२०८१ आश्विन २१ गते, सोमबार १३:०५
  • तिलौराकोट क्षेत्रमा सेनाको टोलीद्वारा सरसफाइ र सौन्दर्यकरण गर्दै

    लुम्बिनी-लुम्बिनी विकास कोषले नेपाली सेनालाई अनुरोध गरी प्राचिन शाक्यहरुको राजधानी तिलौराकोट दरबार क्षेत्रलाई सौन्दर्यकरण गर्न थालेको छ । विश्व सम्पदा सूचीमा सूचीकरणका लागि प्रारम्भिक मनोनयन दस्तावेज पेश गर्ने तयारी भइरहेको बेलामा तिलौराकोटको उत्तरतर्फ रहेको झाडीको सफाई गरिएको हो ।

    कोषका उपाध्यक्ष डा। ल्याहारक्याल लामाले पदस्थापना लगतै तिलौराकोटको निरीक्षण भ्रमण गर्दा सौन्दर्यकरणको आवश्यकता देखेका थिए। त्यसपछि सौन्दर्यकरणका लागि नेपाली सेनासँग समन्वय गरेका थिए। असोज ४ गतेदेखि नेपाली सेनाको शमसेर दल गण गोरुसिंगेको टोलीले झाडी र बुट्यानको सरसफाई गरेका छन्। बुधबार कोषका उपाध्यक्ष डा लामा सहित पदाधिकारी र २२ नम्बर बाहिनी बुटवलका बाहिनीपती ललितबहादुर कुवँर सहितको टोलीले तिलौराकोट पुगेको थियो।

    उपाध्यक्ष डा लामाले विश्व सम्पदा सूचीमा सूचीकृतको तयारीमा रहेको तिलौराकोटको पुरातात्विक र पर्यटन प्रवद्र्धनका लागि सरसफाई गरिएको बताए। उनले तिलौराकोट सिद्धार्थ गौतमका रुपमा बुद्धले २९ वर्ष विताएको पवित्र स्थल रहेकाले यसको विकासलाई आफुले प्राथमिकतामा राखेको बताए। उपाध्यक्ष लामाले झाडी र बुट्यानले पुरातात्विक अवशेषलाई समेत असर पार्न सक्ने र सुन्दर समेत नभएकाले नेपाली सेनाले आफुहरुको अनुरोध स्विकार गरेर सफाई गरेकोमा धन्यवाद दिए।

    झाडी बुट्याउनले जमिनमुनीको पुरातात्विक संरचना नष्ट गरिराखेकाले करिव २ विगाहा क्षेत्रफलमा जराहरु हरटाइएको छ। यस्तै करिव ५ विगाहा क्षेत्रफलमा बुट्यान सफाई गरिएको नेपाली सेनाले जनाएको छ। तिलौराकोकाट निरीक्षणमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, कार्यकारी सदस्य गोपीकृष्ण शर्मा, कोषका बरिष्ठ निर्देशक ज्ञानिन राई, बरिष्ठ पुरातत्व अधिकृत हिमाल कुमार उप्रेती, शमशेर दल गण गोरुसिंगेका गणपती दिलिप घले लगायतको उपस्थिती रहेको थियो। नेपाली सेनाले अझै एक सातासम्म तिलौराकोट क्षेत्रमा सरसफाई गर्ने कोषका तिलौराकोट शाखा प्रमुख माधवप्रसाद आचार्यले जानकारी दिए।