२०८१ आश्विन २१ गते, सोमबार १३:१५
  • दसैंमा लुम्बिनीसँगै अन्य बुद्धस्थल घुम्ने योजना बनाउनुभएको छ ?

    यसरी घुम्न सकिन्छ रामग्राम, देवदह र तिलौराकोट


    लुम्बिनी– बडा दसैंका अवसरमा घुमघाम गर्ने प्रचलन पछिल्लो समय बढ्दै गएको छ। दसैंमा मान्यजनहरुबाट टीका लगाएपछि बचेको बिदाको समयमा परिवार तथा साथीभाइ भएर घुम्ने गरिन्छ। घुमघाम गर्नको लागि बुद्ध जन्मस्थल लुम्बिनी एउटा महत्वपूर्ण गन्तव्य हो। लुम्बिनीमा मायादेवी मन्दिर अनि मन्दिर भित्र गौतम बुद्ध जन्मेपछिको पहिलो पाइला छ। यहाँ शान्तिदीप, विश्वशान्ती स्तुप, लगायत दर्जन बढि गुम्बा र विहारहरु रहेका छन्।

    तपाईहरु मध्ये पनि कतिपय लुम्बिनी आउने सोँच बनाउनुभएको होला। लुम्बिनीको केही दुरी र आसपासमा अन्य बुद्धस्थलहरु पनि छ। ति ठाउँहरु पनि पुग्नुभयो भने लुम्बिनी घुमाइ पुर्ण हुन्छ। लुम्बिनीसँगै गौतम बुद्धले २९ वर्ष विताएको ठाउँ तिलौराकोट कपिलबस्तु जिल्लामा पर्दछ।तिलौराकोट सहित कपिलवस्तका अन्य बुद्धिष्ट साइटहरु, बुद्धको माओलीस्थल देबदह, बुद्धको अस्तीधातु रहेको रामग्रामलाई बृहत लुम्बिनी क्षेत्र अन्तर्गत पर्ने गर्दछ। तपाईको आफ्नै साधन वा रिजर्ब गाडीमा आउनुभएको छ भने बुद्धपरिपथमा पर्ने बुद्धस्थलहरु घुम्न सहज हुने छ। सुरुमा लुम्बिनी आउनुभयो भने तपाई जुन होटलमा बस्नुभएको छ। त्यहाँबाट अन्य बुद्धस्थलबारे जानकारी पाउन सक्नुहुन्छ।

    होटल संघ लुम्बिनीका अध्यक्ष गोविन्द ज्ञवालीले होटलमा आउने प्रत्येक पाहुनाहरुलाई रिसेप्सनबाट तिलौराकोट, देबदह, रामग्राम लगायतका बुद्ध स्थलबारे जानकारी दिने गरेको बताए। ‘होटलबाटै प्याकेजको रुपमा घुम्नेहरुको लागि हामीहरुले गाडी उपलब्ध गराउँछौं।’ उनले भने ‘प्याकेज नलिएर आफै जानुहुन्छ भने हामीले रिसेप्सन मार्फत अरु साइटहरुको बोरमा जानकारी दिने गरेका छौं। पछिल्लो समय हामीले रिसेप्सनिष्टहरुलाई यसबारे तालिम पनि गराएका छौं।’ ज्ञवालीले बुद्धिष्ट साइटहरु सहित बुटवल, अर्घाखाँची, पाल्पा, गुल्मी लगायतका पर्यटकीय स्थलहरुको बारेमा पनि जानकारी दिने गरिएको बताए।

    पछिल्लो क्रममा आफ्नै साधनमा यात्रा गर्नेहरु बढि छन्। आफ्नै साधनमा यात्रा गर्दा लुम्बिनी बाहेक अन्य साइटबाट पनि बुद्धस्थलहरुको यात्रा थाल्न सकिन्छ।

    लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धचरण भट्टराइले पूर्वबाट आउनेहरुले रामग्रामबाट बुद्धपरिपथको यात्रा सुरु गर्न सकिने बताए। ‘काठमाण्डौ वा पूर्वबाट स्थलमार्गबाट आउँदा सुरुमा रामग्राम आउन सकिन्छ। त्यहाँ बास बस्ने होटल पनि छन्। रामग्रामबाट देवदह आइ यहाँका साइट भिजिट गर्ने’ उनले भने ‘त्यसपछि बुटवल सैनामैना हुँदै कपिलबस्तुका साइटहरु घुमेर लुम्बिनी जान सकिन्छ।’ त्यसबाहेक देबदहबाट मणिग्राम भैरहवा हुँदै लुम्बिनी घुमेर तिलौराकोट पनि पुग्न सकिने भट्टराइको भनाइ छ। मणिग्रामबाट भैरहवा नगइ फर्साटिकर निस्केर पनि लुम्बिनी जान मिल्ने उनले बताए।

    यस्तै तपाई पश्चिमबाट आउनुभएको छ भने तिलौराकोटबाट यात्रा सुरु गर्न सक्नुहुन्छ। सुरुमा तिलौराकोट लगायत कपिलबस्तुका साइटहरु घुमेर लुम्बिनी जान सकिन्छ। कपिलबस्तुमा तिलौराकोट, निग्लीहवा, गोटिहवा, सगरहवा, कुदान, लगायतका बुद्धिष्ट साइटहरु छन्। कपिलबस्तुबाट लुम्बिनी आएर रामग्राम र देबदह पुग्न सकिन्छ।

    यस्तै बुटवलबाट यात्रा सुरु गर्नेहरुले कपिलबस्तु, लुम्बिनी हुँदै रामग्राम र देबदहको चक्र बनाउन सक्ने संस्कृति तथा पर्यटनविद डा. गितु गिरि बताउँछन्। उनले पारिवारिक तथा समूहगत रुपमा रिर्जव गाडीमा भ्रमण गरेकाले बुद्ध परिपथमा रहेका साइटहरुको भ्रमण गर्दा राम्रो हुने बताए। ‘यसरी घुम्दा लुम्बिनी सँगै बुद्धस्थलहरुको पनि प्रवद्र्धन हुन्छ।’ उनले भने।

    सार्वजनिक यातायातमा अहसज, कहिले चल्ला विद्युतीय बस

    लुम्बिनी सहित अन्य बुद्धस्थलहरु घुम्न नीजि र रिजर्ब गाडिमा सहज भएपनि सार्वजनिक यातायातबाट भने केही असहज हुने गर्दछ। सबै ठाउँ घुम्न गाडीहरु फेर्नुपर्दछ। बसबाट झरेर साइटमा पुग्न पैदल वा अरु साधन खोज्नुपर्छ। बुद्ध परिपथको कन्सेप्ट धेरै अघि आएको भएपनि यसको खास कार्यान्वयन हुन नसकेको संस्कृति तथा पर्यटनविद डा. गितु गिरि बताउँछन्। ‘आन्तरिक पर्यटकलाई प्रवद्र्धनलाई कनेक्टीभिटी सहज हुनुपर्छ । एउटा बुद्धिष्ट साइटबाट अर्कोमा पुग्न सिधा बस छैन।’ उनले भने ‘लुम्बिनी विकास कोषका गाडीहरु नचलेर अलपत्र छन्। बुद्ध परिपथको कन्सेप्ट धेरै अगाडी आयो कार्यान्वयन भएको छैन।”

    बुद्ध परिपथमा कहिले गुड्लान् विद्युतीय सवारी ?

    लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले कोषका विद्युतीय बस चल्न बाटो फुक्ने हो भने पर्यटकहरुलाई बुद्धिष्ट साइट घुम्न धेरै सहज बताए। भट्राईले विद्युतीय बस चलाउने प्रतिक्षामा रहेको भन्दै रुटहरु समेत तय भइसकेको जानकारी दिए। ‘एउटा रुट लुम्बिनीदेखी एयरपोट हुँदै रामग्राम पुन एयरपोर्ट हुँदै लुम्बिनी आउँछ।’ उनले भने ‘अर्को लुम्बिनीबाट कपिलबस्तु पुगेर त्यहाँका बुद्धिष्ट साइट घुमेर फर्किन्छ । यस्तै लुम्बिनीबाट बुटवलमा जितगढी फूलबारी जानेलाई छोडेर देबदहका साइटहरु घुमेर त्यहाँ फर्किन्छ ।’

    सरकारले बाटो फुकाइदिने वित्तीकै अन्तराष्ट्रिय स्तरको सेवा दिएर बुद्ध परिपथमा विद्युतीय बस सञ्चालन गर्ने कोषाध्यक्ष भट्टराइको भनाइ छ। विद्युतीय बस सञ्चालन भएमा लुम्बिनीसँगै अन्य बुद्धस्थलहरुको पनि प्रवद्र्धन हुने उनले बताए।