२०८१ आश्विन २१ गते, सोमबार ११:०९
  • लुम्बिनी साँस्कृतिक नगरपालिकामा शून्य पोलोथिन अभियान सुरु

    रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा शून्य पोलोथिन अभियान सुरु भएको छ । पोलिथिनजन्य फोहोरले लुम्बिनी भ्रमणमा आउने पर्यटक र वातावरणमा नकारात्मक असर परेकाले नगरलाई सफा र स्वच्छ बनाउन अभियान शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

    लुम्बिनी साँस्कृतिक नगरपालिकाको आर्थिक सहयोगमा ग्रीनरी नेपाल संस्थाले सञ्चालन गरेको यो अभियान ६ महिनासम्म चल्नेछ । आइतबार अभियानको शुभारम्भ गर्दै रुपन्देही ५ का सांसद बासुदेव घिमिरेले लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटकीय स्थल भएकाले यो ठाउँ स्वच्छ र सरसफाइयुक्त हुनुपर्ने बताए ।
    सांसद् घिमिरेले यसअघि आफू नगरप्रमुख हुँदा तिलोत्तमा नगरपालिकालाई शुन्य खुला पोलिथिनमुक्त नगर बनाउन १ लाख बढी नगरबासीलाई सरसफाई अभियानमा सहभागी गराएको उल्लेख गर्दै व्यापक जनसहभागिताले मात्र अभियान सफल हुने स्पष्ट पारे ।

    लुम्बिनी प्रदेशसभा सदस्य सिके गुप्ताले पर्यटकलाई आकर्षित गर्न र उनीहरुको बसाई लम्ब्याउन लुम्बिनी सफा र स्वच्छ हुनु पहिलो शर्त भएकाले शून्य पोलोथिन अभियानले सकारात्मक परिणाम दिने विश्वास व्यक्त गरे ।
    लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. हृदयरत्न बज्राचार्यले यो अभियानमा विश्वविद्यालय पनि सहकार्य गर्न तयार रहेको जानकारी दिए।

    ग्रीनरी नेपालका अध्यक्ष निपेश ढाकाले अभियानमा आफ्नो संस्थाका २२ जना स्वयंसेवक सचेतना अभिवृद्धिका साथैं फोहोर संकलन, फोहोर वर्गीकरण र फोहोर बिसर्जनमा खटिने बताउँदै यो अभियानमा सबैको सहयोग आवश्यक रहने बताए ।

    कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजन, गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल, शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्याल, रुपन्देही प्रहरी प्रमुख एसपी रविन्द्र रेग्मी, सरसफाई अभियान्ता उपेन्द्र अधिकारी, मुक्तिनाथ गैह्रे लगायतले बुद्ध जन्मस्थल लुम्बिनीलाई पोलिथिन शून्य बनाउने अभियानमा सबैको साथ रहने विश्वास व्यक्त गरे ।