२०८२ फाल्गुन २३ गते, शनिबार १०:५४
  • बैंकक प्रस्थान गर्ने यात्रु धेरै हुँदा भैरहवा आउने किन कम ?


    भैरहवा– भैरहवाको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा थाई एयर एसियाले पुनः उडान थालेको २ महिना पुग्न लागेको छ। गत कात्तिक ९ गतेबाट सातामा २ दिन आइतबार र बुधबार बैंकक भैरहवा बैंकक उडान भइरहेको छ। थाइ एयर एसियाका प्राय उडानमा भैरहवाबाट प्रस्थान गर्ने यात्रुको संख्या राम्रै छ। तर बैंककबाट आउने यात्रुहरु भने निकै कम छन्।

    पुस ६ गते आइतबार १३६ जना भैरहवाबाट बैंकक प्रस्थान गरेका छन्। तर बैंककबाट आएका ४५ जना मात्र अवतरण गरेको गौतम बुद्ध अन्तर्राष्टिैय विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतले जानकारी दिए। यसअघि गत बुधबार भैरहवाबाट ११० जना बैंकक प्रस्थान गरे। तर बैंककबाट आएका २३ जना मात्र भैरहवामा अवतरण गरेका थिए। भैरहवाबाट प्रस्थान गर्नेमा धेरै जापान र कोरिया जाने नेपालीहरु छन्। उनीहरु थाई एयर एसियाको जहाज मार्फत बैंकक हुँदै ति देशमा जाने गरेका छन्।

    त्यस्तै लुम्बिनी आएका थाइल्याण्डका बुद्धिष्ट पर्यटक फर्किनको लागि मात्र भैरहवा विमानस्थल प्रयोग गर्दा आउने यात्रुको संख्या कम देखिएको थाइ एयर एसियाका कन्ट्री म्यानेजर सागर चित्रकारले बताए। ‘थाइ पर्यटकहरु भारतको बोधगया गएर, त्यहाँबाट लुम्बिनी आएर भैरहवाबाट उडानबाट फर्किरहेका छन्।’ उनले भने ‘त्यसले गर्दा भैरहवाबाट प्रस्थान गर्नेहरु केही बढि छन्। उताबाट आउने बढ्न सकेको छैन।’

    उडानको निरन्तरताको लागि आउने र जाने दुइतर्फी लोड राम्रो हुनुपर्ने एयर एसियाका कन्ट्रि म्यानेजर चित्रकारले बताए। त्यसको लागि लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीको भूमिका पनि महत्वपूर्ण हुने उनको भनाइ छ।