
लुम्बिनी-लुम्बिनीमा तेस्रो चरा महोत्सव अर्थात बर्ड फेयर सुरु भएको छ। पोखरा पंछी समाजको आयोजनामा भएको महोत्सवमा नेपाल सहित विभिन्न देशका चराविद, संरक्षणकर्मी, अनुसन्धानकर्ताहरुको सहभागीता छ। बर्ड फेयरमा नेपाल समेत ताइवान, फिलिपिन्स, स्पेन, भारत लगायतका देशबाट संरक्षणी सहभागी रहेको आयोजकले बताएका छन्।
नेपालमा पाइने ९ सय ३ प्रजातीका चरा मध्ये १९ वटा संकटग्रस्त रहेको कार्यक्रममा बताइएको थियो। चरा बिज्ञ डा. हेम सागर बरालले बर्ड फेयरमा पहिलो पटक चरा संरक्षण गर्ने उद्देश्यले संरक्षणकर्मीको भेला भएको बताए। उनका अनुसार १९ प्रजाती संकटग्रस्त, ७ प्रतिशत संकट निकट र २ प्रतिशतका बारेमा जानकारी हुन सकेको छैन। चराको बासस्थानको ग्यारेन्टी गरी संरक्षण गर्न जरुरी रहेको बरालको भनाइ छ।
लुम्बिनी बौद्व विश्व विद्यालय केन्द्रीय क्याम्पस प्रमुख दयानिधि गौतमले बुद्ध र चराका बारेमा प्रस्तुति दिएका थिए। बर्ड फेयरको उद्घाटन गर्दै एसियन बर्ड फेयर काउन्सिलका कार्यकारी भिक्टर वाइ युले चरा संरक्षणमा विश्वभरी यससँग सरोकार राख्ने एकजुट हुनुपर्नेमा जोड दिए। दुई दिन संचालन हुने बर्ड फेयरअन्तर्गत दुई स्थानमा कार्यक्रम गरिएको छ। विज्ञ, विशेषज्ञ, अनुसन्धानकर्मी, चराविद् र विद्यार्थीका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय सभा हलमा विभिन्न सात विषयमा एकेडेमिक सेसन, बर्ड सिम्पोजियम, छलफल र गोष्ठी भइरहेको छ। स्थानीय, विद्यार्थी र पर्यापर्यटनमा रुचि राख्नेलाई लुम्बिनीभित्र थाई भिजिटर सेन्टर र बेबी बुद्धनिर चराका विभिन्न स्टल राखिएको छ। त्यस्तै चरा फोटो प्रदर्शनी र बर्ड रेस (चरा चिन्ने) प्रतियोगिता पनि गरिनेछ।
स्थानीय समुदाय, विद्यार्थी, गाइड, अनुसन्धानकर्ता र संरक्षणसँग सम्बन्धित संघसंस्थाबीच ज्ञान आदानप्रदान, सहकार्य र नेटवर्किङ गरेर चरा पर्यटनसँगै पर्यापर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले बर्ड फेयर आयोजना गरिएको पोखरा पंछी समाजका अध्यक्ष तथा नेपाल बर्ड फेयर आयोजक कमिटी संयोजक मनशान्त घिमिरेले बताए। कार्यक्रममा उत्कृष्ट संरक्षण पत्रकारिता सम्मानबाट मनोज पौडेल सम्मानित भएका छन्। चरा, वन्यजन्तु, पर्यापर्यटन र वातावरण क्षेत्रमा संचार क्षेत्रबाट योगदान पुर्याउँदै आएका पौडेललाई सम्मानित गरिएको हो।

