
बुटवल– बुटवलमा ५ तारे होटल हायात प्यालेस सञ्चालनमा आएको छ। बुटवल मण्डपको अगाडी पूर्वपश्चिम राजमार्गको छउको २५ कठ्ठा क्षेत्रमा फैलिएको यो बुटवलको पहिलो ५ तारे होटल हो। साढे ३ अर्बको लगानीमा रुपन्देहीका व्यवसायीहरू चुन्नुप्रसाद पौडेल, नरिश्वर पौडेल, भूमिराज पौडेल, कमलकिशोर मालपानी, उमाशंकर मालपानी र नितेश मालपानीले होटल सञ्चालनमा ल्याएका हुन्।
होटलमा प्रेसिडेन्सियल सुइट्स, एक्ज्यिुक्युटिभ सुइट्स, बालकोनी, हिल, भ्यु फरेष्ट भ्यु, स्टाण्डर गरेर १०९ वटा अतिथी कक्ष रहेको सञ्चालक चुन्नुप्रसाद पौडेलले बताए। हरेक कोठामा पाहुनाको आरामको लागि हायात ग्रान्ड बेड, आरामदायी कोजी सोफा स्लीपर र काम गर्ने छुट्टै व्यवस्था रहेको उनले जानकारी दिए। यहाँको डिजाइनमा बोधी बृक्षको पातको आकृति जस्ता स्थानिय सांस्कृतिक तत्वहरु देख्न सकिने होटल व्यवस्थापनले जनाएको छ। होटलको दोस्रो तलामा जिङ रेस्टुरेन्ट रहेको छ। जहाँ १४७ जना पाहुनाहरु बसेर नेपाली तथा अन्तर्राष्ट्रिय परिकारको स्वाद लिन सक्ने छन्।
होटलको दोस्रो तलामा पौडी पोखरी छ। जुन १५३.०६ बर्गमिटर फराकीलो र ४.५ फिट गहिरो छ। यहाँकबाट रमणीय पहाडको दृष्य नियाल्न सकिन्छ। पहिलो तल्लामा आधुनिक उपकरणहरु सहित २४ सै घण्टा खुल्ला व्यामशाला रहेको छ। त्यही तलामा माटोको घरबाट प्रेरित डिजाइनमा बनेको स्पा पनि रहेको छ।
क्यासिनो केही समय पछि सञ्चालन गर्ने तयारी भइरहेको सञ्चालक पौडेलले बताए। होटलको लागि मुख्य बजार छिमेकी देश भारत हो। ‘भारत लगायत उत्तर प्रदेशको २४ करोड जनसंख्या मध्ये केही प्रतिसतलार्य मात्र हरेक वर्ष बुटवल भित्राउन सकियो र यहाँ बास बसाल्न सकियो भने यसले रुपन्देहीको अर्थतन्त्रलाई चलायमान बनाउँछ।’ सञ्चालक पौडेलले भने।
गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरु नियमित र पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारको ध्यान जानुपर्ने र विमानस्थल यहाँका होटलमा चहलपहल बढ्ने उनको भनाइ छ। नोभेम्बर २५ तारिखबाट होटलको सम्पूर्ण हायात रिजेन्सीको व्यवस्थापनमा सञ्चालन हुने छ। हायात प्यालेस ब्राण्ड संसारभर ४२० स्थान भन्दा बढि ठाउँमा फैलिएको छ।

