२०८१ आश्विन २१ गते, सोमबार ०९:१५
  • तिलोत्तमाको बनवाटिका जहाँ बार्षिक ४ लाख बढि पर्यटक आउँछन्

    तिलोत्तमा -रुपन्देहीको तिलोत्तमामा रहेको शंकरनगर बनविहार तथा अनुसन्धान केन्द्र (बनबाटीका)मा बार्षिक ४ लाख बढि पर्यटक आउने गरेका छन्। आर्थिक वर्ष २०७९ ८० मा मात्र ४ लाख ५ हजार जना यहाँ घुम्न र मनोरञ्जन गर्न आएको बनबाटिकाले जनाएको छ। जसमध्ये २ लाख ७० हजार टिकट काटेरै प्रवेश गरेको बनबाटीकाका अध्यक्ष बेलप्रसाद शर्माले बताए। बाँकी बनभोज लगायत अरु प्रायोजनको लागि आएको उनले जानकारी दिए।

    तिलोत्तमाको शंकरनगरमा ७५ विघा क्षेत्रफलमा रमणीय पार्क रहेको छ। यहाँ स्थानीय तथा आन्तरिक पर्यटकको पार्कमा निकैभीड हुन्छ। जाडोयाम त्यसमा पनि छुट्टीको दिनमासयौंको संख्यामा वनभोज खान आउनेको समुह देखिन्छन्। वनवाटिकामा विभिन्न प्रकारका वनस्पति तथा बोटविरुवाहरु रहेका छन्। यस्तै यहाँ चिडियाखाना पनि रहेको छ । चिडियाखानामा २० प्रजातिका २५० वटा जिवजन्तु रहेका छन्। चितुवा, भालु, स्याल, हरिण, निलगाइ, अजिंगर लगायतका जीवजन्तुहरु अवलोकन गर्न सकिन्छ।

    पछिल्लो पटक तिलोत्तमामा बाल रेल पनि सञ्चालन भएको छ। बालरेलबाट बार्षिक ३० देखी ३५ लाख आम्दानी हुने गरेको बनबाटिकाका अध्यक्ष शर्माले बताए। यहाँ ई–लर्निङ थिएटरको संरचना पनि रहेको छ।

    वनवाटिकैंभित्रै भ्युटावर रहेको छ। डेढ वर्ष अघि नै तिलोत्तमा बहुउदेश्यि टावर अर्थात भ्युटावरको उद्घाटन भएको हो। २०७९ साल चैत १५ गते नेकपा एमालेका अध्यक्ष केपी ओलीले टावरको उद्घाटन गरेका थिए। तर अझै सञ्चालनमा आएको छैन।
    तिलोत्तमा नगरपालिकाको ७० प्रतिशत र वनवाटिकाको ३० प्रतिशत साझेदारीमा ११ करोडको लागतमा भ्युटावर भएको हो।
    भ्युटावर बाहिरको काममा ढिलाइ भएका कारण यो सञ्चालनमा आउन सकेको छैन।

    बहुउदेश्यि टावर सञ्चालनमा आउन अझै केही समय लाग्ने तिलोत्तमा नगरपालिकाका इन्जिनियर प्रदीप वनले बताए। भ्युटावर सञ्चालनमा आएमा बनबाटीकामा आउने पर्यटक अझै बढ्ने अध्यक्ष बेलप्रसाद शर्माले बताए।

    विहिवार शंकरनगर विहार तथा अनुसन्धान केन्द्रको बनबाटिकाको साधारण सभा हुँदैछ। साधारण सभा मार्फत बोटानिकल गार्डेन, तारामण्डल निर्माण निर्माण गर्ने योजना प्रस्ताव गरिएको छ। त्यस्तै सिसमहल अर्थात सिसाको महल र स्मार्ट पार्किङ बनाउने योजना रहेको अध्यक्ष बेलप्रसाद शर्माले बताए। स्मार्ट पार्किङमा थोरै ठाउँमा धेरै गाडी पार्किङ गर्न सकिन्छ।