२०८१ मंसिर ९ गते, आईतवार १४:०२
  • होम स्टेको माध्यमले नेपालको पर्यटन क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सकिन्छ(अन्तर्वार्ता)

    जहाँपायो त्यही होम स्टे चल्दैन, पर्यटक भुल्ने वातावरण हुनुपर्छ

    देशभरका होमस्टेहरुको छाता संस्था होम स्टे महासंघको चौथो राष्ट्रिय सम्मेलन असोजको २६ र २७ गते चितवनको माडीमा भएको थियो। सम्मेलनबाट प्रेमशंकर मर्दिनिया अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका छन्।अघिल्लो कार्यकालमा पनि उनी अध्यक्ष थिए। होम स्टेलाई ग्रामीण पर्यटनको मुख्य आधारको रुपमा मानिन्छ। नेपालमा धेरै ठाउँमा होम स्टे खुलेका छन्। तर कतिपय होम स्टे व्यवस्थित हुन सकेको छैन। नेपालमा होम स्टेको अवस्था, पर्यटन प्रवद्र्धनमा यसको भूमिकाका बारेमा अमलटारी होम स्टेका अध्यक्ष समेत रहेको होम स्टे महासंघका अध्यक्ष प्रेमशंकर मर्दिनियासँग हामीले कुराकानी गरेका छौं।

    यहाँ फेरि पनि होम स्टे महासंघको अध्यक्ष चुनिनुभएको छ। गत कार्यकालमा के कति काम गर्नुभयो र अबको कार्यकालमा महासंघलाई कसरी अघि बढाउँदै हुनुहुन्छ?
    सुरुमा होमस्टे एशोसिएन थियो। एशोसिएनको रुपमा काम गर्दै हामीले होम स्टे महासंघको रुपमा लिएर गयौं। यस अघि बाँकेको गाभर भ्यालीमा कार्यक्रम गरेका थियौं। त्यहाँबाट हामीले महासंघमा जाने निर्णय गरेका हौं। गत कार्यकालमा होम स्टे प्रवद्र्धनका लागि विभिन्न कामहरु गर्यौ। नेपाल सरकार र सम्बन्धीत निकायहरुसँग छलफल गरि कानून, कार्यविधि बनाउने प्रक्रियामा अगाडि बढ्यौं र सबै प्रदेशमा होम स्टे महासंघको निर्वाचन सम्पन्न गर्यौ। अहिले राष्ट्रिय सम्मेलन सम्पन्न गरेका छौं।

    अबका हाम्रा केही चुनौतिहरु छन्। होम स्टेहरुलाई अगाडि बढाउन स्थानिय अर्गानीक उत्पादन, खानपानको अवस्था, भौगोलिक अवस्था, संरचना लगायत विभिन्न कुराहरुको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने छ। स्थानिय जनताहरुलाई जिवीकोपार्जनको हिसाबले अगाडि बढाउने, होम स्टेलाई क, ख र ग तोकेर बर्गिकरण गर्नुपर्ने छ। त्यसको लागि नेपाल सरकारले नीति बनाउन आवश्यक छ । होम स्टे व्यवसाय एउटा फरक व्यवसाय हो भन्ने हिसाबले त्यसका कानूनी कुराहरुमा लबिङ गर्नुपर्ने छ। अन्तराष्ट्रिय होम स्टे सम्मेलन गर्ने योजनाका तयारीमा पनि हामी छौं।

    पाहुनालाई स्वागत र सेवा होम स्टेले पनि गर्दछ र होटलले पनि गर्दछ। होटल–लज र होम स्टेमा खास फरक चाँही के छ ?
    होटल र होम स्टे फरक हो। होम स्टेमा पाहुनाको आथित्यताको लागि घरमा जे छ त्यही चिजहरुलाई प्रयोग गरिन्छ। आफ्नै घरमा उत्पादन भएका आलु मूला, साग, खुर्शानी, घरमै पालेका उत्पदानबाट मासुका परिकारहरु बनाएर पाहुनालाई दिइन्छ। अग्र्यानिक खानासँगै त्यहीको स्थानिय संस्कृतीबाट रमाउने वातावरण सिर्जना गरिन्छ।
    होटलमा व्यवसायीक रुपमा तयार पारिएका खानाका परिकारहरु हुन्छ। पाहुनाहरु मौलिकतामा रमाउने वातवारण हुँदैन। उनीहरुलाई आधुनिक प्रकारको भौतिक सुविधामा प्रदान गरिन्छ। होम स्टेमा सामूहिक रुपमा पाहुनालाई स्वागत गरिन्छ। तर होटलमा त्यस्तो हुँदैन।

    नेपालको सन्दर्भमा होम स्टेहरु कसरी चलेका छन् ?
    अहिले धेरै ठाउँमा होम स्टेहरु छन्। विभिन्न प्रचार प्रसारका माध्यमबाट आन्तरिक र बाहय पर्यटकहरु होम स्टेमा ल्याइने गरिएको छ। विद्यार्थी, कर्मचारी, संघ संस्थाबाट समुहगत रुपमा भ्रमण गर्नेहरु धेरैजसो होम स्टेमा बस्न आउँछन्। जहाँ जे जस्तो वातावरण छ त्यहीसँग रमाएर होम स्टेमा बस्ने गरेका छन्।

    होम स्टेको लागि उपयुक्त ठाउँ र वातवरण कस्तो हुनुपर्छ ?
    विभिन्न खालका पर्यटकहरु हुन्छन्। कोही कृषिमा केन्द्रीत भएर रमाउन चाहन्छन्। कोही वाइल्ड लाइफसँग आनन्द मान्ने खालका हुन्छन्। कतिपय सांस्कृतिक पक्षमा रुचि राख्छन्। कोही हिमाल चढेर रमाउन चाहान्छन्। कोही धार्मीक पुरातात्वीक सम्पदा अवलोकन गर्ने हुन्छन्। हाम्रो देशमा ठाउँ अनुसार फरक फरक खालको वातावरण छ। तराइमा आफ्नै किसिमको वातावरण र सस्कृती छ। पहाडमा आफ्नै किसिमको वातावरण र सस्कार छ। यस्तै कुनै खास विशेषता र भुल्ने वातावरण भएका ठाउँका होम स्टेमा पर्यटकहरु आकर्षित हुन्छन्।

    होम स्टेमा आन्तरिक धेरै जसो आन्तरिक पर्यटक मात्र आउँछन् कि विदेशी पर्यटकको पनि आकर्षण छ?
    अहिलेको परिवेशमा आन्तरिक पर्यटकहरु बढि छन्। क्रमिक रुपमा विदेशी पर्यटकहरुले पनि होम स्टे बारे बुझ्न थालेका छन्। होम स्टेको वातावरणमा रमाउनेहरु बडेका छन्। विभिन्न ट्राभल एजेन्सी र सञ्चार माध्यम मार्फतबाट होम स्टे प्रचार प्रसार भयो भने विदेशी पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ। होम स्टेको ब्राण्डलाई पनि हामीले बजारमा लैजान सक्नुपर्छ।

    पालिका पिच्छे होम स्टेको कुरा उठ्ने गरेको छ , धेरै ठाउँमा खुलिरहेका पनि छन्। सिमित संख्यामा बाहेक त्यती चलेको अवस्था छैन, किन होला ?
    जहाँपायो त्यही होम स्टे चल्न सक्दैन। त्यहाँको भौगोलिक अवस्था, वातवरण, सबै संरचना उपयुक्त हुनुपर्यो। आएका पाहुनाहरु दुई तिन दिन रमाउन सक्ने वातावरण हुनुपर्छ। यसबारेमा त्यहाँको स्थानिय सरकारले अध्ययन गरेर मात्र होम स्टे स्थापना गर्नुपर्छ। सानो बस्ती होम स्टे खोल्ने विषय त्यती ठूलो कुरा होइन, सेवा सत्कार, खोलिसकेपछि चल्ने खालको हुनुपर्छ।

    कतिपय होम स्टे भएका गाउँ ठाउँमा युवा पुस्ता देखिदैनन्। पाका पुस्ताले जसो तसो धानीरहेका छन्। युवा पुस्तालाई पनि समेट्न के गर्न सकिन्छ ?
    युवाहरुलाई मोटिभेट गरेर व्यवस्थापन गर्नुपर्यो। उनीहरुलाई पकाउने, पाहुनालाई सत्कार गर्ने कुराहरुमा तालिम दिनुपर्यो। युवाहरुलाई आकर्षित गर्ने खालका कार्यक्रम ल्याउनुपर्छ। पाहुनाहरु त्यहाँको परिवेश, संस्कृति, प्रकृति, जैविकि विविधतासँग रमाउन चाहान्छन्। उनीहरुलाई सहजीकरण गर्नुपर्दछ । अर्गानीक खाना नै होम स्टेको विशेषता हो।

    नेपालमा होम स्टेबाट पर्यटकिय विकासको सम्भावना कस्तो देख्नुभएको छ। राज्यले के गर्नुपर्छ?
    होम स्टेको माध्यमबाट नेपालमा पर्यटन क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सकिन्छ। राज्यले एउटा नीति बनाएर काम गर्न जरुरी छ। हजारौं युवाहरुले आफ्नै देश र आफ्नो माटोमा व्यवसाय गर्न सक्छन्। पर्यटनबाट नेपालको विकास समृद्धि र रोजगारीको हिसाबले ठूलो फरक ल्याउन सक्छ। पर्यटनको विकासको एउटा माध्यम होम स्टे पनि हो। सरकारले नीति बनाएर लगानी गरेर त्यो खालको व्यवसायमा केन्द्रीकृत गराउन आवश्यक छ। एउटा ठूलो होटल एक जनाले मात्र चलाउछ। होम स्टे मार्फत एउटा गाउँमा २०–३० वटा घरमा आँफैले व्यवसाय गरेका हुन्छन्। सामाजिक रुपमा सद्भाव कायम हुन्छ। गाउँ ठाउँमा केही गरौं भन्ने उर्जा हुन्छ।