२०८३ जेष्ठ २६ गते, मंगलवार ०२:००
  • तिलोत्तमाको औद्योगिक व्यापार मेलामा पर्यटकीय सम्भावनाको पहिचान र गन्तव्यको खोजी गरिने

    तिलोत्तमा-रुपन्देहीको तिलोत्तमामा हुन लागेको औद्योगिक व्यापार मेला मार्फत पर्यटकीय सम्भावनाहरुको पनि खोजि गरिने भएको छ। तिलोत्तमा उद्योग बाणिज्य संघको आयोजनामा मणिग्राममा मंसिर १ गतेबाट तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवद्र्धन महोत्सव हुँदै छ।

    पर्यटन प्रवद्र्धन पनि मेलाको मुख्य उदेश्य रहेको शुक्रबार मेला स्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो। ‘तिलोत्तमामा पर्यटनको सम्भावनासँगै ती पर्यटकीय स्थानको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी गर्ने छौं। मेला मुल आयोजक समितिका संयोजक गुणनीधि भण्डारी माधवले भने।मंसिर १२ गतेसम्म सञ्चालन हुने मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत बिभिन्न प्रकृतिका ३०० स्टलहरू रहने उनले जानकारी दिए ।

    मेलाको ५ लाख दर्सकले अवलोकन गर्ने र १५ करोड बराबरको कारोबार हुने आयोजनकको अपेक्षा छ। पर्यटन प्रवद्र्धनसँगै स्वदेशी उत्पादनको प्रदर्शनी, नयाँ प्रविधिको खोजी, कला र संस्कृतिको जगेर्ना, कृषिको व्यवसायीकरण, युवा उद्यमीलाई प्रोत्साहन, स्वरोजगार श्रृजना, गोष्ठी र अन्तक्रिया पनि मेलाको मुख्य उद्देश्य रहेका छन्।
    जिल्लाकै मध्यभागमा पर्ने तिलोत्तमा नगरपालिकामा लगानीको राम्रो सम्भावना रहेको र यस क्षेत्रमा उद्यमशिलताको बिकासको माध्यमबाट नयाँ औद्योगिक लगानी र व्यबसायिक क्षेत्रहरुको खोजी गरी रोजगारीका अवसरहरु सिर्जना गर्नका लागि मेला कोशेढुंगा सावित हुने आयोजक तिलोत्तमा उद्योग बाणिज्य संघको विश्वास छ।

    मेलाको प्रमुख आकर्षणको रुपमा उखु पेल्ने र खुदो वनाउने उपकरण राखिने छ । नेपाली कला, संस्कृति, विभिन्न जातजातीका भेषभुषामा नृत्य प्रतियोगिता, जी बब, मिष्टर डी, मिष्टर र्यापर आफिम, र्यापर लाहुरे, तिलोत्तमा लोक आइडल सिजन टु, राष्ट्रिय तथा स्थानीय ख्याती प्राप्त कलाकारहरुको सांस्कृतिक कार्यक्रम, बिद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, मम्मी डान्स आइकन, लगायतका प्रतियोगिता सहभागी गराइने छ।

    मेलामा स्थानीय उद्योगी ब्यवसायीका लागि स्टलमा तोकिएको शुल्कमा ३० प्रतिसत छुटको ब्यवस्था गरिएको संघका महासचिव राजकुमार पाण्डेले बताए। तिलोत्तमा उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार खिमानन्द भट्टराईले अहिलेको आर्थिक मन्दीमा बजारलाई चलायमान बनाउन मद्दत पुग्ने उल्लेख गरे। मेला संचालनका ५५५ सदस्यीय मुल समिति, सल्लाहाकार समिति र विभिन्न उपसमिति गठन गरिएको छ । प्रदर्शनी स्थलमा सचिवालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने स्टल, गेट तथा अन्य निर्माणको काम भैरहेको छ ।