२०८१ आश्विन २१ गते, सोमबार ११:००
  • ‘के आवश्यक सोचेनौं, कमिसनको चक्करले महंगो ऋणमा अन्तराष्ट्रिय विमानस्थल बनायौं’

    ‘सुनौली–पोखरा ४ लेन सडक बनाएको भए मुक्तीनाथमा भारतीय पर्यटकको ओइरो लाग्थ्यो’

    तिलोत्तमा-नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले कमिसनको चक्करमा महंगो ऋणमा अन्तराष्ट्रिय विमानस्थल बनाइएको बताएका छन्। उनले मुलुकको आवश्यकता के हो भन्ने नसोँची ऋणमा पूर्वाधार थोपरिएकाले समस्या भएको बताए। तिलोत्तमामा शुक्रबारबाट सुरु भएको तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै सांसद भण्डारीले एकातिर गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल चल्न नसक्नु र अर्को तिर ऋणको महंगो व्याज तिर्नुपरेको उल्लेख गरे। ‘अन्तराष्ट्रिय विमानस्थल पनि चल्छ, राजधानी पनि यहीँ छ भनेर होटल खोलेको खोल्यै, रिण लिएको लियै भयो, होटल पनि चल्न छोडे, एयरपोर्ट पनि चल्न सकेन।’ उनले भने ‘पोखरामा पनि त्यही गर्यौं। चाइनाबाट सबै भन्दा महंगो ऋण लियौं। ऋण किलएपछि कमिसन खान पाइने। अब त्यो रिणको व्याज हामीले तिर्न सक्ने अवस्था छैन। देशमा के आवश्यक थियो भनेर हामीले सोँचेनौं।’

    भण्डारीले अन्तराष्ट्रिय विमानस्थल भन्दा पोखरासम्म ४ लेनको सडक बनाएको भए मुलुकमा ठूलो फाइदा हुने उल्लेख गरे। ‘यदी हामीले सुनौलीबाट पोखरा हुँदै मुक्तीनाथ जाने ४ लेनको बाटो बनाइदिएको भए आज ४० करोड भारतीय पोखरा हुँदै मुक्तीनाथ दर्सन गर्न जान्थे।’ उनले भने ‘थुप्रो होटल चल्थे, कुना कुनाको जग्गाको भाउ पनि महँगो हुन्थ्यो।’ भण्डारीले शासन गर्नेहरुले देशलाई लुट्ने थलो बनाएको बताए। उनले युवा पिडी बाहिरिँदा अवस्था विकराल हुन सक्ने भन्दै बेलैमा सोँच्नुपर्ने उल्लेख गरे।

    कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले आर्थिक क्षेत्रमा देखिएको मन्दी हटाउनलाई मेला महोत्सवले सहयोग पूग्ने बताए। मेला स्थल जग्गाधनी मुक्ती पाठकले मेलाले तिलोत्तमा क्षेत्रका ब्यवसायीलाई आर्थिक चलायमान बनाउन सहयोगी बन्ने उल्लेख गरे।

    जिल्ला समन्वय समिति संयोजक उमाकान्त चपाईले युवालाई स्वदेशमा नै रोक्न आवश्यक रहेकोमा जोड दिए। बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले आर्थिक मन्दीको यस समयमा मेला आयोजना हुनु सकारात्मक रहेको बताए। तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले महोत्सव सफल बनाउन आग्रह गरे । उनले मेला लगाउन स्थायी संरचना बनाउने प्रतिबद्धता व्यक्त गरे।

    कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य केशव भण्डारी, बुटवल उद्योग बाणिज्य संघ अध्यक्ष हरि प्रसाद अर्याल, नेकपा एमाले तिलोत्तमा नगर अध्यक्ष तामनाथ पाण्डे, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बेल प्रसाद शर्मा, जनमोर्चा नगर अध्यक्ष हर्क बहादुर टण्डन, तिलोत्तमा ५ का वडा अध्यक्ष रमेश डुम्रे, मेला सह आयोजक सस्था तिलोत्तमा ब्यापार संघका अध्यक्ष बाबुलाल भुसाल, सहआयोजक सस्था तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जिएम लगायतले आ आफ्ना भनाइ राखेका थिए।

    मेला उद्घाटन पूर्व आमा समूह, क्लब, संघ संस्था,टोल बिकास संस्थालगायतको सहभागितामा विभिन्न जात जातिको भेष भुषासहितको झाकी र प्रभात फेरि कार्यक्रम भएको थियो। मेला सचिवालयबाट सुरु भएको प्रभातफेरी कफि कम्पनी, मणिग्राम चोक, क्रिमसन अस्पताल हुँदै मेला सचिवालयमा पुगेर समापन भएको थियो। सो अवसरमा उत्कृष्ट झाकी प्रदर्शन गर्ने समुहलाइ पुरस्कार प्रदान गरिएको थियो।

    थारु सास्कृतिक मयुर नाच बुटवल १९ प्रथम भएको छ भने श्रीकृष्ण युवा क्लब तिलोत्तमा १२ तुकतुकिया द्वितीय, तिलोत्तमा बहुमुखी सहकारी सस्था तिलोत्तमा २ तृतीय र मिलन आमा समुह तिलोत्तमा १४ टिकुलिगढ र जागृति आमा समूह तिलोत्तमा ५ लाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।

    मेलामा मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं बिक्री हुने संघका महासचिव राजकुमार पान्डेले बताए।

    प्रदर्शनीमा स्वदेशी उत्पादन, बजार व्यवस्थापन, उपभोक्तामाझ नयाँ प्रविधि र वस्तुको पहिचान एवं प्रवर्द्धनको माध्यमबाट आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको मेला आयोजक मुल समितिका संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गुणानिधी भन्डारी (माधव)ले बताए। मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत बिभिन्न प्रकृतिका ३०० स्टलहरू रहेका छन्।