२०८१ आश्विन २१ गते, सोमबार ११:०७
  • पर्यटन दिवसमा कालिकाका विद्यार्थीद्वारा जितगढी र फूलबारीमा अवलोकन तथा सरसफाइ

    बुटवल -विश्व पर्यटन दिवसको अवसरमा बुटवलको कालिका मानव ज्ञान माविमा पर्यटन विषय पढ्ने विद्यार्थीहरुले ऐतिहासिक जितगढी तथा फूलबारीको बारेमा जानकारी लिएका छन्। कक्षा ११ मा पढ्ने विद्यार्थीहरु सुरुमा नेपालले अंग्रेजलाई पराजित गरेका ठाउँ जितगढी पुगेका थिए।

    अवलोकनका क्रममा पर्यटन विषय पढ्ने ४५ जना विद्यार्थी थिए। साथै ४० जना कानूनका विद्यार्थी समेत सहभागी थिए।
    विद्यार्थीहरुले दुई सय वर्ष अघि भएको नेपाल अंग्रेज युद्ध, नेपाललाई विजयी बनाउने तत्कालिन नेपाली सेनाका कर्नेल उजिरसिंह लगायतको बारेमा जानकारी लिएका थिए। पर्यटन मामिलाका कलम समेत चलाउने विद्यालयका शिक्षक युवराज कंडेलले जितगढीको महत्व बारे विद्यार्थीहरुलाई जानकारी गराएका थिए।जितगढी किल्ला सबै विद्यार्थीले एक पटक अवलोकन गर्नै पर्ने ठाउँ रहेको कालिका मावि टुरिजम स्टुडेन्ट काउन्सीलका अध्यक्ष अमन शर्माले बताए।

    जितगढीपछि विद्यार्थीहरु मणिमुकुन्द सेन उद्यान अर्थात फूलबारी पुगेका थिए। फूलबारीमा संक्षिप्त कार्यक्रम समेत गरिएको थियो। कार्यक्रममा कालिका माविका व्यवस्थापन समूहका इन्चार्ज सुदर्शन रेग्मीले स्थानको परिचय र वातावरणीय सचेतनाको लागि विद्यार्थीहरुलाई पर्यटन दिवसको अवसर पारेर अवलोकन गराइएको बताए।

    उद्यानका प्रमुख कार्यकारी अधिकृत अनन्त शिलवालले फूलबारी मुलुककै उत्कृष्ठ पार्क मध्ये एक भएको भन्दै अघिल्लो वर्ष मात्र ७ लाख बढि आएको बताए। त्यसमध्ये ४ लाख ७१ हजार पर्यटक टिकट काटेरै प्रवेश गरेको जानकारी दिए। फूलबारी हरियाली र सुन्दरतासँगै धार्मीक, ऐतिहासीक दृष्टीकोणले महत्वपूर्ण रहेको सिलवालले बताए।

    संक्षिप्त कार्यक्रमपछि विद्यार्थीहरुले फूलबारी परिसरमा सरसफाइ समेत गरेका थिए। पर्यटन विषयकी विद्यार्थी यमुना पछाइले जितगढी र फूलबारीमा आएर धेरै कुरा जान्न पाएको सुनाइन्। उनले दुबै ठाउँलाई जोडेर बुटवलको पर्यटकीय विकास गर्न सकिने उल्लेख गरिन्। फूलबारीमा पार्कसँगै, मणिमुकुन्द सेनको सितकालिन दरबारको भगनावसेस र चिडियाखाना पनि रहेको छ।