२०८१ आश्विन २१ गते, सोमबार ११:०५
  • सैनामैनाका पर्यटकीय गन्तव्यहरु: रानीकुवा देखी राजापानी सिमसार क्षेत्रसम्म

    नगरको पहिचान बनेको छ पर्रोहा बोलबमधाम


    सैनामैना-रुपन्देहीको सैनामैना नगरपालिका बुटवल पश्चिमको बजार क्षेत्र हो। बजार क्षेत्र बाहेक यहाँ थुप्रै पर्यटकीय गन्तव्यहरु रहेका छन्। नगरका विभिन्न ठाउँमा धार्मिक, पुरातात्वीक, प्राकृतिक, सांस्कृतिक ठाउँहरु रहेका छन्। सैनामैना नगरपालिकामा वडा नम्बर १ को रानीकुवादेखी ११ को राजापानी सिमसार क्षेत्रसम्म रहेका छन्। पश्चिमको पशुपतिनाथ मानिने पर्रोहा बोलबम धाम सैनामैनाको पहिचान नै बनेको छन।

    बुटवलबाट पश्चिम लागेपछि यो नगरपालिकाको सैनामैना चोक पर्दछ। सैनामैना ऐतिहासिक बुद्धकालिन सभ्यतासँग जोडिएको ठाउँ पनि हो। पुरातात्वीक विभागले यो क्षेत्रमा उत्खनन् गर्दा प्राचिन बस्तुहरु फेला परेका छन्। फेला परेका बुद्ध मुर्ति लगायतका प्राचिन बस्तुहरुलाई संग्रह गरेर राखिएको सैनामैना १ का वडाध्यक्ष भुवन क्षेत्रीले बताए। सैनामैना चोक अर्थात बनकट्टाबाट उत्तरतर्फ रानीकुवा रहेको छ। सोही ठाउँमा राजाकुवा पनि रहेको छ।

    सैनामैना १ मै पर्रोहा बोलबमधाम रहेको छ। बोलबमधाममा स्वयम उत्पत्तीमान शिवज्योर्तिलिंग रहेको छ। बोलबम धाममा साउन महिनामा श्रावणी मेला लाग्ने गर्दछ। श्रावणी मेला र बोलबम यात्राको लागि देशका विभिन्न ठाउँमा भक्तजनहरु पर्रोहा आउने गर्दछन्। बोलबमधाममा अहिले आकर्षक र भब्य मन्दिर बनाइएको छ। वडा नम्बर २ मा बोलबम पर्यटकीय पार्क रहेको छ । जसलाई हिलपार्क पनि भनिन्छ। बोलबम पार्कको उचाइबाट सैनामैना सहित पर परका मनोरम फाँट नियाल्न सकिन्छ।

    सैनामैना नगरपालिका वडा नम्बर ६ मा मलमलादेवीको मन्दिर छ। बडादसैं र चैते दसैंमा मलमलामा भिड हुने गर्दछ। अन्य समयमा पनि पुजा र घुमघामको लागि पर्यटकहरु पुग्ने गरेका छन्। केही उचाइमा रहेको मलमला तराइका फाँट र लुम्बिनी सम्मको दृष्य नियाल्न सकिने सैनामैना ६ का वडाध्यक्ष गोपाल पोखरेलको भनाइ छ। मलमला मन्दिर नजिकै थारु समुदायको मलमल चौरा बाबा भन्ने ठाउँ पनि छ।

    सैनामैना नगरपालिकाको वडा नम्बर ११ मा राजापानी जलैया सिमसार क्षेत्र छ। यो ठाउँमा प्राकृतिक रुपमा आनन्द लिन सकिन्छ। सामुदायिक बन भित्र तीन चार ठाउँबाट पानी निस्केको छ। झरना जस्तो पानी झर्ने गरेको छ । पानी बगेर पोखरीमा जम्मा हुन्छ। एक विघा जतिको पोखरी आसपास चराचुरुंगीहरु देखिन्छन्। यो ठाउँलाई पर्यटकीय स्थल बनाउने भनेर डिपिआर सम्म बनेको सैनामैना ११ का वडाध्यक्ष रामप्रसाद भुसालले बताए।

    यो सिमसार नजिकै महेरावादेवी पनि छ। जहाँ थारु समूदायले संरक्षण गरेको मन्दिर हो।

    यी बाहेक सैनामैनाको मुर्गियामा दुर्गामन्दिर रहेको छ। जहाँ अहिले सैनामैना महोत्सव लागिरहेको छ। बाँसगढीको ठूलो उकालीमा किराँतेश्वर महादेव, कलौनीमा कालमोचन शिवालय मन्दिर, सालझण्डीको गोरखनाथ मन्दिर, कोटीयादेबी मन्दिर, फूलबारी लगायतका ठाउँलाई सैनामैना नगरपालिकाले आफ्नो धार्मिक पर्यटकीय गन्तव्यको रुपमा उल्लेख गरेको छ।

    यही मंसिर ६ गतेबाट छैटौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन औद्योगिक तथा प्रविधी व्यापार महोत्सव चलिरहेको छ। महोत्सवको अवसरमा समूह बनाएर यी पर्यटकीय स्थल घुम्न पनि सकिने सैनामैना ४ का वडाध्यक्ष तथा उद्योग बाणिज्य संघका संस्थापक महासचिव रामप्रसाद अधिकारीले बताए। महोत्सवले सैनामैनाको पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउने आयोजक सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खड्काको भनाइ छ। महोत्सवमा पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनि र गोष्ठी पनि आयोजना गरिने उनले बताए।