२०८३ कार्तिक १ गते, शनिबार ०३:३७
  • ‘सहि गन्तव्यको पहिचान र नीजि क्षेत्रमैत्री पर्यटन नीति आवश्यक’

    प्रदेशका मुख्य पर्यटकीय गन्तव्यहरुको चिनारी दिने क्युआर कोड बनाउँदैछौं : मन्त्री चौधरी


    बुटवल-लुम्बिनी प्रदेशको पर्यटन नीति समय सापेक्ष र प्रभावकारी हुनुपर्ने सरोकारवालाहरुले बताएका छन्। उनीहरुले पर्यटन क्षेत्र चलायमान हुने गरि नीति बनाउन सुझाब दिए। प्रदेशको वन, वातावरण तथा पर्यटन मन्त्रालयको आयोजना तथा सम्बाद समुह लुम्बिनी प्रदेशको सहजिकरणमा विहिवार बुटवलमा लुम्बिनी प्रदेश पर्यटन नीति २०८३ को मस्यौदा माथि सरोकारवालासँग नीतिगत सम्बाद कार्यक्रम भएको थियो।

    कार्यक्रममा सहभागीहरुले बजेट नछरेर सहि गन्तव्य छनोट गरेर पर्यटकीय योजना तर्जुमा गर्नुपर्ने, निजी क्षेत्रलाई प्रोत्साहनका कुरा नीतिमा समेट्नुपर्ने, पर्यटकले दुख नपाउने र उनीहरुको बसाई लम्बाउने खालका कार्यक्रम ल्याउनुपर्ने सुझाब राखेका थिए।

    कार्यक्रममा लुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुलसी चौधरीले प्रदेशका मुख्य पर्यटकीय गन्तव्यहरुको चिनारी दिने क्युआर कोड बनाउन लागेको जानकारी दिए। त्यो क्युआर कोड होटल र सार्वजनिक सवारी साधनहरुमा टांस्ने जानकारी दिए। उनले सातै प्रदेशका पर्यटन मन्त्री र सचिवहरुको सम्मेलन लुम्बिनीमा गर्न लागेको बताए।

    प्रदेशको पर्यटन मन्त्रालयका सचिव प्रमोद भट्टराईले बजेट नछरी पर्यटकको चहलपहल हुने गन्तव्यमा मात्र बजेट तथा कार्यक्रम केन्द्रीत गर्ने प्रयास भएको जानकारी दिए। उनले प्रदेशमा २० वटा गन्तव्य सूची बनाएर अघि बढ्दा पर्यटकमा प्रभावकारी काम गर्न सकिने उल्लेख गरे। पर्यटन विकास परिषद लुम्बिनीकी निमित्त कार्यकारी निर्देशक सारदा बस्यालले पर्यटन नीतिमा भएका मस्यौदा बारे जानकारी दिँदै पर्यटनलाई प्रदेशको आर्थिक विकासको आधार स्तम्भको रुपमा स्थापित गर्ने लक्ष्य सहित नीतिको मस्यौदा तयार गरिएको जानकार दिइन्।

    नीतिको मस्यौदामा बुद्धको जन्मभूमि लुम्बिनीको विश्वव्यापी परिचयले ग्रेटर लुम्बिनी र बौद्ध दर्शनको आलोकमा पर्यटकीय सम्भावनालाई युगौयुगसम्म जीवन्त तुल्याउने विशेष अवसर यस प्रदेशलाई प्राप्त हुने बताइएको छ। त्यस्तै लुम्बिनी प्रदेश प्राकृतिक र सांस्कृतिक सम्पदाले सुशोभित भएको उल्लेख गरिएको छ । त्यस्तै , बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, ढोरपाटन सिकार आरक्ष जस्ता पर्यटकीय सम्भावनालाई बहुआयामिक बनाउने र राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटक आकर्षित गर्ने सुन्दर सम्पति पनि प्रदेशमा मौजुद रहेका मस्यौदामा भनिएको छ।

    कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भारतीय पर्यटकले नेपाल आउँदा सास्ती नभई सहजताको वातावरण हुनुपर्ने धारणा राखे। होटल एशोसिएन नेपाल हान लुम्बिनी प्रदेशका अध्यक्ष सिपी श्रेष्ठले पर्यटकहरु कसरी भित्राउने र उनीहरुलाई कसरी टिकाउने भन्ने ठोस कार्यक्रम बन्नुपर्ने उल्लेख गरे। नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेलले लुम्बिनीको पर्यटनको लागि साझा कार्ययोजना बनाएर अघि बढ्नुपर्ने धारणा राखे। नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्र थापाले सरकारले नीजि क्षेत्रलाई समेटेर अघि बढ्नुपर्ने धारणा राखे।

    संस्कृति तथा पर्यटनवीद डा.गितु गिरिले पर्यटकको बसाइ लम्ब्याउनुपर्ने खालका कार्यक्रम नीतिमा समेट्नुपर्ने बताए। लुम्बिनी विकास कोषका बरिष्ठ पुरातत्व अधिकृत हिमाल उप्रेतीले बुद्ध जन्मस्थललाई केन्द्रीत गरेर पर्यटन नीति बनाउनुपर्ने उल्लेख गरे।

    कार्यक्रममा लुम्बिनी होटल संघका अध्यक्ष लिलामणी शर्मा, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष माधव खनाल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन भैरहवाका अध्यक्ष राजेश महोत्रा, मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका उपाध्यक्ष युवराज घिमिरे, होटल व्यवसायी महासंघ प्रदेश अध्यक्ष महेन्द्र श्रेष्ठ, नाट्टा लुम्बिनीका पूर्व अध्यक्ष सागर अधिकारी होटल ब्यबसायी हेम बहादुर बिष्ट, ब्यबसायीहरु माया खनाल, टेकनाथ बस्याल, लुम्बिनी केबलकार प्रालिका नवराज अधिकारी लगायतले बोल्दै लुम्बिनी सहित बुद्धस्थलको प्रवद्र्धन हुने खालका कार्यक्रम ल्याउनुपर्ने, भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको लागि नीजि क्षेत्र र प्रदेश सरकार मिलेर पहल गर्नुपर्ने, डिजीटल मार्केटिङमा जोड दिनुपर्ने लगायतका धारणा राखेका थिए।

    कार्यक्रममा प्रदेश सभाका सदस्यहरु हेमा बेल्बासे केसी, निमल पासवान र रेवती गुरुङ लगायतको सहभागिता थियो। संबादको सहजिकरण संवाद समुहका बरिष्ठ सहजकर्ता सुशील बस्नेतले स्वागतम मन्तब्य सहजकर्ता बिक्रम खडकाले गर्नुभएको थियो।