
भैरहवा– भैरहवाको गौतम बुद्ध विमानस्थल अहिले अन्तर्राष्ट्रिय उडान विहिन छ। यस अघि गत कात्तिकदेखि चैत्रसम्म थाइ एयर एसियाले सातामा २ दिन बैंकक-भैरहवा उडान गरेको थियो। त्यस अघि २०८१ कात्तिकदेखी चैत्रसम्म जजिरा एयरवेज, फ्लाई दुबई र थाइ एयर एसियाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेका थिए।
त्यसबेला नेपाल एयरलाइन्स र कतार एयरवेजले उडान गरेको भएपनि प्रभावकारी हुन सकेको थिएन। ३ वटा जहाजले नियमित उडान गर्दा भैरहवामा केही उत्साह छाएको थियो। तर ती उडानले निरन्तरता पाउन सकेनन्। २०८१ कात्तिक अघि लामोसमय भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भएको थिएन। त्यसबेला यहाँका नीजि क्षेत्रले काठमाडौंमा ध्यानकर्षण गराउन जानेदेखि सडक संघर्षसमेत गरेका थिए।
तर अहिले अन्तर्राष्ट्रिय उडान रोकिदा निजी क्षेत्रको गतिविधि खासै सुनिएको छैन। हामीले केही निजी क्षेत्रका अगुवासँग भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको लागि के पहल भइरहेको छ भनेर जिज्ञासा राखेका थियौं।
सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले भैरहवाबाट अन्तर्राष्ट्रि उडानको लागि विगतमा धेरै पहल गरेको तर उडान भएपनि निरन्तरता नपाएको बताए। अहिले पनि नियमित उडानको माग गर्दै केही कार्यक्रम गर्न लागेको उनले जानकारी दिए। अध्यक्ष आचार्यले भैरहवाको अन्तर्राष्ट्रिय उडानको सम्बन्धमा छिट्टै रुपन्देहीका सांसदहरुसँग छलफल गरिने बताए। ‘हामीले रुपन्देहीका निर्वाचित र समानुपातिक सांसदलाई राखेर कार्यक्रम गर्ने तयारी गरेका छौं। यस बारे हामीले संघको बैठकबाट निर्णय गरिसकेका छौं।’ उनले भने ‘रुपन्देही १ का सांसद सुनिल लम्साल मन्त्री पनि भएको र प्रधानमन्त्रीसँग नजिक पनि भएकाले समय मागीरहेका छौं। उहाँको समय मिलेपछि कार्यक्रम कुन दिन गर्ने टुंगो लाग्छ।’ सांसदहरुसँगको छलफल पछि अन्तर्राष्ट्रिय उडानको माग र दबाबका लागि थप कार्यक्रम अघि बढ्ने आचार्यले जानकारी दिए।
सिद्धार्थ होटल एशोसिएनका अध्यक्ष सिपी श्रेष्ठले भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको पहलका लागि हालै काठमाडौं पुगेर ध्यानाकर्षण गराएको बताए।’ पर्यटनमन्त्री भैरहवामा आउँदा पनि हामीले ज्ञापनपत्र बुझायौं। काठमाडौं गएर पनि मन्त्रीज्यूलाई ध्यानाकर्षण गरायौं। उहाँले भैरहवाको विमानस्थल चलाउने नै हो भन्नुभयो।’ उनले भने ‘तत्काललाई कम्तिमा भैरहवाबाट दिल्ली उडान भयो अरु एयरलाइन्स पनि चल्ने वातावरण बन्छ। भारतका गुणस्तरीय पर्यटकलाई आकर्षित गर्न सकिन्छ। भनेर हामीले पर्यटनमन्त्रीलाई भनेका छौं। काठमाडौँमा अर्थमन्त्रीसँग पनि कुरा भयो।’
श्रेष्ठले केही दिनपछि फेरि काठमाडौं जाने बताए । उनले मन्त्रीसँगै प्रधानमन्त्रीसँग पनि भेटन समय मागिरहेको जानकारी दिए। ‘प्रधानमन्त्रीको सचिवालयसँग कुरा भइरहेको छ। फोन गर्छौं भन्नुभएको छ। भेटघाटको समय तय भएर फोन आयो भने हामी काठमाडौं जान्छौं।’उनले भने।
नेपाल एशोसिएन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्र थापाले भैरहवाको उडानको लागि जति पहल गरेपनि उपलब्धि नभएको बताए। हवाइ नीति संसोधन नभई भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्ने थापाको भनाइ छ। ‘हामीले उडानको लागि वातावरण बनाइदेउ भनेर सरकारसँग लगातार भनिरहेका छौं। सरकारले हवाइ नीति संसोधन गर्नुपर्छ भनेर भनिरहेका छौं।’ उनले भने ‘कम बजेटका जहाजहरु राजधानी बाहिर पठाउने प्रचलन विदेशमा पनि छ। यहाँ पनि हवाइ नीति मार्फत बुद्धसँग सम्बन्धित देशका जहाज र बजेट एयरलाईन्सहरुलाई काठमाडौं बाहिर उडान गर्न भनेर भन्न सकिन्छ।’ नाट्टाका अध्यक्ष थापाले आगामी दिनमा सामाजिक संघसंस्थाहरुसँग छलफल र समन्वय गरि भैरहवाको अन्तराष्ट्रिय उडानको लागि पहल गर्ने जानकारी दिए।
भैरहवाबाट अहिले कुनै पनि अन्तर्राष्ट्रिय उडान छैन। आगामी विन्टर सिजनमा उडान होला कि भन्ने आशा छ। तर अझैसम्म कुनै एयरलाईन्सले पनि उडान गर्ने टुंगो लागेको छैन। भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडानको लागि सरकारको मुख्य भूमिका त हुन्छ । तर निजी क्षेत्रको प्रभावकारी पहल पनि आवश्यक पर्दछ।

