
लुम्बिनी-बुद्धजन्मस्थल क्षेत्रमा रहेको लुम्बिनी हेरिटेज होटलको व्यवस्थापन अन्तर्राष्ट्रिय चेन ब्राण्ड आइएचजी क्राउन प्लाजाले गर्ने भएको छ। यस अघिको पवन प्यालेस होटल अहिले लुम्बिनी हेरिजेड लिमिटेडले लिएको हो। होटलको नाम पनि परिवर्तन भएर लुम्बिनी हेरिटेज भएको छ।
लुम्बिनी हेरिटेज प्रस्तावित ५ तारे होटल हो। पवन प्यालेस राम्रोसँग सञ्चालन हुन सकेको थिएन। चल्न नसकेको व्यवसायलाई सफल बनाएर पर्यटन राम्रो सन्देश दिन खोजेको लुम्बिनी हेरिटेजका प्रबन्ध निर्देशक अनिलप्रसाद श्रेष्ठले बताए। ‘कुनै प्राजेक्ट असफल भएको छ भने त्यसलाई त्यसलाई सफल बनाइ प्रभावकारी सञ्चालन भएको सन्देश जाओस भनेर हामी अघि बढ्यौं।’ उनले भने ‘हामीले लिएपछि अन्तर्राष्ट्रिय चेन होटलसँग आबद्ध हुन खोज्यौं। त्यसको लागि सर्च गर्दा विभिन्न कम्पनीहरु आए। त्यसमध्ये हामीलाई इन्टर कन्टिनेन्ट होटल ग्रपको क्राउन प्लाजा रोज्यौं।’
इन्टर कन्टीनेन्टल होटल ग्रुप (आइएचजी)को मुख्य कार्यालय बेलायतमा छ। यसले संसारभरका आठ हजार बढी विश्वसनीय होटेल एण्ड रिसोर्टको व्यवस्थापन अपग्रेड कार्य सञ्चालन गर्दै आएको छ। आइएचजीको क्राउन प्लाजाले यस अघि काठमाडौंको ५ तारे सोल्टी होटलको पनि व्यवस्थापन हेरेको थियो। ५ वर्ष अघि यो ब्राण्ड सोल्टीबाट अलग भएको हो।
नेपालमा यस अघि स्थापित भइसकेको ब्राण्डलाई लुम्बिनी ल्याउँदा राम्रो सन्देश जाने अपेक्षा गरेको प्रबन्ध निर्देशक श्रेष्ठको भनाइ छ। ‘५ वर्ष अघि छोडेर गएको यही ब्राण्डलाई फेरि नेपालमा फर्काउन सकियो। राम्रो सन्देश जान्छ र पर्यटन क्षेत्रमा भाइब्स सिर्जना हुन्छ भनेर हामीले पहल गरेका हौं।’ उनले भने ‘विभिन्न चरणमा कुराकानी गरेपछि उहाँहरुले यहाँको भ्रमण गर्नुभयो। पूर्वाधारहरु अवलोकन गर्नुभयो। डेड महिना अघि हामी भारतको दिल्लमा गएर क्राउन प्लाजासँग व्यवस्थापनको सम्झौता गरेर आयौं ।’
नयाँ दिल्लीमा लुम्बिनी हेरिटेजका अध्यक्ष सुभाष अमात्य र आइएचजीका दक्षिण पश्चिम एसिया क्षेत्रका प्रबन्ध निर्देशक सुदिप जैनले यस सम्बन्धी दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। क्राउन प्लाजाले लुम्बिनी हेरिटेजलाई १ वर्ष भित्र पूर्वाधार तयार गरेर दिन भनेको छ। पूर्वाधार तयार गरि आठ नौ महिनामा क्राउन प्लाजालाई व्यवस्थापन हस्तान्तरण गर्ने प्रबन्ध निर्देशक श्रेष्ठले जानकारी दिए।
लुम्बिनी हेरिटेजका अध्यक्ष सुभाष अमात्यले आइएचजीसँगको साझेदारीमा लुम्बिनीमा क्राउन प्लाजा लुम्बिनी होटेल सञ्चालनमा ल्याउँदा गौरवको अनुभूति भएको बताए। होटेलमा २ अर्ब ५० करोड लगानी भएको छ। साढे २ विघा क्षेत्रफलमा यो होटल फैलिएको छ। पूर्वाधारहरु तयार भइ पूर्ण क्षमतामा सञ्चालनमा आउँदा होटलमा १५० वटा कोठा हुने छन्।
अहिले होटलमा सय वटा कोठा मार्फत पाहुनालाई सेवा प्रदान गरिएको होटलका चिफ अपरेसन म्यानेजर विजेन्द्र भक्त बजुले जानकारी दिए। ७० वटा डिलक्स रुम, १२ वटा विजनेश स्वीट, बाँकी स्वीट रुमहरु रहेको उनले जानकारी दिए । ‘५ सय जना क्षमताको सभाहल रहेको छ। अर्को ८० जना क्षमताको हल छ। स्वमीङ्ग पुल, फिटनेस सेन्टर लगायतका आधुनिक सुविधा छ । छिट्टै क्यासिनो पनि सञ्चालनमा ल्याउने योजनामा रहेको छ।’ बजुले भने । होटलमा धेरै जसो बुद्धिष्ट देशका पाहुनाहरुलाई लक्षित गरिएको उनले बताए । त्यस्तै नेपाली, भारतीय सँगै युरोपियन र अरु मुलुकका पाहुनाहरुलाई पनि आउने अपेक्षा गरिएको लुम्बिनी हेरिटेजका प्रमुख सञ्चालन अधिकृत बजुले जानकारी दिए ।
लुम्बिनी हेरिटेज होटल अहिले लुम्बिनी क्षेत्रको ठूलो होटल हो। विरगञ्जका सुभास अमात्य अध्यक्ष रहेको लुम्बिनी हेरिटेजमा रुपन्देहीका अनिल प्रसाद श्रेष्ठ प्रबन्ध निर्देशक, काठमाडौंका यज्ञ सुवेदी र सैला श्रेष्ठ रहेका छन्। लुम्बिनी हेरिटेज लिमिटेडले चितवनको सौराहमा होटल सञ्चालनको लागि जग्गा लिइसकेको छ। त्यस्तै पोखरा र काठमाडौंमा पनि व्यवसाय विस्तारको योजना बनाइरहेको प्रबन्ध निर्देशक श्रेष्ठले बताए।

