२०८१ आश्विन २१ गते, सोमबार १३:०३
  • ‘भैरहवामा अन्तर्राष्ट्रिय उडान नहुँदा एयरपोर्टसँगै निजी क्षेत्र र बैंक पनि डुब्छ’

    मंसिर २५ पछि आन्तरिक उडान ठप्प पारेर सडकमै सुत्ने चेतावनी

    भैरहवा-मंगलबार विहान गौतमबुद्ध विमानस्थलको अन्तर्राष्ट्रिय उडान कक्षमा फाट्ट फुट्ट मानिस र सवारी साधन थिए। नेपाल एयरलाईन्सको जहाजमा मलेसीयाबाट आउनेलाई स्वागत गर्न आफन्तहरु गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए। मंगलबार विहान एकछिनको दृष्य बाहेक अरु बेला विमानस्थलको अन्तराष्ट्रिय उडानको कक्ष सुनसान देखिन्छ।

    अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको डेढ वर्ष भइसक्दा अहिले नेपाल बायुसेवा निगमले एकतर्फी मात्र उडान गरेको छ। अन्तराष्ट्रिय विमानस्थल चलायमान नुहुँदा व्यवसायीहरु आक्रोशित भएका छन्। सिद्धार्थ सञ्जाल भैरहवाले त चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। अहिले पत्राचार र भेटघाटको काम भइरहेको, मंसिर २० गतेपछि विरोध प्रदर्शन, धर्ना लगायतका कार्यक्रम गर्ने सिद्धार्थ सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए।

    ज्ञवालीले बुद्ध परिपथसँग भने ‘अहिले हामीले संघ संस्था र जिल्ला प्रसासन, नगरपालिका, प्रदेश सरकार सबैलाई जानकारी पत्र दिने, त्यसपछि केही दिनमा काठमाडौँ गएर प्रधानमन्त्री लगायत नेपाल एयरलाइन्सका जिएमहरुसँग भेटघाट गर्ने कार्यक्रम छ। मंसिर २० गतेबाट विरोध प्रदर्शन धर्ना, आन्तरिक विमानस्थल बन्द गराउन टिकट नकाट्ने , मंसिर २५ गतेबाट आन्तरिक उडान अनिश्चितकालिन बन्द गर्ने छौं । त्यसपछि पनि माग सुनुवाइ नभए अर्को चरणको आन्दोलन गर्छौं। त्यो काठमाडौँ केन्द्रीत आन्दोलन हुन सक्छ । यहाँबाट उद्योगी व्यवसायीदेखी लिएर सयौंको संख्यामा काठमाडौं गएर आन्दोलन गर्नुपर्ने हुन सक्छ।

    सिद्धार्थ सञ्जाल रुपन्देहीका महासचिव तथा सोट्टो लुम्बिनीका पूर्व अध्यक्ष संजय बजिमयले गौतमबुद्ध विमानस्थल नचल्दा निजी क्षेत्रको अर्बौ लगानी डुब्ने भएकाले सडकमा उत्रने बताए। अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा यहाँका कुनै पनि क्षेत्र चलायमान नहुने भन्दै सरकारको लगानी, निजी क्षेत्र, बैंक सबै डुब्ने उनको भनाइ छ।

    बुद्ध परिपथसँग बजिमयले यसरी आफ्नो कुरा व्यक्त गरे।

    गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा यहाँका कुनै पनि क्षेत्र चलायमान हुँदैन । पर्यटन क्षेत्र नचलिकन चाहे कृषि होस्, चाहे निर्माण, गार्मेन्ट होस् या हेण्डीग्राफ होस् कुनै व्यापार चल्दैन। एउटा पर्यटक आउँदा ९ जनाले रोजगार पाउँछन।
    अहिले जुन पर्यटक आइरहेको छ। यो गुणात्मक होइन संख्यात्मक हो । उनीहरु लामो समय बस्ने खालका होइनन्। डाइरेक्ट एयर कनेक्टीभिटीबाट आउने पर्यटक गुणात्मक पर्यटक हो। जुन हप्ता १५ दिन बसेर लुम्बिनी सहित नेपाल भ्रमण गरेर जाने गर्दछन्। त्यसबाट बल्ल समग्र होटल, ट्राभल लगायत नीजि क्षेत्र सम्पूर्ण चलायमान हुन्छ। गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल नचल्दा एयरपोर्टको लगानी त धरापमा पर्यो, यससँगै नीजि क्षेत्रको दोब्बर लगानी जोखिममा पर्ने अवस्था बनेको छ।

    गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल ७ अर्बको प्रोजेक्ट हो। त्यसमा रिङरोड र कार्गो अन्य थप गरेर १० अर्बको प्रत्यक्ष लगानी छ। मुआब्जा जोड्दा ४३ अर्ब हुन आउँछ। समग्र लुम्बिनीमा नीजि क्षेत्रको सय अर्ब भन्दा कमको लगानी छैन। रुपन्देही जिल्लामा निजी क्षेत्रको अन्तराष्ट्रिय विमानस्थलको लागत भन्दा दोब्बर अर्थात २० अर्ब जति लगानी भएको छ। ५ वटा पाँचतारे होटल नयाँ आइरहेको छ। अन्य १५–२० वटा तारे होटलहरु बनिरहेका छन् । हामी नै एयरपोर्टको छेउछाउमा करोडौ लगानी गरेर काम गरिरहेका छौं। गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल नचल्ने होइन, चल्छ। यसलाई नचलाइएको र चलाउन नचाहेको हो। केन्द्रले यसलाई हेर्ने दृष्टीकोण फरक भएको हो। जबसम्म संघियता अनुसार विकेन्द्रीकरण हुँदैन तबसम्म आर्थिक अवस्था चलायमान हुँदैन। त्यही भएर हामी आन्दोलनमा गइरहेका र्छौं। आउने एक महिना पछि उहाँहरुले महसुस गर्नुहुने छ।

    समग्र क्षेत्रमा कार्टेलिङ गरेर केन्द्रले हामीलाई झारा टार्ने हिसाबले नाम मात्रको हप्तामा एउटा वान वे फ्लाइट दिएको छ । नेपाल एयरलाईन्सले २१ जना कर्मचारी पालेका छन्। करोडौं खर्च गरेर त्यो घाटामा छ। हामीले हिमालय एयरलाईन्स र जजिरा एयरलाईन्स ल्याएको हो। अफिस सञ्चालन गरेको हो। जजिरा एक वर्ष ८० -९० प्रतिसत अक्कुपेन्सीमा चलेको हो। यताबाट जाने रुटको हकमा हिमालयन एयरलाईन्स पनि ८० प्रतिसत अक्कुपेन्सी थियो। तर ३ महिनापछि नै हिमालयन एयरलाइन्सले अप्रेसन ड्रप गर्यो। जजिराले १ वर्षपछि डिसेम्बर -जनवरीमा आइएलएसको इस्यु देखाएर भिडिटीटीको कारणले रोक्यो। रोकिएपछि रोकियै भयो।

    जसरी नेपाल एयरलाईन्स आउन सक्छ,जजिरा आउन सक्छ,अरु एयरलाईन्स किन आउँदैन ? थाइ स्माइललाई विस्थापित गरेर थाइ एयरलाईन्स आयो थाइ स्माइल हामीले माग्दा हामीले किन पाएनौं? बजेट एयरलाइन्स पनि किन आउँदैन यहाँ? यहाँबाट दिल्ली लखनौं बनारस कनेक्टीभिटी किन हुँदैन? गल्फ कन्ट्री यहाँबाट मेजर लोड छ ट्राफिकलाई, यहाँबाट कनेक्टीभिटी डाइरेक्ट किन हुँदैन ? सबै केन्द्रीकृत भयो। आजको दिनमा काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले धान्न नसक्ने भएको छ। ३ सय उडान अवतरणको क्षमता छ भने ५ सय चलाउनुपर्ने अवस्था छ। २४ घण्टा चलाउनुपर्ने अवस्था छ। हामीकहाँ र पोखरामा एउटा पनि नियमित फ्लाइट छैन। हाम्रो आन्दोलन आउने महिनापछि मंसिर २५ पछि सशक्त रुपमा जाने छ। हामी बाटोमा उत्रिने छौं। हाम्रो लगानी डुब्ने अवस्थामा पुगेका छ। एयरपोर्ट पनि डुब्छ, हामी निजी क्षेत्र मात्र होइन ठूलो परियोजना डुब्नु भनेको बैंक करप्ट हुनु हो। बैंक डुब्नु भनेको नेपाल सरकार डुब्नु हो।

    हामी अन्तराष्ट्रिय उडान गराएरै छाड्र्छौ। भएन भने हामीले आन्तरिक उडान पनि हुन दिन्नौं। अन्तराष्ट्रिय उडान भएन भने हामी बेलहिया बोर्डर पनि जाम गर्छौ हामी यहाँको आयात निर्यात पनि रोक्छौं, एलसी नखोल्नुस भनेर निजि क्षेत्र कर्पोरेट हाउसहरुलाई हामीले अनुरोध गरिसक्यौं। हामी बाटोमै सुत्छौं। हामीसँग सिद्धार्थ सञ्जालमा ५० बढि संघ संस्थाहरु आबद्ध भइसकेका छन्। यसमा एक्वेवद्धता बढिरहेको छ।