२०८२ फाल्गुन २३ गते, शनिबार १०:५५
  • ‘बुटवलको पर्यटकीय विकास र प्रवर्द्धनका लागि एकिकृत नीति र योजना आवश्यक’

    बुटवल – बुटवलको पर्यटकीय विकास र प्रवद्र्धनको लागि एकिकृत योजना आवश्यक भएको सरोकारवालाहरुले बताएका छन्। बुटवल सडक खाना महोत्सवको अवसरमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले बुधबार पर्यटन गोष्ठीको आयोजना गरेको थियो। गोष्ठीमा सहभागीहरुले पर्यटन क्षेत्रको लागि एकिकृत संस्था, एकिकृत योजना र नीति बनाउनुपर्ने धारणा राखे।

    कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दैै पर्यटन अध्ययता दलबहादुर गुरुङले ठोस तथा निर्दिष्ट पर्यटन योजना तयार गरि कार्यान्वयनमा जोड दिनुपर्ने उल्लेख गरे। त्यससको लागि पर्यटनसँग व्यवसायी र सरोकारवालाहरुको साझा सस्था बन्नुपर्ने उनले उल्लेख गरे। पर्यटन प्रवद्र्धनका लागि बार्षिक कार्यक्रम, बनाउनुपर्ने, बुटवललाई विश्रामस्थलको रुपमा अघि बढाउनुपर्ने, पर्यटन सूचना केन्द्रको स्थापना, नाट्टा, यातायात र होटल व्यवसायीको सहयोगमा टुर प्याकेज बनाउनुपर्ने कार्यपत्रमा उल्लेख छ।

    कार्यपत्र माथि टिप्पणी गर्दै मणिमुकु्न्द उद्यान संरक्षण समितीका महासचिव युवराज घिमिरेले अध्ययन अनुसन्धान गरेर ठोस पर्यटकीय योजना बनाउन आवश्यक भएको बताए।

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधवकुमार खनालले बुटवलका होटल व्यवसायीले आथित्यतामा कुनै कमी नगरेको बताए। उनले सबै सरोकारवालाहरुलाई समेटेर बुटवलको पर्यटन सम्बन्धी साझा संस्था बनाउन संघ अघि बढ्ने जानकारी दिए।
    कार्यक्रममा होटल व्यवसायी महासंघका संस्थापक अध्यक्ष तथा मणिमुकुन्द सेन उद्यान समितिका अध्यक्ष माधव नेपालले सामान्य होटल व्यवसायीबाट अघि बढेर पर्यटन व्यवसायी हुन आग्रह गरे। पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन भएमा त्यसबाट सबै क्षेत्रले फाइदा पाउने उल्लेख गरे।

    नेपाल उद्यान महासंघका अध्यक्ष खेम लुइँटेलले पर्यटनसँग सम्बन्धीत सरोकारवालाहरुले साझा दृष्टीकोण बनाएर अघि बढ्न्ुपर्ने बताए। नाट्टा लुम्बिनीका बरिष्ठ उपाध्यक्ष कुलचन्द्र पाण्डेले बुटवलको पर्यटन विकासको लागि सहकार्य गर्न तयार रहेको जानकारी दिए। संघका पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डेले पर्यटन विकास र बहसमा बुटवलका अन्य संघ संस्थाहरुले चासो नदिएको बताए।

    पर्यटन संरक्षण समाजकी गंगा पोखरेलले पर्यटनकर्मीहरुले पर्यावरण र सरसफाइमा ध्यान दिनुपर्ने धारणा राखीन्। पत्रकार कृष्ण मल्लले जितगढी किल्लालाई ध्यान दिएर पर्यटकीय विकास गर्न सुझाब दिए। अर्का पत्रकार टिआर शर्माले पर्यटन क्षेत्रमा सरकारी चासो कम देखिएको उल्लेख गरे। संघका महासचिव केशवराज कंडेलको सञ्चालनमा भएको कार्यक्रममा सहभागीहरुले बुटवलको पर्यटन विकासमा सरकार र नीजि क्षेत्रले ध्यान दिनुपर्ने धारणा राखे।