२०८३ असार २० गते, शनिबार ०३:२१
  • लुम्बिनीमा नेपाली भन्दा भारतीय पर्यटक धेरै आए

    लुम्बिनी – लुम्बिनीमा गत महिना नेपाली भन्दा धेरै भारतीय पर्यटक लुम्बिनी आएका छन्। गत जुन महिनामा मात्र ३० हजार ६२३ भारतीय पर्यटक लुम्बिनी आएका हुन् । यो महिना नेपाल भित्रबाट घुम्न आउनको संख्या २६ हजार ७४४ जना मात्र रहेको छ। आन्तरिक भन्दा ४ हजार बढि भारतीयले लुम्बिनीको भ्रमण गरेको लुम्बिनी विकास कोषको तथ्यांकले देखाउँछ।

    जुन महिनामा हालसम्मकै बढि भारतीय आएको लुम्बिनी विकास कोषको तथ्यांकले देखाएको छ। एक वर्ष अघि सन् २०२५ को जुन महिनामा २३ हजार ४७० भारतीय लुम्बिनी आएका थिए। कोभिड अघि सन् २०१९ को जुनमा १९ हजार १६६ भारतीयले लुम्बिनी भ्रमण गरेका थिए। २०७९ को बुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री लुम्बिनी आएका थिए। त्यसपछि लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढेको हो।

    गर्मीयाम सुरु भएसँगै पाल्पा, पोखरा, मुक्तिनाथ लगायत देशका विभिन्न पहाडी गन्तव्यमा भारतीय पर्यटकहरुको चहलपहल बढेको छ। पहाडी जिल्लामा हिडेकाहरु कतिपय लुम्बिनी पनि आउने गरेकाले भारतीय पर्यटकहरुको आगमन बढेको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले बताए। ‘भारतीय पर्यटकहरु गत वर्ष भन्दा बढेका छन्। यो लुम्बिनीमा मात्र नभएर देशैभरका गन्तव्यमा चहलपहल छ।’ उनले भने ‘गर्मी छल्ने भारतीय पर्यटकहरु नेपालको पहाडी जिल्लामा आइरहेका छन्। त्यसको प्रभाव लुम्बिनीमा पनि परेको छ।’

    केही समय अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘सुन नकिन्नुहोस्, डरल खर्च गर्ने ठाउँमा भ्रमण नगर्नुहोस्। बरु छिमेकी मुलुक भ्रमण गर्नुस्’ भनेका थिए। मोदिको यो सन्देश अनुरुप लुम्बिनी सहित नेपालका विभिन्न ठाउँमा भारतीय पर्यटक बढेको हुन सक्ने बस्नेतले बताए।भारतीय पर्यटकको आगमनबाट पर्यटन व्यवसायीहरुले कुनै फाइदा लिन नसकेको लुम्बिनी होटल संघका अध्यक्ष लिलामणी शर्माले बताए। ‘धेरै जना नजिकैको कक्रहवा नाकाबाट आउँछन्। एकछिन घुमेर फर्किहाल्छन्।’ उनले भने ‘बस्ने गरि आएपनि लुम्बिनीमा नबसी पाल्पातिर जान्छन्। पोखरा र मुक्तिनाथ जाने भारतीयहरु पनि एकछिन पसेर जाने गर्नाले आगमन धेरै देखिएको हो। होटलमा बस्नेगरि कोही आउँदैनन्।’
    गत जुन महिनामा भारतबाहेक तेस्रो मुलुकबाट १ हजार ५१० जना लुम्बिनी आएका छन्।