२०८२ फाल्गुन २३ गते, शनिबार ०८:५२
  • भैरहवाको उडानबारे जजिराका प्रतिनिधिले रुपन्देहीका पर्यटन व्यवसायीसँग के भने ?


    भैरहवा-जजिरा एयरवेजको टोलीले रुपन्देहीका पर्यटन व्यवसायीहरुसँग छलफल गरेका छन्। जजिराका कन्ट्री म्यानेजर निखिल पुरी सहितको टोलीले विहिवार र शुक्रबार यहाँका पर्यटन व्यवसायीहरुसँग भेटघाट गरेको हो।

    कुवेतको जजिरा एयरवेजले भैरहवामा पटक पटक उडान गर्दै रोक्दै आएको छ। साढे ३ वर्ष अघि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनसँगै जजिराले उडान थालेको थियो। केही महिनामा उडान रोकियो। अघिल्लो वर्ष २०८१ सालमा कात्तिकदेखी चैतसम्म सातामा ३ दिन जजिराले कुवेत भैरहवा कुवेत उडान गरेको थियो। गत चैतपछि निरन्तरता दिएन।

    फेरी उडानको लागि अध्ययन गर्न जजिराको टोली भैरहवा आएको थियो। विहिवार सोट्टो लुम्बिनीसँग र शुक्रबार नाट्टा लुम्बिनीसँग छलफल गरेको थियो। जजिराको टोलीले भैरहवामा तत्काल उडान राख्न गाह्रो भएको बताएको नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्र थापाले जानकारी दिए। ‘काठमाडौंबाट पनि हाम्रो लोड कम छ। त्यसैले अहिले सेड्युल राख्न गाह्रो छ भनेर भनेका थिए।’ उनले भने ‘दुबइको भिसाको लागि नेपालीहरुलाई अफ्ठ्यारो, कतारको पनि त्यस्तै छ। नेपाल भारत ओहोर दोहोर गरेर विदेश उड्न पनि एनओसी चाहिनुपर्ने लगायतका कारण लोड पाउन गाह्रो छ भन्ने जजिराको कुरा छ।’ चुनावपछिको परिस्थितीको अध्ययन गरेर भैरहवाको उडान बारे विचार गर्ने जजिराको टोलीले बताएको नाट्टाका अध्यक्ष थापाको भनाइ छ।

    सोट्टो लुम्बिनीको टोलीसँग पनि जजिराले समर (चैत्रपछि) उडान नराख्ने बताएको थियो। तर आफूहरुले साताको एक दिन चार्टर उडान भएपनि राख्न आग्रह गरेको सोट्टो लुम्बिनीका अध्यक्ष सञ्जय बजिमयले बताए। ‘समर सेड्युल नराख्ने हो भने सातामा एक दिन चार्टर सेड्युल उडान गर्न भनेका छौं। चार्टर उडान भए हामी ८० प्रतिसत अक्कुपेन्सी ग्यारेन्टी लिइदिन्छौं।’ उनले भने ‘जजिराले त्यसरी चार्टर राख्न सकारात्मक छ। ८० प्रतिसत अक्कुपेन्सी भए असार तिरै ३ वटा उडान गर्छु भनेको छ।’ जहाजले लोड पाउने वातावरण बनेमा जजिरा आउन तयार भएको बजिमयले बताए।

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले थाई एयर एसियाले मात्र उडान गरिरहेको छ। उसले साताको दुई दिन आइतबार र बुधबार बैंकक भैरहवा बैंकक उडान गरिहेको छ। तर चैत्रपछि उसको उडान तालिका छैन।