२०८१ आश्विन २१ गते, सोमबार ११:०५
  • एक महिनामा नेपाल भित्रिने पर्यटकको संख्या हालसम्मकै उच्च

    अक्टोवरमा मात्र एक लाख १७ हजार पर्यटक आए

    काठमाडौँ -सन २०२३ को अक्टोवर महिनामा एक लाख १७ हजार ३०७ पर्यटक नेपाल घुम्न आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार एक महिनामा नेपाल घुम्न आउने पर्यटकको यो संख्या अहिलेसम्मकै उच्च हो।

    यस अघि २०१९ को अक्टोबरमा आएका पर्यटकको संख्या उच्च थियो। कोभिडअघि उक्त वर्ष अक्टोवर महिनामा एक लाख १३ हजार ८१६ पर्यटक नेपाल आएका थिए। कोरोना प्रभावको बेला सन् २०२० मा एक हजार ८३१, सन् २०२१ मा १५ हजार ७१५ पर्यटक मात्र आएका थिए। अघिल्लो वर्ष सन् २०२२ मा ५२ हजार १२१ पर्यटक नेपाल आएका थिए।

    अक्टोवर महिनामा सबै भन्दा धेरै भारतबाट १८ हजार ४८० पर्यटक नेपाल आएका छन्। भारतपछि अमेरिकाबाट १४ हजार ८७९ पर्यटकले नेपाल भ्रमण गरेका छन्। यस्तै, बेलायतबाट आठ हजार २१७, चीनबाट ६ हजार ८८० पर्यटक नेपाल आएका छन्।

    अष्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट पाँच हजार ९१६, फ्रान्सबाट पाँच हजार २७१, बंगलादेशबाट चार हजार २९२, श्रीलंकाबाट दुई हजार ५०७ र इटलीबाट दुई हजार ४६७ पर्यटक आएको नेपाल पर्यटन बोर्डले जनाएको छ। सन् २०२३ को जनवरीदेखि अक्टोबरसम्ममा आठ लाख ९ हजार ६७८ पर्यटक नेपाल भित्रिसकेका छन्।