२०८२ फाल्गुन २३ गते, शनिबार ०८:५३
  • ‘वाइल्ड लाइफ’मा रुचि राख्ने पयर्टकको लागि टेम्पल टाइगर रिसोर्ट

    प्रकृति र सस्कृतिसँग रमाउन सकिने उत्कृष्ठ विश्रामस्थल


    नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज घुम्नको लागि टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट आकर्षक र उत्कृष्ठ विश्रामस्थलको रुपमा रहेको छ। वरपर हरियाली, चराचुरुङीको चिरविर ध्वनी सहित प्राकृतिक आनन्द लिन सकिने यो रिसोर्ट नवलपरासी पूर्वको अमलटारीमा पर्दछ। पूर्वपश्चिम राजमार्गको डण्डा बजारदेखी ८ किलोमिटर दुरीमा निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको टेम्पल टाइगर रिसोर्ट पुग्न सकिन्छ।

    शान्त वातावरण सहितको यो रिसोर्टमा २० वटा भिल्लाहरु रहेका छन्। भिल्लाको कोठा बालकोनी सहित डिलक्स सुविधाको छ। भिल्लाका बाहिरको स्वरुप परम्परागत थारु संस्कृति झल्किने खालका छन््। माटोले लिपेको जस्तो देखिने खरको छानो समेत भएको भिल्लाका कोठामा प्रयोग गरिने सामानहरु पनि थारु संस्कृतीसँग सम्बन्धीत रहेका छन्। भिल्ला अगाडी खुल्ला ठाउँ रहेको छ। रिसोर्टको डाइनिङ हल पनि मौलिक सैलीको देखिन्छ। गोलाकार आकारको खरको छाना भएको डाइनिङ कक्षको बाहिर थारु समुदायले प्रयोग गर्ने सामानहरु सजाइएको छ।

    रिसोर्टमा विशेष गरि वाइल्ड लाइफमा रुची राख्ने विदेशी पर्यटकहरु आउने टेम्पल टाइगर ग्रुपका प्रमुख सञ्चालन अधिकृत चिनकाजी लामाले बताए। ‘हाम्रो मुख्य पाहुना विदेशीहरु नै हुन्। धेरैजसो अमेरिकन, युरोपियनहरु आउने गर्नुभएको छ। विदेशमा बसिरहनुभएका नेपालीहरु पनि निकुञ्ज घुम्न हाम्रो रिसोर्टमा आउनुहुन्छ।’ उनले भने ‘केही वर्ष यता देश भित्रका नेपालीहरुले पनि बन्यजन्तु पर्यटनमा रुचि राख्न थाल्नुभएको छ। उहाँहरुलाई पनि लक्षित गरेर हामीले प्याकेज बनाइरहेका छौं।’
    रिसोर्टका पाहुनाहरुलाई राष्ट्रिय निकुञ्जमा जंगल सफारी गराइने प्रमुख सञ्चालन अधिकृत लामाले जानकारी दिए।

    पाहुनाहरुलाई जंगल सफारी सहितका विभिन्न प्याकेज राखिएको रिसोर्ट म्यानेजर सुजन पाठकले जानकारी दिए। ‘एक रात दुई दिने दिने प्याकेजमा लञ्च डिनर सहित हात्ती व्रिफिङ फुडिङ, जंगल सफारी लगायत रहेको छ।’ उनले भने ‘दुई रात तिन दिने प्याकेजमा त्यस बाहेक थप कुराहरु बोटिङ, थारु सांस्कृतिक नाच, चरा अवलोकन, भिलेज टुर, क्यानोइलगायत प्याकेजमा समेटेका छौं।’ रिसोर्टमा रहँदा जंगलको विचमा बसेको आनन्द मिल्ने पाठकले उल्लेख गरे।

    चितवन राष्ट्रिय निकुञ्ज घुम्न आएकी २०१८ कि मिस नेपाल अर्थ प्रिया सिग्देल पनि टेम्पल टाइगरमा बसेकी थिइन्। ‘अहिले तेस्रो पटक टेम्पल टाइगर आएको छु। मलाई एकदम रमाइलो अनुभव भएको छ। यहाँको हरियाली वातारण देखी लिएर थारु कल्चर डान्स हेर्ने मौका पाउँदा निकै खुशि पनि लाग्यो।’ उनले भनिन् ‘नेपालको पर्यटन प्रवद्र्धनमा टेम्पल टाइगरको ठूलो योगदान छ जस्तो लाग्छ।’

    टेम्पल टाइगरमा आएका पाहुनालाई खुवाउने खाना पनि स्थानिय स्तरमै उत्पादिन हुन्। रिसोर्ट परिसर र आफ्नै जग्गामा तरकारी तथा खाद्यान्न उत्पादन हुने गर्दछ। रिसोर्टमा काम गर्ने ९८ प्रतिसत कर्मचारी स्थानिय नै रहेका छन्। रिसोर्टमा आउने पाहुनाले प्राकृतिक आनन्दसँगै सांस्कृतिक अनुभव पनि लिन सक्ने छन्।

    यस्तो छ टेम्पल टाइगर रिसोर्टको ३६ वर्षे यात्रा

    सन १९८९ सालमा चितवन राष्ट्रिय निकुञ्ज भित्र अहिलेको टेम्पल टाइगर रिसोर्टको स्थापना भएको हो। सन् २०१२ सम्म २३ वर्ष टेम्पल टाइगरले निकुञ्ज भित्र नै पाहुनाहरुको सेवा गरेको थियो। सरकारले निकुञ्ज भित्र रहेका टेम्पल टाइगर सहित पाँच वटा होटलको नविकरण नगरेपछि सेवा बन्द भयो। निकुञ्ज बाहिरको मध्यवर्ती क्षेत्र अमलटारीमा टेम्पल टाइगरले सेवा सुरु गर्यो ।

    निकुञ्ज भित्र टेम्पल टाइगर लज भनिन्थ्यो। निकुञ्ज बाहिर अमलटारीमा सरेपछि टेम्पल टाइगर रिसोर्टको नाममा चिनिन थाल्यो। पर्यटनकर्मी बसन्तराज मिश्रले टेम्पल टाइगर रिसोर्टको स्थापना गरेका हुन्। बन्यजन्तु पर्यटनको क्षेत्रमा ठूलो योगदान गरेका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित मिश्रको एक वर्ष अघि निधन भएको थियो।

    निकुञ्ज भित्र रहँदा टेम्पल टाइगरमा बन्यजन्तु पर्यटनमा रुचि राख्ने खर्चालु र गुणस्तरिय विदेशी पर्यटकहरु आउथे। विजुली बत्ती नभएको त्यहाँ लाल्टीनको उज्यालो र बन्य जन्तुको आवाजमा पर्यटकहरु रमाउथे। वन्यजन्तु पर्यटनमा टेम्पल टाइगर अन्तर्राष्टिय रुपमा पनि परिचित थियो। साथै टेम्पल टाइगरले चितवन राष्ट्रिय निकुञ्जलाई पनि विश्वस्तरमा चिनाएको थियो। चितवन निकुञ्जमा दुर्लभ एकसिंगे गैडा लगायत जिवजन्तु हेर्न पर्यटकहरु आउने गर्दछन्।

    सन् २००० आसपासको बेला नेपालमा बन्यजन्तु पर्यटनको निकै क्रेज थियो। त्यसबेला चितवन राष्ट्रिय निकुञ्जलाई नेपालको अफ्रिका भनिन्थ्यो। विश्वमा वाइल्डलाइफ टुरिजम अर्थात बन्यजन्तु पर्यटनको मुख्य गन्तव्य अफ्रिकालाई मानिन्छ। अफ्रिकापछि बन्यजन्तुमा रुची राख्ने पर्यटकहरुको रोजाइ चितवन निकुञ्ज नै हुने गरेको थियो। राष्ट्रिय निकुञ्ज भित्रका रिसोर्टहरु बन्द भइ बाहिर सरेपछि बन्यजन्तुमा रुचि राख्ने खर्चालु र गुणस्तरिय विदेशी पर्यटकहरु केही घटेका छन्।

    रिसोर्ट निकुञ्ज बाहिर भएपनि आएका विदेशी पाहुनाहरुलाई जंगल र बन्यजन्तुसँग रमाउने भरपुर वातावरण प्रदान गर्ने प्रयास गरेको टेम्पल टाइगरका प्रमुख सञ्चालन अधिकृत चिनकाजी लामा बताउँछन्। ‘हाम्रो विशेषता भनेको वाइल्ड लाइफ पर्यटनको सेवा हो। हामी निकुञ्ज बाहिर सरेपछि मेघौली, सौराह तिर नगएर यता आयौं। पर्यटक सेवाको लामो अनुभवले जंगल सफारीको लागि निकुञ्जको यही पश्चिम क्षेत्र उपयुक्त हुने देख्यौं।’ उनले भने ‘यहाँबाट ३० मिनेटको ड्राइभमा हामी पुरानो लज भएको स्थानमा पुग्न सक्छौं। पूर्व तिर भन्दा पश्चिम भेगमा अलि बाक्लो जंगल छ। नारायणी नदि र चिसो ठाउँ भएकाले जंगली जनावरहरुको चहलपहल हुने र बन्यजन्तु अवलोकनको लागि उपयुक्त भएकाले हामी यो ठाउँमा सरेका हौं।’

    बन्यजन्तु पर्यटनमा योगदान गरेकाले टेम्पल टाइगरले अन्तर्राष्ट्रिय संघ संस्थाबाट विभिन्न अवार्डहरु पनि पाएको छ। पर्यटन सम्बन्धी अन्तर्राष्ट्रिय संस्था पाटाले ग्रिनको उपाधि दिएको छ। जसले गर्दा टेम्पल टाइगरलाई ग्रिन जंगल रिसोर्ट भनिएको हो।
    अमलटारीमा २०१२ मा टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट स्थापना हुँदा यस क्षेत्रमा यस क्षेत्रमा फाट्ट फुट्ट होटलहरु थिए। टेम्पलटाइगर सहित निकुञ्ज बाहिर सरेका टाइगर टप्स, मचान वाइल्ड लाइभ लगायत थिए। अहिले होमस्टे देखी अरु दर्जनौंको संख्यामा होटल लजहरु स्थापना भएका छन्।

    पर्यटनको सेवाका साथै टेम्पल टाइगरले सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको छ। ‘राष्ट्रिय निकुञ्जसँग मिलेर समय समयमा सरसफाइ कार्यक्रम पनि गर्छौं। राष्ट्रिय निकुञ्जलाई आवश्यक पर्दा रिसोर्टका गाडी र हात्ती पनि उपलब्ध गराउने गरेका छौं। पाहुनाहरुको सेवाका साथै यस क्षेत्रको आर्थिक तथा पर्यटकीय विकासमा पनि हामीले योगदान गरिरहेका छौं।’टेम्पल टाइगरका प्रमुख सञ्चालन अधिकृत लामाले भने।