२०८१ आश्विन २१ गते, सोमबार ११:०३
  • एनएचए आबद्ध व्यवसायी भन्छन् : नीतिगत सुधार नगरी पर्यटक भित्राउन र बसाई लम्ब्याउन सकिन्न

    २५ हजार बढीको भारु बोक्न नपाउने प्रावधान गलत


    बुटवल – लुम्बिनी प्रदेशका होटेल व्यवसायीहरुले वाह्य पर्यटकको आगमन बढाउन सरकारीस्तरबाट नीतिगत सुधारको माग गरेका छन्। नेपाल प्रवेश गर्ने सीमा नाकाहरु र अध्यागमन कार्यालयहरु परम्परागत र अव्यवस्थित हुंदा पर्यटकहरु चर्को गर्मीमा घण्टौं लाइनमा र गाडिभित्र बस्नुपर्दा नकारात्मक प्रभाव परेकाले नाका र अध्यागमनलाई आधुनिक र सुविधासम्पन्न बनाउनुपर्ने होटेल व्यवसायीको माग छ।

    यस्तै भारतीय पर्यटक चढेका गाडीलाई सडकमा अनावश्यक चेकचांच गरी दुख दिने र रकम असुल्ने तथा २५ हजार भारु भन्दा बढी रकम साथमा बोक्न नपाउने जस्ता प्रावधान पनि गलत भएकाले परिमार्जन गर्नुपर्ने व्यवसायीले औंल्याएका छन्।

    लुम्बिनी प्रदेशका पर्यटकस्तरदेखि पांचतारेसम्मका होटेल व्यवसायीकोहरुको संस्था नेप्लिज होटेलियर्स एशोसियसन लुम्बिनी (एनएचए) ले लुम्बिनी केबलकार लि.संग गरेको अन्तरक्रियामा एशोसियसनका अध्यक्ष प्रविणबहादुर पाठकले नीतिगत सुधार नगरी पर्यटक भित्राउन र उनीहरुको बसाई अवधि लम्ब्याउन नसकिने बताए। सरकारले पर्यटकमैत्री पुर्वाधार, नीति र कानून बनाउन नसक्दा प्रचूर संभावना भएर पनि पर्यटन क्षेत्रबाट लाभ लिन नसकिएको उनको भनाइ छ।

    नारायणगढ–बुटवल लगायत मुख्य राजमार्गका सडक र सडक पुलहरु निर्धारित समयमा बनाउन नसक्दा रुपन्देहीको होटेल व्यवसायमा ठूलो असर परेको पाठकले बताए ।
    ‘स्थलमार्गबाट सबैभन्दा धेरै पर्यटक आउने बेलहिया नाका, अध्यागमन कार्यालयमा पर्यटकलाई सहज र सम्मानजनक व्यवहार हुन सकेको छैन,चर्को गर्मीमा पर्यटकहरु गाडीभित्र पसिनाले भिजेर कुर्नुपर्ने वाध्यता छ’–अध्यक्ष पाठकले भने–‘नाका क्षेत्र धुलोमैलोमुक्त स्वच्छ, आकर्षक भयो र अध्यागमन कार्यालयबाट पर्यटकको काम ढिलासुस्तीविना फटाफट हुने हो भने मात्रै पनि पर्यटकमा नेपालप्रति धेरै राम्रो छाप पर्छ ।’

    भारतीय र तेस्रो मुलुकका पर्यटकलाई नेपाल घुम्न आएका बेलामा निश्चित परिमाणमा मात्र रकम बोक्न पाइने प्रावधानले नेपाललाई नै घाटा भएको भन्दै अध्यक्ष पाठकले सीमा नतोकी चाहेजति रकम बोक्न दिनुपर्ने व्यवस्था गर्न माग गरे।

    एशोसियसनका उपाध्यक्ष दिलिप गौचनले बुटवलमा प्रदेशकै पहिलो केबलकार सञ्चालनमा आएपछि प्रदेश राजधानी सरेपछि सुस्ताएको बुटवल गुल्जार हुने आशा पलाएको भन्दै यसको प्रवद्र्धनमा सरकार र पर्यटन व्यवसायीबीच सहकार्य हुनुपर्ने बताए। केबलकारमा पर्यटन सूचना केन्द्र स्थापना गर्न उपाध्यक्ष गौचनले सुझाव दिए ।

    एशोसियसनका सल्लाहकार महेन्द्रनारायण श्रेष्ठले भारतीय पर्यटकका हकमा कम्तीमा एक लाख रुपैयां साथमा ल्याउन दिनुपर्ने माग गरे। ‘पर्यटकलाई चाहेजति पैसा ल्याउन नदिएपछि पर्यटन व्यवसाय कसरी फस्टाउंछ ’– उनको प्रश्न छ–‘वाह्य पर्यटकलाई जतिसक्दो धेरै रकम साथमा ल्याउन पाइने कानूनी व्यवस्था सरकारले गरिदिनुपर्छ अनि मात्र पर्यटनबाट लाभ लिन सकिन्छ ।’

    एशोसियसनका सदस्य प्रविन शाक्यले भारतको उत्तर प्रदेश र बिहारको करिब ४० करोड जनसंख्याको केही प्रतिशतलाई मात्रै वर्षेनी नेपाल आकिर्षत गर्न सके पर्यटन व्यवसाय फस्टाउने र देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने भन्दै भारतीय पर्यटकलाई प्राथमिकता दिन र सम्मानजनक व्यवहार गर्न आग्रह गरे। भारतीय पर्यटकलाई लक्षित गरेर टुर गाइड तयार गरी मार्केटिङ गर्न सरकारले सहयोग गर्नुपर्ने उनको भनाई छ।

    सो अवसरमा एशोसिएसनका महासचिव विकास पाण्डे, कोषाध्यक्ष पदम केसी लगायतले सरकारले पर्यटन व्यवसायीमैत्री नीति बनाउन चुकेको बताए।
    अन्तरक्रियामा लुम्बिनी केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले पर्यटक चढेका भारतीय सवारी साधन सीमा नाकाबाट नेपालतर्फ ७ किलोमिटर मात्र आउन पाउने प्रावधान उपयुक्त नभएकाले चुरे पहाडको फेंदीसम्म आउन पाउने व्यवस्था हुुनुपर्ने औंल्याए।

    डेढ दशकसम्म अलपत्र परेको लुम्बिनी केबलकार परियोजनामा आईएमई ग्रुप मुख्य साझेदार बनेपछि दुई वर्षमै सञ्चालनमा आएको र टप स्टेशनमा बनेको कामाख्या देवी मन्दिर हिन्दु धर्मावलम्बी भारतीय पर्यटकलाई आकर्षण बनेको कायस्थको भनाइ छ।

    केबलको टप स्टेशनमा ४० लाख लागतमा जीप लाइन सञ्चालनमा आइसकेको डेढकरोड लगानीमा स्काई साइक्लिङ, विद्युतीय पिङ,बाल उद्यान छिटैस ञ्चालन हुने र साढे ३ अर्ब लगानीमा १५० कोठा ,एक हजार जना क्षमताको ब्याङक्वेट हल,क्यासिनो र स्वीमिङ पूल सहित पांचतारे होटल निर्माणको तयारीमा रहेको जानकारी दिए। जेठ १५ देखि सञ्चालनमा आएको लुम्बिनी केबलकार परियोजना पांचतारे होटलसहित ५ अर्ब लागतको हो ।