२०८१ आश्विन २१ गते, सोमबार १३:०८
  • अक्टोवर टर्‍यो तर भैरहवाको आकाशमा देखिएन जजिरा

    ‘अन्तराष्ट्रिय उडानको लागि अरु एयरलाइन्सबाट जवाफ सकारात्मक आउँछ, प्रक्रिया सुरु हुँदैन’


    भैरहवा-केही महिना अघि कुवेतको जजिरा एयरवेजले भैरहवाबाट पुन उडान थाल्ने खालको समाचार सार्वजनिक भएका थिए। अक्टोवरमा समर सेड्युल सकिएर विन्टर सिजन सुरु हुने र त्यो सेड्युलमा भैरहवाको उडान पनि पर्ने बताइएको थियो। नागरिक उड्यन प्राधिकरणले पनि फेरि उडान गर्न स्विकृती मागेको जनाएको थियो।

    अहिले अक्टोवर महिना टरिसकेको छ। तर भैरहवाको आकाशमा जजिरा देखिएको छैन। २०७९ जेठ २ गते गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले कुवेत -भैरहवा- कुवेत उडान सुरु गरेको थियो। सुरुमा हप्ताको ३ दिन उडान गरेको जजिराले सोही वर्ष भदौ ३१ गतेबाट दैनिक उडान गर्यो। दैनिक उडान एक महिना पनि टिक्न सकेन। उडान तालिका हप्ताको २ दिनमा झर्यो।

    पुसमा उसले खराब मौसमको कारण देखाउँदै उडान स्थगित गर्यो। फागुन २६ गतेबाट पुन हप्ताको ३ दिन उडान सुचारु गरेको जजिराले बैशाखमा व्यवसायीक कारण देखाउँदै फेरी उडान रोकेको थियो। त्यस यता उसको उडान भएको छैन।

    यस अघि अक्टोवरमा फेरी उडान गर्ने मौखिक रुपमा बताएपनि जजिराले अहिलेसम्म कुनै लिखित अनुमती नलिएको नागरिक उड्यन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए। ‘अक्टोबरबाट टुरीष्ट सिजन सुरु हुन्छ। त्यसपछि हामी भैरहवा पनि उडान गर्छौं भन्ने कुरा हामीसँग गर्नुभएको थियो। अनुमतीको लागि लिखित प्रस्ताव गर्नुभएको छैन। उनले भने ‘हामीसँगको कुराकानीमा फेरि उडान गर्छौ भनिरहनुभएको छ।’

    भैरहवाका पर्यटन व्यवसायी तथा सोट्टो लुम्बिनीका पूर्व अध्यक्ष सञ्जय बजिमयले जजिराले अब भैरहवाबाट उडान नगर्ने संकेत दिइसकेको बताए। ‘उनीहरुले हामीसँग फ्लाइट छैन भन्छ। अरु ठाउँमा नयाँ उडान सुरु गरेको छ।’ उनले भने ‘भैरहवामा जजिराले आफ्नो कार्यालय नै बन्द गरिसकेको छ। कर्मचारी पनि हटाइसक्यो।’ गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अहिले हप्तामा एक पटक मंगलबार क्वालाम्पुर भैरहवा काठमाडौँ उडान हुने गर्दछ। त्यो बाहेक अरु कुनै अन्तराष्ट्रिय उडान छैन।

    नागरिक उड्यन प्राधिकरणले भने भैरहवाबाट उडानको लागि अन्तराष्ट्रिय एयरलाइन्स कम्पनीसँग नियमित रुपमा छलफल भइरहेको बताएको छ। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले महिनामा २ पटक एयरलाइन्सहरुसँग भैरहवाबाट अन्तराष्ट्रिय उडानको लागि कुराकानी हुने गरेको सुनाए। ‘हामीले महिनाको २ पटक एयरलाईन्सका प्रतिनिधिलाई बोलाएर छलफल गर्छौं। तपाईहरु भैरहवा पनि जानुपर्यो भन्दा हुन्छ हामी जान्छौं भन्नुहुन्छ।’ उनले भने ‘जवाफ सकारात्मक आउँछ। उहाँहरुले अध्ययन गर्दा ठाउँ हेर्दा ठीक छ राम्रो छ पनि भन्नुहुन्छ। उडानको प्रक्रिया अघि बढाउने र अनुमती माग्ने काम भएको छैन ।’

    यता स्थानिय व्यवसायी तथा संघसस्थाहरुले भैरहवाबाट अन्तराष्ट्रिय उडान हुनुपर्ने माग गर्दै दबाबमुलक कार्यक्रम सार्वजनिक गरेका छन्। सिद्धार्थ सञ्जाल रुपन्देहीले मंगलबार प्रधानमन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाएको छ। विमानस्थल चलायमान नहुने हो भने आफूहरु व्यवसाय बन्द गरेर विस्थापित हुनुपर्ने भन्दै सञ्जालले धर्ना देखी आन्तरिक उडान बन्द गर्नेम्मको चेतावनी दिएको छ। सञ्चालका महासचिव समेत रहेका पर्यटन व्यवसायी सञ्जय बजिमयले संघर्षका कार्यक्रम अन्तर्गत सबै निकायहरुमा पत्राचार र ज्ञापनपत्र बुझाउने बताए। उनले फेरी एक पटक काठमाडौँ पुगेर प्रधानमन्त्रीसँग कुरा गर्ने जानकारी दिए।

    अहिलेको अवस्थामा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल चल्ने भनेको बैदेशिक रोजगारमा जाने र आउने यात्रुका कारण हो। बैदेशिक रोजगारीको प्रक्रियाको लागि श्रम स्वीकृतीको व्यवस्था त भैरहवामा छ। तर बैदेशिक रोजगारीको अनुमती, मेडिकल र अन्य प्रमाणीकरणको सुविधा यहाँ छैन। यी केही सुविधाहरु नहुँदा भैरहवामा अन्तराष्ट्रिय एयरलाइन्सहरु आकर्षित हुन नसकेको हुन सक्ने नागरिक उड्यन प्राधिकरणका प्रवक्ता निरौला बताउँछन्। बैदेशिक रोजगार र यात्रासँग सम्बन्धी काम सबै काम भैरहवाबाटै हुने हो अन्तराष्ट्रिय विमानस्थल चहलपह हुने उनको भनाइ छ।