२०८२ फाल्गुन २३ गते, शनिबार १०:५४
  • २०२५ मा ११ लाख १४ हजारले घुमे लुम्बिनी

    नेपाली र भारतीय घटे, विदेशी पर्यटक बढे

    लुम्बिनी – सन् २०२५ मा स्वदेशी र विदेशी पर्यटक गरेर कुल ११ लाख १४ हजार २६६ जनाले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। यो अघिल्लो वर्ष सोही अवधिको तुलनामा यो ५ प्रतिसत अर्थात ५८ हजार कम हो।

    सन् २०२४ मा ११ लाख ७२ हजार २८२ जनाले लुम्बिनी घुमेका थिए। कोभिड अघिको वर्ष सन् २०१९ मा कुल १५ लाख ५८ हजार ३२६ जना लुम्बिनी आएका थिए। ६ वर्ष अघिको तुलनामा अहिले झण्डै साढे ४ लाख पर्यटक कम आएका हुन्।

    अघिल्लो वर्षको तुलनामा २०२५ मा लुम्बिनी घुम्ने आन्तरिक पर्यटकको संख्या पनि घटेको छ। यो वर्ष ७ लाख २ हजार ९१० जना नेपालीहरुले भ्रमण गरेका छन्। सन २०२४ मा ७ लाख ५९ हजार ९९० जना आन्तरिक पर्यटक आएका थिए। यसरी हेर्दा साढे ७ प्रतिसतले नेपाली पर्यटक घटेका छन्। कोभिड अघि सन् २०१९ मा ११ लाख ७८ हजार १४० जना नेपाल भित्रबाट लुम्बिनी आएका थिए। जुन अहिलेको स्वदेशी र विदेशी कुल पर्यटकको संख्या भन्दा पनि बढि हो।

    गत वर्ष २ लाख ७० हजार ३८७ जना भारतीय पर्यटक लुम्बिनी आएका छन्। अघिल्लो वर्षको तुलनामा छिमेकी मुलुकका पर्यटक १०.१४ प्रतिसतले घटेका छन्। सन २०२४ मा ३ लाख ८८९ जना भारतीय लुम्बिनी आएका थिए। तर कोभिड अघिको तुलनामा केही बढि हो। सन् २०१९ मा २ लाख ६ हजार १७१ भारतीय लुम्बिनी आएका थिए।

    तेस्रो मुलुकको पर्यटक भने अघिल्लो वर्ष भन्दा २६.५४ प्रतिसतले बढेका छन्। सन २०२५ मा १ लाख ४० हजार ९६९ विदेशी पर्यटक लुम्बिनी आएका छन्। सन् २०२४ मा १ लाख ११ हजार ४०३ राहदानी वाहक पर्यटक लुम्बिनी आएका थिए। कोभिड अघि सन् २०१९ मा १ लाख ७४ हजार १५ विदेशी पर्यटक लुम्बिनी आएका थिए। जुन गत वर्ष भन्दा ३३ हजारले बढि हो। लुम्बिनीको पर्यटक आगमन अझै कोभिड अघिको लयमा फर्किन सकेको छैन।