
भैरहवा – थाई एयर एसियाको उडानले भैरहवाबाट मलेसिया पनि जान आउन सहज बनेको छ। अहिले सातामा दुई पटक आइतबार र बुधबार बैंकक भैरहवा बैंकक उडान भइरहेको छ। यो उडानमा भैरहवाबाट बैंकक ट्रान्जिट भएर क्वालालाम्पुर पुग्न सकिने थाई एयर एसियाका कन्ट्री म्यानेजर सागर चित्रकारले बताए।
दिउसो सवा १ बजे एयर एसियाको जहाज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक प्रस्थान गर्दछ। बैंककमा १ घण्टा ४५ मिनेट जति ट्रान्जिट हुन्छ। त्यसपछि उडेको जहाज स्थानिय समय अनुसार राती १० बजेर ५० मिनेटमा क्वालालाम्पुर पुग्छ।
भैरहवाबाट क्वालालाम्पुरको लागि २४ हजार रुपैयामा पनि टिकट पाउन सकिन्छ। अरु टिकट त्यो भन्दा महंगो पनि छ।
मलेसियाबाट भैरहवा आउन पनि सहज र सस्तो छ। विहान ६ः३५ मा क्वालालाम्पुरबाट थाइ एयर एसियाको जहाज थाइल्याण्डका लागि प्रस्थान गर्छ। बैंकक आएपछि २ घण्टा ट्रान्जिट हुन्छ। बैंककबाट उडेका जहाज दिउसो सवा १२ बजे भैरहवा अवतरण हुन्छ। ट्रान्जिटको बेलामा भिसा लिइरहन नपर्ने थाइ एयर एसियाका कन्ट्री म्यानेज सागर चित्रकारले बताए। यो उडानले अब नारायणी पश्चिमका नेपाली श्रमिकहरुलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया जान सहज भएको छ। मलेसियाबाट भैरहवा विमानस्थल अवतरण गर्ने गरि नेपाल आउन पनि सकिन्छ।

