२०८१ आश्विन २१ गते, सोमबार १३:०६
  • तिलोत्तमामा पर्यटकीय मार्ग मात्र होइन, पर्यटक भुलाउने गन्तव्यहरु पनि छन्

    ‘पर्यापर्यटन, बुद्धकालिन सभ्यता र ऐतिहासिक बस्तीहरुको अवलोकन गर्न सकिने’

    तिलोत्तमा-रुपन्देहीको तिलोत्तमा नगरपालिकाको ६ लेन सडकमा यात्रा गर्दा जो कोहीलाई पनि निकै आनन्द महसुस हुन्छ। दायाँबायाँ हरियाली, बीच सडकमा गौतमबुद्धका आकर्षक मूर्तिहरु छन्। तिलोत्तमा नगर क्षेत्र अन्तर्गत १४ किलोमिटर सडकको विच भागमा ४० ठाउँमा बुद्धको प्रतिमा राखिएको छ।

    यसबाट तिलोत्तमा नगरपालिकामा प्रवेश गर्नेहरुलाई लुम्बिनीको नजिक आएका छौं भन्ने अनुभुती हुन्छ। बेलहिया नाकाबाट प्रवेश गरेका अनि भविश्यमा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेकाहरु लुम्बिनी घुमेपछि तिलोत्तमाको ६ लेन सडक भएर बुटवल हुँदै पाल्पा, पोखरा, मुक्तीनाथ जाने गर्दछन्। आकर्षक अनि पर्यटक हिड्ने सडक भएकाले तिलोत्तमाको ६ लेन सडक मुख्य पर्यटकीय मार्गको रुपमा रहेको छ।

    तिलोत्तमालाई पर्यटकीय मार्गको रुपमा पहिचान गराउने सिद्धार्थ राजमार्ग मात्र छैन। बुद्ध परिपथ सडक पनि छ। बुद्धजन्मस्थल लुम्बिनीबाट बुद्धको मावली देबदह जाने बाटो बुद्ध परिपथ हो। देवदहबाट तिलोत्तमाको सिवपुर, चारनम्बर, मणिग्राम हुँदै सुद्धोधन गाउँपालिकाको फर्साटिकर सुर्यपुरा हुँदै लुम्बिनी जाने सडकलाई बुद्ध परिपथ सडक भनिन्छ। लुम्बिनीबाट बुद्धपरिपथ सडक कपिलबस्तु पुग्छ। तिलोत्तमामा पर्यटकीय मार्ग मात्र छैन। पर्यटक भुलाउने गन्तव्यहरु पनि छन्।

    शंकरनगर बनविहार तथा अनुसन्धान केन्द्र अर्थात् शंकरनगर तिलोत्तमा नगरपालिकामा बढि भिडभाड हुने गन्तव्य हो। शंकरनगरमा ७५ विघा क्षेत्रफलमा रमणीय पार्क रहेको छ। यहाँ मुलुकका विभिन्न भागबाट घुम्न आउने गर्दछन्। पछिल्लो समय भारतीय पर्यटकहरु पनि देखिन्छन्। जाडोयाम त्यसमा पनि छुट्टीको दिन वनभोज खान आउनेहरु पार्कभित्र भरिभराउ हुन्छन्। वनवाटिकामा विभिन्न प्रकारका वनस्पति तथा बोटविरुवाहरु रहेका छन्। त्यसबाहेक चिडियाखाना पनि रहेको छ। चिडियाखानामा चितुवा, भालु, स्याल, हरिण, निलगाइ, अजिंगर लगायतका जीवजन्तुहरु रहेका छन्। यहाँ २१ प्रजातिका डेढ सय भन्दा बढी जीवजन्तु रहेका छन्। पछिल्लो पटक तिलोत्तमामा बाल रेल पनि सञ्चालन भएको छ।

    वनवाटिकमा भित्रै भ्युटावर पनि तयार भएको छ। भ्युटावरको डेढ वर्ष अघि नै उद्घाटन भएपनि केही काम नसकिएकाले सञ्चालनमा आउना सकेको छैन। बहुउदेश्यि भ्युटावरको भवनमा होटल लगायत व्यवसायीक कक्ष रहने छ। भ्युटावरको माथिबाट टेलिस्कोप क्यमराबाट बुटवल भैरहवा मात्र नभई भारतको गोरखपुरसम्मका देख्न सकिन्छ। भ्युटावरले बनबाटिकामा अझ धेरै पर्यटक आकर्षित गर्न र आएका पर्यटकलाई भुलाउन सकिने आशा गरिएको छ।

    तिलोत्तमामै अर्को रमणिय स्थल बाउन्नकोटी वन क्षेत्र पनि छ। बाउन्नकोटी सामूदायिक वन तिलोत्तमासँगै सियारी र ओमसतिया गाउँपालिकामा पनि पर्दछ। यहाँ जाडो बिदामा यहाँ पनि बनभोजको लागि आउने गरेका छन्।तिलोत्तमा नगरपालिका वडा नम्बर ६ को तिनाउ किनारमा तिलोत्तमा पार्क बनेको छ। करिब १५ विघा क्षेत्रफलमा पार्कको क्षेत्र रहेको छ । तिलोत्तमा नगरपालिकाको कुञ्जलापुरमा रहेको कुञ्ज पार्क पनि आकर्षक छ। बीचमा पोखरी वरपर हरियाली पार्कले जो कोहीलाई पनि मोहित बनाउँछ।

    धार्मिक पर्यटनको हिसाबले पनि तिलोत्तमा राम्रो सम्भावना भएको ठाउँ हो। तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा मोक्षधामनिर्माण भइरहेको छ। मोक्षधाममा नेपालका चार धाम र भारतका चार धामको स्वरुप देख्न सकिन्छ। मोक्ष धाममा भौतिक पूर्वाधार निर्माणमा नगरपालिकासँगै प्रदेश सरकार र संघीय सरकारले पनि बजेट विनियोजन गर्दै आएका छन्। तिलोत्तमा ४ मा रहेको श्रृगेश्वर धाम धार्मिक पर्यटनको लागि अर्को गन्तव्य हो।

    यहि वडामा बौद्ध धर्मलम्बीहरुको उदय विहार रहेको छ। तिलोत्तमा १३ करौजियामा शान्ति गुम्बा, ८ नम्बर वडामा विन्दवासिनी छ। यी ठाउँहरुले धार्मिक पर्यटनको राम्रो सम्भावना बोकेको ठाउँ हुन्। तिलोत्तमा भित्र रहेको बुद्धकालीन मन्दिर कुँवरवर्ती छ। गंगोलियामा रहेको अष्ट्रिच फर्मले पनि टाढा टाढा रहेका पर्यटकलाई आकर्षित गरेको छ। तिलोत्तमामा कृषि पर्यटनको सम्भावना पनि उस्तै छ।

    पर्यटन सम्बन्धी मामिलामा कलम चलाइरहेका तिलोत्तमा निवासी युवराज कंडेलले तिलोत्तमामा पर्यापर्यटन, बुद्धकालिन सभ्यता र ऐतिहासिक बस्तीहरुको अवलोकन गर्न सकिने बताए। ‘यहाँ बौद्धकालिन रोहिणी सभ्यता छ। रोहिणीमा बौद्ध मार्गिहरुको ध्यान गर्ने ठाउँ बनाउन सकिन्छ। रोहिणी किनारका टुकटुकीया कानपारा सगरहवा जस्ता थारु बस्तीहरुमा मौलीक सभ्यता छ।’ उनले भने ‘उत्तरी क्षेत्र जैविक पर्यटनको पर्यटनको लागि उपयुक्त थलो हो। सुखौरा किनार अहिलेको संकरनगर करहीया बुटवल र परासी देवदहलाई जोडेर जैविक पदमार्ग पनि बनाउन सकिन्छ।’

    सुखौरा क्षेत्र १८५७ मा भारतको सिपाही विद्रोहको अन्त्य भएको ठाउँ पनि हो। यो ठाउँलाई प्रचार प्रसार गर्न सके उत्तरप्रदेश दिल्ली हुँदै पाकिस्तानसम्मका मुस्लीम पर्यटक भित्राउन सकिने कंडेलको भनाइ छ। लुम्बिनीमा पर्यटक आगमन बढेमा त्यसको लागि तिलोत्तमाले पनि उपयोग गर्न सक्ने त्यसको लागि योजना बनाएर अघि बढ्नुपर्ने उनले बताए।

    तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाणले नगरलाई पर्यटकको आकर्षणको थलोको रुपमा विकास गर्न लागेको बताए। ‘तिलोत्तमामा हरियाली पार्क, ऐतिहासिक मठमन्दिरहरु छन्। यिनीहरुलाई व्यवस्थित गराउन नगरपालिकाले आफ्नो सिमित श्रोत साधनका बाबजुत पनि बजेट विनियोजन गरेको छ।’ उनले भने ‘प्रदेश र संघिय सरकारसँग पनि समन्वय गरेको छ। बाहय तथा आन्तरिक पर्यटकलाई एक दिन भए पनि यहाँका पर्यटकीय स्थल घुमाएर बसाल्न सकिन्छ। त्यसको लागि अहिलेको व्यापार मेलाले पनि सघाउ पुर्याउँछ।’

    तिलोत्तमाको मणिग्राममा मंसिर १ गतेदेखी तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोत्सव सुरु भएको छ। महोत्सव मार्फत तिलोत्तमाका पर्यटकीय स्थलको प्रचार प्रसार र नयाँ गन्तव्यको खोजी गरिने मेला मुल आयोजक समितिका संयोजक तथा तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनीधि भण्डारी माधबले बताए। ‘यहाँ मुख्य आकर्षणको केन्द्र बनबाटिका छ, अरु पार्कहरु पनि छ। वडा नम्बर १० रोहिणी नदिमा एउटा ड्याम बन्दै छ। ड्याम बनेपछि त्यसलाई पर्यटकीय स्थलको रुपमा प्रचार प्रसार गर्न सकिन्छ।’ उनले भने यी लगायत अरु ठाउँहरुलाई मेला मार्फत प्रचारप्रसार गर्ने प्रयास गरेका छौ। नयाँ गन्तव्यको पहिचान गर्ने, मौलिक थारु संस्कृति, ऐतिहासिक सम्पदाहरुको पनि संरक्षण र विकासका लागि पहल गर्नुपर्ने छ।’

    भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सुचारु भयो र पर्यटक आगमन बढेमा तिलोत्तमामा घुम्ने माहोल पनि बन्ने र त्यसको लागि वातावरण निर्माण गर्नुपर्ने भण्डारीको भनाइ छ।