
लुम्बिनी-लुम्बिनीको ‘विश्व शान्ति कार्यक्रम’ सुरु भएको छ । द प्रमिस्ड ल्याण्ड फाउण्डेशनको मुख्य आयोजनामा भएको कार्यक्रममा विभिन्न विषयका विज्ञ, व्यवसायीहरु तथा अन्तर्राष्ट्रिय पाहुनाहरुको सहभागीता छ। कार्यक्रममा विश्वका नगरपालिका धेरै छन् तर बुद्ध जन्मस्थल एक मात्रै रहेको भन्दै विश्व शान्ति समृद्धिका लागि यस्ता कार्यक्रम महत्ववपूर्ण रहेको बताइन्।
पहिलो दिनको कार्यक्रममा इथियोपियाका पूर्वप्रधानमन्त्री ताम्रत लेनसँग सुधांसु दाहालले आध्यात्मिक रूपान्तरण, नेतृत्व, विश्व शान्तिबारेका सिकाइ तथा समुदाय सशक्तीकरणसम्बन्धी संवाद गरे। विभिन्न देशबाट आएका सबैकोे चाहना नै शान्ति भएको ताम्रतले बताए। जीवन विज्ञान प्रतिष्ठानका एलपी भानु शर्माले नेपालमा १० हजार वर्ष पुरानो आध्यात्मिक इतिहास रहेको चर्चा गर्दै मेडिटेसनसम्बन्धी प्रस्तुति दिएका थिए। महानायक राजेश हमालले बेलाबेलामा समाजमा द्वन्द भइरहने भन्दै शान्तिको लागि सबैले काम गर्नुपर्ने बताए । ट्रेजर कार्बन ग्रुपकी सीईओ सुसन झुले ’किनोट स्पिच’ दिएकी थिइन्।
द प्रमिष्ट ल्याण्ड फाउण्डेसनका अध्यक्ष निकेश अधिकारीले लुम्बिनी स्थानियको आर्थिक उन्नती र बैदेशिक लगानी जोड्ने सेतुको रुपमा यो कार्यक्रम आयोजना गरेको जानकारी दिए। कार्यक्रममा सागर भन्तेले लुम्बिनीभित्र दुईवटा लुम्बिनी रहेको भन्दै विकास कोषभन्दा बाहिरका बासिन्दाको उन्नतिका लागि अब काम गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा नेपाल तथा विदेशका नेता, विद्वान्, संयुक्त राष्ट्र संघका सांस्कृतिक राजदूतहरू, अन्तर्राष्ट्रिय व्यापारमा नाम कमाएका व्यवसायी, कलाकार, युवा र सामुदायिक प्रतिनिधिहरूको सहभागिता छ। तीन दिनसम्म चल्ने कार्यक्रममा शान्ति, जलवायु परिवर्तन, विकास, आन्तरिक कल्याण र सामाजिक न्याय लगायतका विषयमा बहस हुनेछ ।

