२०८१ आश्विन २१ गते, सोमबार १०:५९
  • गैडहवा तालको प्रचार प्रसारको लागि खुल्ला भलिबल प्रतियोगिता

    बुटवल -रुपन्देहीको गैडहवा तालको पर्यटकीय विकास र प्रवद्र्धनको लागि मंसिर २७ गतेबाट भलिबल प्रतियोगिता हुने भएको छ। गैडहवा गाउँपालिका–४ मा रहेको तालको प्रवद्र्धनको लागि २७ देखि ३० गतेसम्म दोस्रो गैडहवा गाउँपालिका अध्यक्ष कप ‘बी’ लेभल खुल्ला भलिबल प्रतियोगिता हुने भएको हो।

    स्थानीय शान्ति युवा क्लबले गाउँपालिकासँगको सहकार्यमा भलिबल प्रतियोगितासँगै आयोजना गरेको हो। प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट एक दर्जन बढी समूहको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष टंकप्रसाद बस्नेतले जानकारी दिए। एक समूहले ३ जना मात्रै राष्ट्रिय स्तरका खेलाडी सहभागी गराउन पाउने उनले बताए।

    प्रतियोगिताको विजेताले प्रथम पुरस्कार ७५ हजार नगद राशीसहित ट्रफी, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक यमप्रसाद अधिकारीले जानकारी दिए । यसैगरि उपविजेताले ५० हजार, तेस्रो हुने समुहले ३० हजार प्राप्त गर्ने संयोजक अधिकारीले बताए। प्रतियोगिता सम्पन्न गर्न ८ लाख बढी खर्च अनुमान गरिएको छ । गाउँपालिका र वडा नम्बर ४ को आर्थिक सहयोगमा प्रतियोगिता सम्पन्न गर्न लागिएको हो ।

    स्थानीय परम्परा झल्किने साँस्कृतिक प्रस्तुतीसहित ३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जातीय तथा परम्परागत परिकारसँगै डुङ्गा सयर पनि गर्न पाइने आयोजकले  बताएका छन्।पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले लुम्बिनीसँग जोडिएको गैडहवामा पर्यटन बिकासका लागि पनि कार्यक्रम सफल रहने उल्लेख गरे।