२०८१ आश्विन २१ गते, सोमबार ११:०२
  • रानी कुवा र राजा कुवाको प्रवर्द्धन गर्न सके सैनामैनाको पर्यटकीय महत्व बढ्छ

    सैनामैना-रुपन्देहीको सैनामैना नगरपालिका १ मा बनकट्टा चोकबाट केही उत्तर लागेपछि प्राचीन दुईवटा कुवा रहेको छ। यी कुवालाई रानी कुवा र राजा कुवा भनिन्छ। रानी कुवा आयातन आकारको छ। खासै गहिरो छैन। तर कहिले पनि पानी सुक्दैन।रानी कुवा नजिकै सैनामैना पुरातात्वीक संग्रालय रहेका छ। यो ठाउँमा फेला परेका पुरातात्वीक औजार र मुर्तिलाई यहाँ संग्रह गरेर राखिएको छ। केही प्राचिन बस्तु लुम्बिनीमा लगेर राखिएको छ।

    रानी कुवा भएको स्थानबाट ४ सय मिटर पूर्वतिर राजा कुवा रहेको छ। राजाकुवा इनार हो। रानी कुवा को तुलनामा राजा कुवा गहिरो छ। सैनामैनामा फेला परेका यी कुवा पुरातात्वीक महत्वको भएपनि यहाँको उचित संरक्षण र विकास हुन सकेको छैन। २०७५ सालमा सरकारले सय वटा नयाँ पर्यटकीय गन्तव्यको सूचीमा सैनामैनालाई पनि समेटेको थियो। तर व्यवस्थित रुपमा प्रवद्र्धन हुन सकेको छैन।

    सैनामैना १ का वडाध्यक्ष भुवन क्षेत्रीले नगरपालिकाले यसलाई संरक्षण गरेपनि व्यवस्थित गर्न नसकेको बताए। ‘यो बुद्धकालिन कुवा हो। नगरपालिकाले यसलाई संरक्षण गरिएको छ। लुम्बिनी विकास कोष र पुरातात्व विभागले चासो दिएको छ।’ उनले भने ‘अलिकती लथालिंग छ । बुद्ध कालिन भनिन्छ। अझै यसलाई व्यवस्थीत गर्न सकिएको छैन।’ यो ठाउँलाई व्यवस्थीत गर्न सकेमा पर्यटकहरुको आवतजावत बढ्ने क्षेत्रीको भनाइ छ।

    रानी कुवा र राजा कुवा आसपास उत्खनन् गर्ने हो भने अझ थुप्रै पुरातात्वीक बस्तु फेला पर्न सक्ने अनुमान गरिन्छ। लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले सैनामैनामा फेला परेका बस्तुले यो प्राचीन शहर भएको अनुमान गर्न सकिने बताए। ‘सैनामैनामा पद्मपाणी लोकेश्वरको मुर्ति फेला परेको छ। त्यसैले यो बुद्धिष्ट साइट नै हुनुपर्छ। विस्तृत अध्ययन भएको छैन।’ उनले भने ‘त्यहाँ पाइएका ढुंगा र लिपीको १४ औं र १५ं सताब्दीको हुनुपर्छ। तर बुद्धकालिन भएको पुष्टी भइसकेको छैन। उहिले व्यवस्थित शहर भएको जस्तो देखिन्छ।’

    सैनामैना निवासी नेपाल शिक्षक संघका लुम्बिनीका अध्यक्ष कृष्ण पंगेनीले लुम्बिनीसँग जोडेर यो ठाउँको विकास हुन जरुरी रहेको बताए। ‘प्राचिन कुवा र पुरातात्वीक बस्तुहरु फेला परेपछि यहाँको थप अध्ययन जरुरी छ। यो ठाउँको संरक्षण र प्रचार प्रसार भयो भने सैनामैनाको पर्यटकीय विकास र समृद्धिमा सघाउ पुर्याउँछ।’ उनले भने ‘लुम्बिनी आउने पर्यटक, बौद्ध धर्मलम्बीहरुलाई ल्याउन सकिन्छ।’ पंगेनीले सैनामैना पर्यटकीय दृष्टीकोणले ठूलो सम्भावना भएको क्षेत्र भएको उल्लेख गरे।

    सैनामैनको बनकट्टामा रहेको त्रिमुर्ति होटल तथा पार्टी प्यालेसका सञ्चालक चन्द्रकान्त भुसालले रानीकुवा क्षेत्रको संरक्षण र विकास भएमा यहाँको चहलपहल बढ्ने बताए। ‘यहाँको व्यवस्थीत तरिकाले विकास भएमा सैनामैनमा पर्यटकीय चहलपहल बढ्छ।’ उनले भने ‘पर्यटकीय चहलपहल बढ्दा सैनामैनाका होटल तथा पर्यटन व्यवसाय पनि फस्टाउँछ।’

    सैनामैनामा अहिले छैटौ राष्ट्रिय कृषि, पर्यटन प्रविधि तथा औद्योगिक व्यापार महोत्सव चलिरहेको छ। महोत्सव मार्फत सैनामैनाको पर्यटक प्रवद्र्धनको प्रयास गरिएको आयोजक सैनामैना उद्योग बाणिज्य संघले जनाएको छ। संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक प्रेमबहादुर खड्काले रानी कुवा क्षेत्रको हुनुपर्ने विकास नभएको उल्लेख गरे। ‘पर्यटकीय सम्भावना भएको ठाउँ हो तर केही हुन सकेको छैन। नगरले त्यो ठाउँमा सामान्य तार जाली लगाएर राखेको छ।’ उनले भने ‘नगरले मात्र नसक्दा प्रदेश र केन्द्रले पनि बजेट छुट्याएर संरक्षण र विकास गर्नुपर्छ।’ खड्काले रानीकुवा लगायत सैनामैनाको पर्यटकीय विकासको लागि निरन्तर पहल गर्ने बताए।

    सैनामैनको यो क्षेत्र बुद्धकालिन क्षेत्र मानिन्छ। तर लुम्बिनी विकास कोषले समेटेको छैन। सैनामैना नगरपालिकाका नगरप्रमुख फणेन्द्र प्रसाद शर्माले कपिलबस्तु देबदह जस्तै यसलाई पनि लुम्बिनी विकास कोष अन्तर्गत समेट्ने हो भने पर्यटकीय विकास हुने बताए। ‘हामी लुम्बिनी विकास कोषसँग सैनामैनालाई लुम्बिनीको गुरुयोजनाभित्र समेटिनुपर्छ भनेर माग गरिरहेका छौं। गुरुयोजनामा समेटेर बुद्धपरिपथसँग यसलाई जोडियो भने यसको महत्व अझ बढ्छ।’ उनले भने ‘कोष अन्तर्गत समेट्दा लुम्बिनी आउने धेरै पर्यटक सैनामैनामा ल्याउन सकिन्छ।’ रानी कुवा र राजा कुवा पूर्वपश्चिम राजमार्ग नजिक भएकाले पर्यटकहरुलाई आकर्षित गर्न सकिने र सैनामैनाको पर्यटकीय महत्व एक्कासी बढ्ने नगरप्रमुख शर्माको भनाइ छ।