२०८३ जेष्ठ १९ गते, मंगलवार २३:०८
  • प्रचुर सम्भावना भएर पनि रुपन्देहीको पर्यटन चलायमान हुन सकेन

    बुटवल – रुपन्देहीमा पर्यटनको प्रचुर सम्भावना छ । बुद्ध जन्मस्थल लुम्बिनी, स्थलमार्गबाट सबैभन्दा बढि पर्यटक आउने बेलहिया नाका र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । गन्तव्य र पूर्वाधार हुँदा पनि रुपन्देहीमा आशा गरिएअनुसार पर्यटकीय गतिविधी चलायमान हनु नसकेको सोमबार बुटवलमा आयोजित एक कार्यक्रममा बताइएको छ ।

    रुपन्देही उद्योग संघले पर्यटन उद्योगका चुनौती र अवसर विषयक बृहत गोष्ठी आयोजना गरेको थियो । गोष्ठीमा सहभागीहरुले बुद्ध जन्मस्थल लुम्बिनीमा अझै बढि विदेशी पर्यटक आकर्षित गर्नुपर्ने, आएका पर्यटकहरुको बसाइ लम्बाउने कार्यक्रम अघि सार्नुपर्ने लगायतका धारणा राखेका थिए ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिका मेयर खेलराज पाण्डेले पर्यटकीय विकास र प्रवद्र्धनको लागि नीजि क्षेत्रसँग सहकार्य गर्न उपमहानगरसँधै तयार रहेको बताए । भारतबाट आएका पर्यटकहरुलाई मुक्तीनाथ र कोरोलासम्म पुयाउने योजना अघि सारेको भन्दै त्यसमा पर्यटन व्यवसायीहरुको साथ आवश्यक भएको उल्लेख गरे।

    कार्यक्रममा अवधारणापत्र प्रस्तुत गर्दै नेपाल पर्यटन बोर्डका बरिष्ठ प्रबन्धक सुमन घिमिरेले कोरोनापछि नेपालको पर्यटन लयमा फकिएको भन्दै अझै सुधार गर्न आवश्यक रहेको उल्लेख गरे । उनले लुम्बिनी र अन्तर्राष्ट्रिय विमानस्थल समेत भएकाले रुपन्देहीमा पर्यटनको प्रचुर सम्भावना रहेको बताए । घिमिरेले लुम्बिनीमा आएका पर्यटकको बसाइ लम्बाउने योजना बनाउन सुझाब दिए ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयका पर्यटन विषय समितिका संयोजक डा. श्रीप्रसाद भट्टराइले आगामी १० वर्षसम्मको पर्यटनको योजना र रुपरेखा तयार गरेर अघि बढ्नुपर्ने धारणा राखे। उनले प्रमुख पर्यटकीय गन्तव्यहरुको विश्लेषण प्रवद्र्धनको योजना बनाउनुपर्ने, होटल म्यानेजमेन्ट तथा पर्यटनका विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिनुपर्ने धारणा राखे।

    पर्यटन मामिलाका लेखक युवराज कंडेलले रुपन्देहीमा थुप्रै धार्मीक सांस्कृतिक सम्पदा रहेको भन्दै तिनीहरुको संरक्षण गरि पहिचान उजागर गर्नुपर्नेमा जोड दिए । उनले रुपन्देहीमा ताल, तलैया, घुम्न लायक प्राकृतिक स्थान रहेको भन्दै लुम्बिनी आएका पर्यटकलाई भुलाउने कार्यक्रम ल्याउनुपर्ने बताए।

    कार्यक्रममा उपप्रमुख सावित्रादेवि अर्याल, देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव खरेलले बुद्ध परिपथलाई जोडेर पर्यटन योजना बनाउन सहकार्यको हात सधै अगाडी बढाउदै आएको धारणा राख्नु भयो।
    गोष्ठीका क्रममा प्यानल डिसकसन समेत राखिएको थियो। प्यानल डिस्कसनमा पर्यटन बोर्डका बरिष्ठ प्रबन्धक सुमन घिमिरेले रुपन्देहीका पर्यटन व्यवसायीसँग बोर्डले सहकार्य गर्न तयार रहेको भनाइ राखे। उनले लुम्बिनी आएका पर्यटकहरुबाट रुपन्देहीले लाभ लिन सक्नुपर्ने बताए।

    प्रदेश सरकार अन्तर्गतको पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख नेत्रलाल भुसालले डिभिजन पर्यटकीय पूर्वाधार विकाससंग जोडिएको कार्यालय भएको हुदा उद्योग दर्ता, नबिकरण जस्ता कामहरु गर्ने, धार्मिक र सास्कृतिक पुर्वाधारमा काम गर्दै आएको जानकारी दिए।

    पर्यटन व्यवसायी तथा नाट्टा लुम्बिनीका पूर्व अध्यक्ष सागर अधिकारीले पर्यटनलाई उद्योगको मान्यता दिएपनि उद्योगलाई दिने सुविधा पर्यटन क्ष्ँेत्रले नपाएको गुनासो गरे। उनले संख्यात्मक भन्दा पनि गुणात्मक पर्यटक भित्राउनुपर्नेमा जोड दिए।

    पर्यटन व्यवसायी तथा बुटवलको मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका अध्यक्ष माधव नेपालले सँधै सैद्धान्तिक कुराहरु मात्र गरेर पर्यटन क्षेत्र अघि नबढ्ने भन्दै परिणाम निकाल्ने गरि अघि बढ्न आवश्यक भएको धारणा राखे।

    उनले व्यवसाय गर्न धेरै तिर चाहार्नुपर्ने अवस्था अन्त्य गर्न र सहज बनाइ दिन सरकारसँग आग्रह गरे। रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान हुनुपर्ने बताए।
    कार्यक्रममा अन्य सहभागीहरुले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउन पहल गर्नुपर्ने, पर्यटन व्यवसायीहरुको साझा संयन्त्र बन्नुपर्ने, बुद्धस्थलहरु तथा एक पर्यटकीय स्थलबाट अर्को पर्यटकीय स्थानमा यातायातको सहज पहुच हुनुपर्ने लगायतका भनाइ राखेका थिए।