२०८२ फाल्गुन २३ गते, शनिबार ०८:५२
  • दाङको चखौरामा प्रदेश स्तरिय संग्रहालय व्यवस्थापन तालिम सुरु

    तुल्सीपुर– दाङको चखौरामा लुम्बिनी प्रदेश स्तरिय संग्रहालय व्यवस्थापन तालिम सुरु भएको छ। इन्टरनेश्नल काउन्सिल अफ म्युजियम (आइकम)को समन्वय तथा लुम्बिनी सरकार अन्तर्गतको पर्यटन विकास परिषदको आयोजनामा सुरु भएको तालिम मंगलबारसम्म सञ्चालन हुने छ।

    तालिमको उद्घाटन गर्दै प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले लुम्बिनी प्रदेशमा प्रचुर मात्रामा पर्यटकीय सम्भावना रहेको भन्दै संग्राहलयकाहरुका कारण सम्पदाको पहिचानमा थप सघाउ पुग्ने बताए। उनले संग्रालय सम्बन्धी कानूनको अभाव रहेको भन्दै प्रदेश सरकारले कानून बनाउने प्रक्रियामा अघि बढ्ने जानकारी दिए। संग्रालयमा देखिएका समस्याहरु मन्त्रालयले सम्बोधन गर्ने मन्त्री न्यौपानेको भनाइ छ।

    पर्यटन विकास परिषदका कार्यकारी निर्देशक रामु जोशीले सम्पदाको संरक्षण, जगेर्ना र अभिलेखिकरणमा संग्रालयको भूमिका महत्वपूर्ण हुने बताए। उनले प्रदेशमा भएका संग्रालयहरुको थप प्रवद्र्धन र व्यवस्थीत गर्न तालिम आयोजना गरिएको जानकारी दिए।

    तालिममा प्रदेशका विभिन्न जिल्लाबाट २५ जनाको सहभागीता रहेको पर्यटन विकास परिषदका अधिकृत जनक खनालले जानकारी दिए। संग्रालयको प्रदर्शनी व्यवस्थापन र आधुनिक प्रविधिसँग कसरी जोड्न सकिन्छ भन्ने बारेमा प्रशिक्षार्थीहरुलाई सहजिकरण गरिने उनले बताए।

    तालिममा पाटन संग्रालयका कार्याकारी निर्देशक रमेशराज पौडेल, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक गुणकर गैरे, इन्टरनेश्नल काउन्सिल अफ म्युजियम आइकम नेपालका प्रकास घिमिरेले सहजिकरण गर्नेछन्।