२०८१ आश्विन २१ गते, सोमबार १३:०९
  • लुम्बिनीमा भियतनामका पर्यटक हालसम्मकै उच्च, अक्टोवरमा मात्र २२५३ जना आए

    लुम्बिनी -गत अक्टोवरमा २ हजार २५३ भियतनामका पर्यटकहरु बुद्ध जन्मस्थल लुम्बिनी आएका छन्। सन २०२३ को अक्टोवर महिनामा नेपाल र भारत बाहेक तेस्रो मुलुक मध्ये सबै भन्दा बढि भियतनामका पर्यटक आएका हुन्।
    लुम्बिनीमा एक महिनामा यती धेरै भियतनामका पर्यटक आएको पहिलो पटक हो। यसअघि सन् २०१९ को नोभेम्बर महिनामा २ हजार १३० जना भियतनामीहरु आएका थिए।

    होटल संघ लुम्बिनीका अध्यक्ष गोविन्द ज्ञवालीले भियतनामको पर्यटकहरु बढ्दा लुम्बिनीको पर्यटन क्षेत्रमा राम्रो मद्दत पुगेको बताए। ‘पहिला त भियतनामी पर्यटक कमै देखिन्थे। पछिल्लो समय अरु देशको पर्यटक भन्दा भियतनामका बढि छन् ।’ उनले भने ‘कोभिड अघिको समय भन्दा ८–१० प्रतिसत नै बढेको देखिएको छ । आगामी दिनलाई पनि भियतनामी पर्यटकहरुको बुकिङ राम्रो छ। लुम्बिनीको पर्यटनमा एक खालको चहलपहल बढाएको छ ।’ लुम्बिनी आएका भियतनामीहरु कपिलबस्तु पनि पुग्ने गरेको ज्ञवालीले बताए।

    भियतनामका पर्यटकहरु केही मात्रामा गुणात्मक पर्यटक पनि हुन्। उनीहरु खर्च गर्न सक्ने खालका पर्यटक भएको लुम्बिनी विकास कोषका सुचना अधिकृत हरि राइले बताए। ‘अहिलेको अवस्थामा भारतका हजार पर्यटक बराबर भियतनामका १०–१२ जना पर्यटक आउनु राम्रो हो।’ उनले भने ‘उनीहरु केही दिन लुम्बिनीसँगै आसपासका ठाउँ पनि घुम्छन््। महँगा गोल्डेन प्लेटेड मुर्तिहरु किन्नेहरु प्राय भियतनामी छन्।’

    भियतनामले पछिल्लो समय अर्थतन्त्रमा निकै प्रगति गरेको छ। अर्थतन्त्रमा प्रगति गरेकै कारण भियतनामीहरु घुम्ने क्रम बढेको र त्यसको प्रभाव लुम्बिनीमा पनि परेको कोषका सुचना अधिकृत राइको भनाइ छ। ‘भियतनाम सुपर पावर भइसक्यो । उसको राम्रोसँग अर्थतन्त्र बढेको छ । अमेरिकाको चिनमा भएको लगानी भियतनाम तिर सरेको छ।’ उनले भने ‘अर्थतन्त्र बलियो भएपछि घुम्ने क्रम पनि बढेको हो। बुद्धिष्ट मुलुक भएकाले लुम्बिनीमा पनि भियतनामका पर्यटकको आगमन बढेको हो।’

    अमेरिकाले लगानी विविधीकरण गर्ने एउटै देशमा नराख्ने भनेर तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनसँग व्यापार युद्ध सुरु गरेका थिए। उक्त नीति अनुसार एप्पल कम्पनीले चिनबाट केही सेयर निकालेर भारत र भियतनाममा लग्यो। भारतमा एप्पलको बजार खासै फस्टाउन सकेन। तर भियतनामले राम्रो गर्यो। एप्पलको आइफोन सफल भएकाले भियतनाममा त्यहाँ अरु विदेशी लगानी पनि भित्रिएको कोषका सूचना अधिकृत राइको भनाइ छ।

    विगतमा अमेरिका र भियतनामको लामो युद्ध भएको थियो। युद्धको दुस्मनी विर्साउन र त्यसको गुन तिर्न पनि अमेरिकाले भियतनाममा लगानी बढाइरहेको छ। अर्थतन्त्र मजबुद बन्दै गएपछि भियतनाममा देश बाहिर घुम्ने क्रम पनि बढेको हो। भियतनामको पर्यटक आगमनले लुम्बिनीको पर्यटन क्षेत्रमा उत्साह पनि थपिएको छ।

    यस्तै लुम्बिनीमा अक्टोवर महिनामा मात्र भारत बाहेक तेस्रो मुलुकबाट कुल ९ हजार ३७४ पर्यटक आएका छन्। भियतनामपछि सबै भन्दा बढि श्रीलंकाबाट २ हजार १२५, चिनबाट ९८० पर्यटक आएका छन्। म्यानमारबाट ५७१ आएका छन्। अरु तेस्रो मुलुकबाट अक्टोवरमा लुम्बिनी आउनेको संख्या ५ सय भन्दा कम छ।

    अहिले लुम्बिनीमा कोभिड अगाडिको तुलनामा पासपोर्ट वहाक तेस्रो मुलुकका पर्यटक आगमन आधा जसो मात्र देखिन्छ । सन् २०१९ को अक्टोवर महिनामा १८ हजार ५७७ विदेशी पर्यटक लुम्बिनी आएका थिए। सन २०२३ सुरु भएयता १० महिनामा लुम्बिनी आउने तेस्रो मुलुकका पर्यटकको संख्या ५५ हजार ३२२ रहेको छ।