२०८१ आश्विन २१ गते, सोमबार ०९:१८
  • बसन्तपुर पुगेर लुम्बिनीका कांग्रेस नेताहरुले भने : पर्यटकमैत्री व्यवहार र नीति बनाऔं


    बुटवल– नेपाली कांग्रेस लुम्बिनीका नेताहरुले भारत सहित विदेशी मुलुकबाट ठूलो संख्यामा पर्यटक भित्राउन सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। उनीहरुले मुलुकको आर्थिक समृद्धिको मुख्य आधार पर्यटन भएको उल्लेख गरे। सोमबार लुम्बिनी केबलकारको यात्रा र कामाख्या देवीको मन्दिर दर्शनपछि पत्रकारहरुसंग कुरा गर्दै नेताहरुले प्राकृतिक सुन्दरता, भौगोलिक बनोट र हावापानीका कारण नेपालमा पर्यटन उद्योगको राम्रो सम्भावना रहेको भन्दै पर्यटक भित्राउन सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए । सीमा नाका र अध्यागमन कार्यालयमा पर्यटकमैत्री व्यवहार र नीति बनाउनुपर्ने उनीहरुको भनाइ छ।

    कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेश पर्यटनका दृष्टिले राम्रो संभावना बोकेको ठाउं भएको उल्लेख गर्दै बुटवल र पाल्पा जोड्ने गरी बनेको लुम्बिनी केबलकार र कामाख्या देवी मन्दिर आन्तरिकसंगै भारतीय पर्यटकका लागि आकर्षण बन्न सक्ने बताए। उनले विदेशी पर्यटकलाई चाहेजति पैसा ल्याउन दिनुपर्ने नीति बनाउन माग गरे। भारतीय पर्यटकले २५ हजार भारु मात्र बोक्न पाउने व्यवस्था गलत भएको भन्दै सभापति पुनले पर्यटकलाई धेरै भन्दा धेरै पैसा ल्याउन पाउने नीतिगत व्यवस्था गर्न सके मात्रै विदेशी मुद्रा आर्जन गर्न सकिने उल्लेख गरे। सभापति पुनले कांग्रेसको आगामी प्रदेश समितिको वैठक लुम्बिनी केबलकारमा गर्ने प्रतिवद्धता जनाए।

    कांग्रेस लुम्बिनीका उपसभापति भुवनप्रसाद श्रेष्ठले लुम्बिनी केबलकारले आन्तरिक पर्यटन प्रवद्र्धनसंगै कामाख्यादेवी मन्दिरले भातीय पर्यटकलाई समेत आकर्षित गर्ने उल्लेख गर्दै यसको प्रवद्र्धनमा सरकारले पनि सहयोग गर्नुपर्ने धारणा राखे। कांग्रेस लुम्बिनीका अर्का उपसभापति एवं प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले लुम्बिनी केबलकार सञ्चालनमा आएसंगै प्रदेशमा नयां र स्तरीय पर्यटकीय गन्तव्य थपिएको भन्दै यसको प्रवद्र्धनमा प्रदेश सरकार साथमा रहेको बताए।

    कांग्रेस लुम्बिनीका महामन्त्री विक्रम खनालले निजी क्षेत्रले पर्यटनमा गरेको लगानीको प्रतिफल दिलाउन सरकारले निजी क्षेत्रमैत्री नीति र कानून बनाइदिनुपर्ने धारणा व्यक्त गरे । प्रदेश सहमहामन्त्री नुमा गिरीले लुम्बिनी केबलकारको टप स्टेशन बसन्तपुर गर्मी मौसममा शितल र जाडोमा न्यानो हुने ठाउं भएकाले पर्यटकको रोजाई बन्ने बताइन् । कांग्रेस लुम्बिनीका युवा नेता विष्णु पोखरेलले प्रदेशको पहिलो केबलकारको प्रवद्र्धनमा यहांका राजनीतिक दलहरुको पनि भूमिका हुनुपर्छ भन्ने उद्देश्यले प्रदेश सम्मेलनका क्रममा प्रदेश कार्यसमितिका पदाधिकारीहरुले केबलकारको यात्रा र कामाख्या देवी मन्दिरको दर्शन गरेको बताए।

    सो अवसरमा केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैजू, इन्जिनियर सनी चौरसिया, सुजित यादवले केबलकारको लगानी,निर्माण भएका संरचना र प्राविधिक पक्षबारे नेताहरुलाई जानकारी गराएका थिए। आईएमई ग्रुपको नेतृत्वमा स्थानीयको समेत ५ अर्ब लगानीको केबलकारको टप स्टेशनमा १५० कोठा, एक हजार जना क्षमताको ब्याङक्वेट हल,क्यासिनो सहितको पांचतारे होटेल निर्माणको चरणमा छ।