२०८२ फाल्गुन २३ गते, शनिबार १०:५५
  • अर्थमन्त्रीको स्विकारोक्ती : भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको लागि ध्यान पुर्याउन सकेनौ


    भैरहवा-अर्थमन्त्री रामेश्वर खनालले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न ध्यान पुर्याउन नसकेको स्विकार गरेका छन्। सिद्धार्थ उद्योग बाणिज्य संघले विहिवार भैरहवामा गरेको कार्यक्रममा नयाँ सरकार बनेको २ महिनामा त्यस तर्फ ध्यान जान नसकेको उल्लेख गरे। ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा लैजान ध्यान नपुगेको चाँही हो।’ उनल भने ‘पहिलो कुरा पर्यटन मन्त्री नियुक्त हुन पाएन। कोहि नियुक्त हुनुहोला भन्ने हिसाबले पनि हामीले ध्यान दिएनौं।’

    पछिल्लो केही समय भने नेपाल एयरलाइन्सको इजरायलमा रहेको इन्जिनमा ध्यान दिँदा भैरहवाको उडान तर्फ ध्यान दिन नसकेको खनालले उल्लेख गरे। ‘नेपाल बायुसेवा निगमले इजरायलमा इन्जीन बनाउन २ बर्ष अगाडि दिएको थियो। अहिलेसम्म नल्याएर पैसा मात्र खर्च भएको र जहाज ग्राउण्डेड हुने अवस्थामा पुगेको थियो। त्यो समस्यालाई हल गर्नुपर्यो।’ उनले भने ‘बाँकी अवधिमा यहाँको अन्तर्राष्ट्रिय उडानको लागि पहल गछौं।’

    कार्यक्रममा उद्योगी व्यवसायीहरुले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनको लागि पहल गर्न आग्रह गरेका थिए। अन्तर्राष्ट्रिय विमानस्थल बन्ने आशामा यहाँका होटलहरुमा ठूलो लगानी भएको र नियमित उडान नहुँदा लगानी डुब्ने अवस्थामा पुगेको बताएका थिए।