधारणा प्रस्तुत गरेको दाबी गरे। ‘हामीले हावा सपना मात्र देखेको होइन कार्यक्रम सहितको सपना देखेको हो। चुनाव जितेमा हामी कार्यान्वयन गछौं। जितेनौं भनेपनि कार्यान्वयन गराउन पहल गर्नेछौं।’ उनले भने।