२०८१ आश्विन २१ गते, सोमबार ०९:०६
  • लुम्बिनीमा भारतीय पर्यटक आगमनदर कोभिड अघि भन्दा बढि


    लुम्बिनी -लुम्बिनीमा भारतीय पर्यटकको आगमनदर कोभिड अगाडि भन्दा पनि उच्च देखिएको छ। कोभिड अघिको वर्ष सन २०१९ को जनवरीदेखि सेप्टेम्बर महिनामा १ लाख २७ हजार ९६ भारतीय पर्यटक आएका थिए। २०२३ को सोही अवधिमा ४० हजार बढि पर्यटक लुम्बिनी आइसकेका छन्। यो वर्षको सेप्टेम्बर महिनासम्म १ लाख ६७ हजार ४०० भारतीय पर्यटक आइसकेको लुम्बिनी विकास कोषले जनाएको छ।

    सन २०१९ अन्त्यमा चिन र २०२० को सुरुवातसँगै विश्वव्यापी रुपमा कोरोना संक्रमण फैलिएपछि पर्यटन क्षेत्र संकटमा परेको थियो। पछिल्लो समय पर्यटन क्षेत्र लयमा फर्किदैछ। जस अनुसार लुम्बिनीमा भारतीय पर्यटकको संख्या पनि निरन्तर बृद्धि भइरहेको छ। सन २०१९ को सेप्टेम्बर महिनामा लुम्बिनीमा ८ हजार ३४१ भारतीय पर्यटकहरु आएका थिए। तर यसैबर्ष सन २०२३ को सेप्टेम्बर महिनामा मात्र भारतबाट १५ हजार ४०८ लुम्बिनी आइसकेका छन्। यसरी हेर्दा लुम्बिनीमा भारतीय पर्यटकको आगमन दर अहिलेसम्मकै उच्च देखिएको छ।

    अघिल्लो वर्ष वि.सं २०७९ को बुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आएका थिए। गत माघमा भारतका प्रख्यात रामकथा बाचक मोरारी बापुको प्रवचन कार्यक्रम भएको थियो। भारतीय प्रधानमन्त्रीको भ्रमण र मोरारी बापुको आगमनले छिमेकी मुलुकको पर्यटक आगमन दर बढेको लुम्बिनी विकास कोषका सुचना अधिकृत हरि राइले बताए। ‘भारतीय प्रधानमन्त्री मोदी आउनुभयो, कथा बाचक बापु पनि आउनुभयो। त्यसबेला भारतीय मिडियामा लुम्बिनी बारे राम्रो कभरेज भयो ।’ उनले भने।

    भारतको आर्थिक प्रगतिका कारण पनि छिमेकी मुलुकका पर्यटक आगमनदर बढेको राइको भनाइ छ। ‘रसिया र युक्रेन युद्धको बेलामा पनि भारतले राम्रोसँग प्रगति गरेको छ । विश्वको पाँचौ ठूलो अर्थतन्त्र भएको मुलुक पनि भएकाले भारतमा घुम्ने क्रम बढको छ।’ उनले भने भिसा र पासपोर्ट नचाहीने नेपाल भारतीय पर्यटकहरुको लागि नजिकको गन्तव्य हो। सिमानाकाबाट नजिक भएकाले पनि लुम्बिनी घुम्न आउने भारतीयको संख्या धेरै छ।

    लुम्बिनीमा भारतीय पर्यटकहरुको आगमन बढे पनि पर्यटन क्षेत्रले फाइदा लिन नसकेको व्यवसायीहरुले गुनासो गरेका छन् । अधिकांस भारतीय पर्यटकहरु आएर उत्तीखेरै फर्किहाल्ने खालका छन्।