२०८१ आश्विन २१ गते, सोमबार १३:०५
  • भिजिट भरतपुर अभियानका लागि काठमाडौँमा अन्तरक्रिया

    काठमाडौँ -चितवनमा भिजिट भरतपुर २०२४ अभियान सञ्चालन हुने भएको छ। भरतपुर भरतपुर महानगरपालिकाले अभियान सञ्चालन गर्ने भएको हो। बुधबार काठमाडौँमा भरतपुर महानगर र पर्यटन बोर्डले अभियानको सम्बन्धमा सरोकारवाला निकायसँग अन्तरक्रिया गरेका थिए। अन्तराक्रिया तथा पत्रकार सम्मेलनमा भरतपुरलाई पर्यटकीय गन्तव्यका रुपमा प्रवर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको जनाइएको हो।

    महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुरलाई पर्यटकीय सहरका रुपमा परिचित गराउन सन् २०२४ लाई भ्रमण वर्षका रुपमा अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए। मध्य नेपालको उत्कृष्ट गन्तव्यका रुपमा रहेको चितवनको भरतपुर महानगरपालिका ‘भ्रमण वर्ष’ अभियान सञ्चालन गर्ने पहिलो स्थानीय सरकार रहेको भन्दै यो अभियान महानगरको मात्र नभइ समग्र मुलुकको रहेको उनले बताए।

    संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले प्राकृतिक सौन्दर्यताको पहिचान गरी पर्यटन प्रवद्र्धन गर्न महानगरले चालेको पहल ऐतिहासिक रहेको बताइन्। पर्यटन क्षेत्रको संरक्षण र प्रवद्र्धनमा देखिएका कानुनी बाधालाई समीक्षा गरी समाधानतर्फ मन्त्रालय प्रयासरत रहेको उनको भनाइ थियो।

    पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले महानगरले चितवनमा लुकेका गन्तव्यलाई प्रकाश पार्न थालेको ‘भ्रमण वर्ष २०२४’ अभियान उपयुक्त समय रहेको भन्दै यस अभियानलाई सफल पार्न बोर्ड प्रतिबद्ध रहेको बताए। महानगरका आर्थिक विकास महाशाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेलले मुलुकको प्रमुख आयस्रोतका रुपमा रहेको पर्यटन क्षेत्रको प्रर्वद्धन र विस्तार गर्न थालिएको अभियान प्रभावकारी हुने उल्लेख गरे।

    महानगरका पर्यटन विज्ञ सल्लाहकार डा विश्व सुवेदीले आर्थिक समृद्धिको लागि यस अभियान आवश्यक रहेको भन्दै भ्रमण वर्षलाई प्रभावकारी बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ५२ कार्यक्रम गर्ने निर्णय भएको जानकारी दिए।

    नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टाका महासचिव कुमार थपलियाले महानगरसँगै चितवनका पर्यटकीय गन्तव्यलाई पनि समेट्नु पर्नेमा जोड दिए। पर्यटन प्रवद्र्धनका लागि सन् २०२४ लाई ‘घुमौँ भरतपुर’ नाराका साथ भरतपुर भ्रमण वर्ष अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ ।