२०८१ आश्विन २१ गते, सोमबार १५:१२
  • पाल्पामा एकहप्ते टुर गाइड तालिम हुने, ४० जनाको लागि दर्खास्त आवहान

    तानसेन– पाल्पाको तानसेनमा असोज २१ बाट लोकल टुरगाइड तालिम आयोजना हुने भएको छ। पर्यटन विकास परिषद लुम्बिनी र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को आयोजनामा तालिम हुन लागेको हो। तालिमका लागि असोज २० गतेभित्र दर्खास्त पेश गर्न भनिएको छ। पाल्पामा तालिम सञ्चालन गर्न नेपाल एशोसिएन अफ टुर एण्ड ट्राभल एजेण्टस् नाट्टा पाल्पाले पहल गरेको हो।

    टुर गाइड तालिमले स्वरोजगार सिर्जना गर्न सक्ने र पाल्पा आएका पर्यटकले यहाँका बारेमा धेरै जानकारी हाशील गर्ने नाट्टा पाल्पाका अध्यक्ष राजिवकुमार शाहले बताए। ‘पर्यटकहरु आयो, हेरेयो घुम्यो मात्र हुन्छ। टुर गाइड भएमा उनीहरुले यहाँका ऐतिहासिक पर्यटकीय स्थलहरुको जानकारी दिन्छन्। साथै तानसेनबाट आसपासका क्षेत्रमा पनि घुमाउन सजिलो हुन्छ। यसले पर्यटकको बसाइ लम्बाउन सघाउ पुग्छ।’ उनले भने।

    १२ कक्षा पास भएको १८ वर्ष उमेर पुरा भएको नेपाली नागरिकले तालिममा सहभागी हुन पाउनेछन्। निवेदन फारम पर्यटन विकास परिषदको कार्यालय बुटवल वा घरेलु तथा साना उद्योग कार्यालय पाल्पाबाट उपलब्ध गराइने छ। पाल्पामा पछिल्लो समयमा आन्तरिकसँगै भारतीय पर्यटकको आगमन बढेको छ। त्यस्तै केही मात्रामा तेस्रो मुलुकका पर्यटकहरु पनि देखिने गरेका छन्।