२०८३ असार १५ गते, सोमबार ०१:३३
  • बटौली, फूलबारी र जितगढीको एकिकृत विकास र प्रवर्द्धन आवश्यक

    सुदीप भण्डारी

    बुटवलको मुख्य बजारबाट तिनाउ पारी पर्यटकीय सम्भावना भएको ठाउँ हो । उपमहानगरपालिकाको वडा नम्बर १ र २ लाई बुटवलको पर्यटकीय केन्द्रको रुपमा विकास गर्न सकिन्छ । यो क्षेत्रमा ऐतिहासिक, धार्मिक, पुरातात्वीक र रमणीय स्थानहरु रहेका छन् । तिनाउ पारी पुग्दा बुटवलको पुरानो इतिहास जान्न सकिन्छ, राष्ट्रियता प्रतिको गौरवको अनुभुती हुन्छ, साथै मनोरम वातावरणमा रमाउन पनि सकिन्छ । सुरुमा तिनाउ पारी रहेका केही गन्तव्यहरुको चर्चा गरौं ।

    मणिमुकुन्द सेन उद्यान (फूलबारी पार्क)
    मणिमुकुन्द सेन उद्यानलाई फूलबारी पार्कको नामले पनि चिनिन्छ । यो उद्यान रुपन्देहीमा लुम्बिनी पछि सबै भन्दा बढि पर्यटक आउने गन्तव्य हो । बार्षिक ५ लाख बढि पर्यटक फूलबारी आउने गरेका छ्न् । पार्क २५ विघा क्षेत्रफलमा फैलिएको छ । उद्यान भित्र मणिमुकुन्द सेनको सितकालिन दरबारको भग्नावशेष रहेको छ । सानो चिडियाखाना पनि यहाँ रहेको छ । जहाँ चितुवा, भालु, बाँदर, स्याल, निलगाइ जरायो, अजिंगर लगायतका जिवजन्तुहरुको अवलोकन गर्न सकिन्छ । चुरेको काखमा रहेको यो उद्यानमा प्राकृतिक वातारणमा रमाउन सकिन्छ।

    जितगढी किल्ला
    जितगढी किल्ला २ सय ११ वर्ष अघि नेपालले अंग्रेजालाई पराजित गरेको ठाउँ हो। कर्नेल उजिरसिंह थापा नेतृत्वको नेपाली सेनाले अंग्रजलाई परास्त गरि जित हासिल गरेकाले यो ठाउँलाई जितगढी भनिएको हो। विगतमा जिर्ण अवस्थामा रहेको यो किल्लामा नेपाली सेनाले संरचनाहरु निर्माण गरेको छ। ऐतिहासिक किल्ला परिसरमा कर्नेल उजिसिंह सँगै नेपाललाई जिताउन योगदान गरेकाहरुको शालिक रहेको छ। साथै युद्धको झल्को दिने प्रतिमाहरु समेत राखीएको छ।
    जितगढी किल्ला अवलोकन गर्दा तत्कालिन नेपाल अंग्रेज युद्धबारे केही जानकारी लिन सकिन्छ। यो किल्ला बुटवलको प्रमुख पर्यटकीय स्थल हो। बुटवलको मुख्य बजारबाट तिनाउ पुल तरेर सय मिटर अगाडि गएपछि मैनाबगर चोक आउँछ । त्यहाँबाट सय मिटर पश्चिम लागेर ५० मिटर दक्षिण गएपछि जितगढी किल्ला पुग्न सकिन्छ।

    बटौली क्षेत्र
    फूलबारीबाट तल तिनाउ किनारमा पुरानो बुटवल अर्थात बटौली क्षेत्र रहेको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर १ मा पर्ने बटौली बुटवलको पुरानो र इतिहास बोकेको बजार हो। पहाडका विभिन्न जिल्लाबाट हाम्रा बाबुबाजेहरु यही बटौलीमा किनमेल गर्न आउँथे। त्यसबेला अहिलेको मुख्य बजार रहेको खस्यौली क्षेत्रमा बस्ती थिएन । पहाडबाट घिउ लिएर आएर बटौलीमा बेचेर नुन तेल कपडा किनेर लैजाने गरिन्थ्यो। बटौली क्षेत्रमा अझै पनि पुराना सैलीका घर देख्न सकिन्छ। ऐतिहासिक मठ मन्दीरहरु पनि रहेका छ। बटौली क्षेत्रको उत्तर तर्फ गणेश मन्दिर रहेको छ। त्यस्तै नारायणथान, निमचोक, कदम चोक, पद्म चैत्य विहार, बाघ भैरब, छेकइ भैरव, सुकुलबाबा मन्दिर, शहश्रधारा, जामे मस्जित लगायतका पुराना सम्पदा यहाँ रहेका छन्। बटौली क्षेत्रमा पुरानो नगरपालिकाको कार्यालय भएको स्थानमा बटौली संग्रालय निर्माण भएको छ। तर यो सञ्चालनमा आउँन बाँकी छ। बुटवलको इतिहासलाई बुझ्न पुराना सम्पदाहरु चिन्न बटौली घुम्न आवश्यक छ।

    यी तीन गन्तव्यहरुका कारण मुख्य बजारबाट तिनाउ पारीको बटौली क्षेत्र बुटवलको पर्यटकीय केन्द्र बन्न सक्ने आधार छ । यहाँको एकिकृत रुपमा विकास र प्रवद्र्धन आवश्यक छ । त्यसको लागि फूलबारी, जितगढी र बटौली क्षेत्र समेटेर एउटा साझा संस्था बन्नुपर्दछ । समान रुपमा प्रवद्र्धन हुनु आवश्यक छ।

    अहिले फूलबारीमा पूर्वाधारहरु तयार भएका छन् । पर्यटकको आकर्षण पनि राम्रो छ । जितगढीमा पनि फाट्ट फुट्ट अवलोकनकर्ताहरु पुग्न थालेका छन् । तर बटोली क्षेत्र भने अझै ओझेलमा रहेको छ । पारी बुटवललाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न सबै भन्दा पहिले बटौलीको पर्यटकीय विकास प्रवद्र्धन आवश्यक छ ।

    प्रवद्र्धनको लागि बटौली केन्द्रीत अभियान सञ्चालन गर्नुपर्दछ । ओझेलमा परेको बटौलीको पहिचान उजागर गर्न बटौली सम्पदा पदयात्रा अभियान प्रवद्र्धनको लागि एउटा नमुना कार्यक्रम हुन सक्दछ । सुरुमा बुटवल उपमहानगरपालिकाले सम्पदा पदयात्रा अभियान घोषणा गर्नुपर्छ। त्यसपछि बुटवलका संघ संस्थाहरु विद्यालयका विद्यार्थीहरुले अभियानको अवधिमा बटौलीको पदयात्रा गर्ने हो भने यस अवधिमा धेरैले बटौली चिन्न र जान्न पाउने छन्। गणेशथानदेखी जितगढी किल्लासम्म पदयात्रा अभियान सञ्चालन गर्दा बुटवलका पुराना सम्पदा इतिहासबारे जान्न सकिन्छ।

    बुटवलको पर्यटकीय विकासको लागि पुराना घरलाई जोगाउने, जिणोद्धार गर्ने र मौलिक तरिकाले सजावट गर्नुपर्छ। नयाँ बनेका आधुनिक घरहरुलाई पनि केही मौलिक स्वरुप दिन सकिन्छ । सटर भएरका घरमा काठका कलात्मक ढोका राख्दा यहाँ पर्यटकहरु हुन्छन्।
    बुटवलको फूलबारीमा कात्तिक मंसिर महिनामा शैक्षिक भ्रमणको लागि थुप्रै समुह आउँछन्। उनीहरुलाई बटौली र जितगढी पनि अवलोकन गराउने वातावरण बनाउनुपर्छ। फूलबारीमा बुटवलका पर्यटन सूचना केन्द्र निर्माण हुनुपर्छ।

    समुहगत भ्रमणमा आएकाहरुलाई बुटवलका पर्यटकीय स्थल बारे जानकारी दिने र नजिकको जितगढी र बटौली घुम्न प्रोत्साहित गर्नुपर्छ। जितगढी र बटौली भ्रमण गराउनको लागि गाइडको व्यवस्था हुनुपर्छ। तिनाउ पारीको एकिकृत विकासको लागि नुवाकोट जाने सिद्धार्थ केबलकारलाई पनि समेट्न सकिन्छ। तिनाउ पारीका गन्तव्यहरुलाई एकिकृत पर्यटकीय विकास र प्रवद्र्धन गर्ने हो भने बुटवल पनि एउटा पर्यटकीय शहरको रुपमा स्थापित हुने छ।