२०८१ आश्विन २१ गते, सोमबार ११:०३
  • सैनामैनाको राजापानी सिमसार क्षेत्र: जहाँ जंगल पदयात्राको आनन्द लिन सकिन्छ

    पर्यटकीय विकासका लागि एडिबीले डिपिआर बनाउँदै

    सैनामैना- रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ११ जर्लैयामा राजापानी सामुदायीक बन छ। सामुदायीक बन भित्र पैदल यात्रा गर्दा निकै आनन्द आउँछ। जंगलभित्र विभिन्न ठाउँबाट मुल फुटेर पानी बगेको छ। पानी बगेको कलकल आवाज, चराचुरुंगीको चिरविर ध्वनी र सितालता सहित पैदलयात्रा निकै रोमाञ्चक लाग्छ। जंगल र पोखरी भएको यो ठाउँलाई राजापानी सिमसार क्षेत्र भनिन्छ।

    राजापानी सिमसार क्षेत्रको विकास र व्यस्थापन गरेर पर्यटकीय गन्तव्य बनाउने योजना अघि बढेको छ। राजापानी सामुदायीक बनका अध्यक्ष लालबहादुर सेनले जंगल भित्र बगिरहेको पानी पनि हिउँदमा नसुक्ने बताए।

    ‘हिउँदमा यहाँबाट माथि पानी सुके पनि तल भने यस्तै निरन्तर बगिरहन्छ। पानी बगेको देखाउँदै’ उनले भने ‘यसरी मुल फुटेर निस्केको बग्दै पानी तल आएर एउटा पोखरीमा जम्मा हुन्छ।’ पोखरीमा भविश्यमा डुंगा सयर गराउने गरि योजना बनेको सेनको भनाइ छ।

    विगतमा चरन र खुल्ला तरिकाले घाँस दाउरा गर्दा हिउँद याममा बन सुख्खा देखिन्थ्यो। सामुदायीक बन भएपछि चरन र बन फडानी नियन्त्रण भयो। बन संरक्षणपछि जंगल हरियाली भयो र चैत्र बैशाखमा पनि पानी नियमित बग्न थालेको सैनामैना ११ का वडा अध्यक्ष रामप्रसाद भुसालले बताए। ‘बन क्षेत्र संरक्षण भएपछि ठाउँ ठाउँबाट पानी निस्कीरहन्छ। चैत्र बैशाखमा पनि राम्रै तरिकाले पानी बगिरहन्छ।’ उनले भने ‘सामुदायीक बनले त्यहाँ पोखरी बनाएको छ। पोखरीमा जम्मा भएर त्यहाँबाट सिचाइ हुन्छ।’ यो ठाउँलाई व्यवस्थीत गर्न सकेमा सौराहमा जस्तै जंगलमा यात्रा गर्न खोज्ने पर्यटकहरुलाई आकर्षित गर्न सकिने भुसालको भनाइ छ।

    यो ठाउँलाई पर्यटकीय गन्तव्य बनाउन एडिबीले पनि काम गरिरहेको छ। एडिबीले योजना लागू गरेर यसलाई पर्यटकीय स्थल बनाउने भनेर डिपिआर तयार गर्दैछ। सैनामैना नगरपालिकाकी उपमेयर विना रानाले राजापानीलाई सिमसार क्षेत्र बनाउने भनेर अघिल्लो कार्यकालदेखी नै यसको विकासको सुरुवात गरेको बताइन। ‘हिउँदमा पनि पानी नसुक्ने बाहिरबाट चराहरु पनि आउने भएकाले सिमसार क्षेत्रको विकास गर्न खोजेका हौं।’ उनले भनिन् ‘अघिल्लो कार्यकालमा नगरपालिकाले गुरुयोजना बनाएको थियो। एडिबीले काम गर्नुपर्ने भएपछि हाम्रो गुरुयोजना नमान्ने रहेछ। त्यसमा फेरबदल गर्नुपर्ने रहिछ।’ एडिबीले डिपिआर बनेपछि पूर्वाधार निर्माणको काम अघि बढ्ने र भविश्यमा यो एउटा राम्रो पर्यटकीय गन्तव्य बन्ने उपमेयर रानाले बताइन्। राजापानी सिमसार क्षेत्रमा गुफा पनि रहेको छ ।

    राजापानी सिमसार क्षेत्रको पर्यटकीय विकासको लागि ३५ करोड जति लाग्न सक्ने सैनामैना नगरपालिकाका योजना प्रमुख सुरज न्यौपानेले बताए। ‘अहिले एडिबीले अध्ययन गरिरहेको छ। त्यहाँ वातावरणलाई पनि प्रभाव नपर्ने गरि पार्क निर्माण गर्ने भन्ने छ। बाँध बाँधेर पोखरीलाई उच्च बनाउने’ उनले भने ‘पोखरीबाट केही माथि पर्यटकलाई जंगलमै बस्ने खालको इको रिसोर्ट बनाउने योजना छ।’ पोखरीको पानीले जर्लैया र आसपासका स्थानियले सिचाइ सुविधा समेत पाउने छ।

    राजापानी सिमसार क्षेत्रको प्रकृतिसँग रमाउने र शान्त ठाउँ खोज्ने पर्यटकलाई आकर्षित गर्न सकिने आशा गरिएको छ। जर्लैयामा सिमसार नजिकै महेरावादेवी पनि छ। जहाँ थारु समूदायले संरक्षण गरेको मन्दिर हो। महेरावादेवीलाई जोडेर यो क्षेत्रको पर्यटकीय विकास गर्ने योजना बनाइएको छ।