२०८१ आश्विन २१ गते, सोमबार १०:५९
  • गोल्डेन ट्र्यांगल बाइक टूर सुरु, शुक्रबार लुम्बिनी र शनिवार बुटवल आउने

    काठमाडौँ -विश्व पर्यटन दिवसको अवसरमा गोल्डेन ट्र्यांगल बाइक टूर सुरु भएको छ। एनटिपी मल्टिमिडिया ग्रुपले एक्सपल्स राइडर्स क्लबसँग मिलेर बाइक टूरु आयोजना गरेको हो। नेपाल पर्यटन बोर्ड, नाट्टा, टान, एफएनसिसिआई लगायत संघ(संस्थासँगको समन्वय तथा सहकार्यमा भएको मोटरसाइकल यात्रामा पत्रकार, कलाकार, साहित्यकार, बाइकरसहित एक सय जनाको राइडर्सको सहभागीता छ।

    पर्यटन दिवसमा अर्थात पहिलो दिन बाइक टूरको टिम काठमाडौँबाट चित्लाङ, दामन हुँदै पर्सा राष्ट्रिय निकुञ्जको प्रवर्द्धनका लागि वीरगञ्ज पुगेको छ। दोस्रो दिन विहिवार पर्सादेखि हेटौंडा, सौराहा हुँदै राइडर्सको टिम भरतपुर पुग्नेछ।

    तेस्रो दिन असोज १२ गते शुक्रबार राइडर्स टिम लुम्बिनी पुगेर शान्तिदीप प्रज्ज्वलन गर्नेछन्। शनिवार बुटवल आइ जितगढी किल्ला आइ अवलोकन गर्नेछन्। बुटवलमा नाट्टा लुम्बिनी प्रदेश, बुटवल उपमहानगरपालिका र लुम्बिनी विकास कोषसँग सहकार्य तथा समन्वयमा कार्यक्रम हुने छ।

    चौथो दिन राइडर्स टोली पाल्पा रानीमहल पुग्नेछ। पाँचौ दिन आइतबारराइडर्स टिम पोखरा पुग्नेछ। असोज १५ गते सोमबार काठमाडौं पुगी गोल्डेन ट्र्यांगल बाइक टूरु सम्पन्न हुने छ।

    कोभिड महामारी र आर्थिक मन्दीपछि सुस्त देखिएको पर्यटन क्षेत्रलाई उकास्न सहयोग पुग्ने उद्धेश्यले काठमाडौं–चितवन–लुम्बिनी–पोखरालाई केन्द्रमा राखेर गोल्डेन ट्र्यांगल बाइक टूर आयोजना गरेको संयोजक विष्णु विवेकले बताए।
    यसअघि एनटिपी मल्टिमिडिया ग्रुपले ताप्लेजुङ–दार्चुला बाइक टूर गरेको थियो।