२०८२ फाल्गुन २३ गते, शनिबार ०८:५२
  • बुटवलमा सडक खाना महोत्सव सुरु

    बुटवल– बुटवलमा सडक खाना महोत्सव सुरु भएको छ। अंग्रेजी नयाँ वर्ष २०१६ को अवसरमा बुटवलको कालिकापथ सडक अन्तर्गत बसपार्कदेखी तिनकुनेसम्मको क्षेत्रमा खाना महोत्सव सञ्चालन भएको हो।

    खाना महोत्सवको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले यो कार्यक्रमले कालिकानगरमा रात्रिकालिन बजार स्थापनामा बल पुग्ने बताए। महोत्सवले बुटवलको प्रर्वद्धनमा सघाउ पुग्ने भन्दै उनले बजार चलायमान गराउन सघाउ पुग्ने उल्लेख गरे। कार्यक्रममा उपमेयर सावित्रादेवी अर्याल, पर्यटन विकास परिषद लुम्बिनीका कार्यकारी निर्देशक रामु जोशी, होटल व्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपाल लगायतले महोत्सवको शुभकामना व्यक्त गरे।

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधव खनालले खाना महोत्सवले यस क्षेत्रको पर्यटन प्रवद्र्धन र विकास मात्र नभई नेपाली कला संस्कृति एवं खानपानका परिकारहरूको प्रचार प्रसार र बजारीकरण हुने बताए । सडक खाना महोत्सवमा विभिन्न प्रकृतिका ५५ वटा स्टलहरू रहेका छन्। सडकको विचमा स्टल राखिएको छ। जसले गर्दा दायाँ बायाँ खुल्ला भएको छ।

    मेलाको सुरक्षाका लागि सिसिटिभी एवं सेक्युरिटी कम्पनीबाट सुरक्षा व्यवस्थापन मिलाइएको आयोजकले जनाएको छ । साँझ ६ बजे देखि राती ११ बजेसम्म महोत्सव सञ्चालन हुने छ। महोत्सव अवधिभर २ लाख दर्शकले अवलोकन गर्नुका साथै डेढ करोडको कारोबार हुने अपेक्षा आयोजकको छ।