२०८२ फाल्गुन २३ गते, शनिबार ०८:५१
  • भैरहवामा चैतपछि थाइ एयर एसियाको उडान रोकिन लागेको हो ?


    भैरहवा गत कात्तिकदेखी थाइ एयर एशियाले भैरहवामा अन्तराष्ट्रिय उडान गरिरहेका छ। जस अनुसार प्रत्येक आइतबार र बुधबार सातामा दुई दिन बैंकक भैरहवा बैंकक उडान भइरहेको छ। गत असारमै अनुमती लिएर एयर एसियाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान थालेको थियो। विन्टर सेड्युल अन्तर्गत मार्चको अन्तिमसम्म उडान गर्ने गरि एयर एसियाले अनुमती लिएको छ। समर सेड्युल अर्थात अप्रिलपछि उडान गर्नको लागि अझैसम्म अनुमती लिएको छैन।

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आयोजनामा बुधबार भैरहवाको अन्तर्राष्ट्रिय उडान बारे अन्तरक्रिया भएको थियो। अन्तरक्रियामा थाइ एयर एसियाकाले समर सेडयुल अर्थात चैत्रपछि उडान गर्न नसकिने बताएका थिए। एयर एशियाका भैरहवा स्टेसन प्रमुख सुनिल शाक्यले अप्रिलबाट उडान नहुने जानकारी दिए। ‘यो स्टेसन भारतको गयासँग लिंक भएको भएर विन्टर सेड्युल मात्र चल्छ। अक्टोवरदेखी मार्चसम्म मात्र चल्छ। अप्रिलबाट उडान हुँदैन।’ उनले भने ‘यो विन्टर सिजन भनेको बुद्धिष्ट सर्किटको लागि पर्यटकको लागि पिक सिजन हो। मार्चपछि जहाजले लोड पाउँदैन।’

    थाइल्याण्ड लगायतका बुद्ध सर्किटका पर्यटकहरु भारतको बोधगया पुगि लुम्बिनी आएर भैरहवाबाट फर्किने फर्किने मात्र गरेका छन् । बुद्धिष्ट पर्यटक बाहेक जापान र कोरियाका जाने विद्यार्थी तथा कामदारका कारणले बैंकक प्रस्थान गर्ने यात्रुहरु राम्रो छ। जसले गर्दा भैरहवाबाट बैंकक उडानका यात्रु राम्रो भएपनि बैंककबाट भैरहवा आउनेहरु निकै कम भएको एयर एशियाका स्टेसन प्रमुख शाक्यको भनाइ छ।

    थाइ एयर एसियाका अनुसार भैरहवा बैंकक उडानको लागि जनवरीमा ६० प्रतिसत टिकट बुक भएको छ। फेबुररीको ५० प्रतिसत र मार्चमा ४५ प्रतिसत टिकट बुक भएको छ। बैंककबाट भैरहवा आउनको लागि जनवरीमा १६ प्रतिसत, फेबुररीको १५ प्रतिसत र मार्चको ५ प्रतिसत मात्र टिकट बुक भएको छ। भैरहवाको अन्तर्राष्ट्रिय उडानको प्रवद्र्धनको लागि आफूहरुले सक्दो प्रयास गरेको थाइ एयर एसियाका स्टेसन प्रमुख सुनिल शाक्य बताउँछन्।

    अन्तरक्रियामा सहभागीहरुले उडानको निरन्तरताका लागि पहल गर्नुपर्ने धारणा राखेका थिए। उनीहरुले निजी क्षेत्र, पर्यटन व्यवसायी र सरोकारवालाहरुको साझा संयन्त्र बनाएर अघि बढ्नुपर्ने धारणा राखेका थिए।