२०८१ आश्विन २१ गते, सोमबार ११:०८
  • चितवनमा गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफल सुरु

    एकसिङ्गे गैँडा नेपालका लागि अमूल्य सम्पत्ति : प्रधानमन्त्री

    चितवन । चितवनको पटिहानीमा गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफल सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आयोजनामा भएको अन्तराष्ट्रिय छलफल आइतबारसम्म चल्ने छ । कार्यक्रमलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै
    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकसिङ्गे गैँडा नेपालका लागि अमूल्य सम्पत्ति भएको बताए । उनले गैँडाको सुरक्षाका लागि बासस्थान चुनौतीपूर्ण बन्दै गएको भन्दै सम्बन्धित क्षेत्रका विज्ञको सुझावमा सरकारले योजना ल्याएर वन्यजन्तु जोगाउने उल्लेख गरे । नेपालको प्राकृतिक सम्पदा, गैँडालगायत वन्यजन्तुको बासस्थान भएकै कारण विदेशीहरू नेपाल आउने गरेको र यसले नेपालको आर्थिक विकासमा टेवा पु¥याएको प्रचण्डको भनाइ छ ।
    एसियाका पाँच देशसहित १० देशका संरक्षणकर्मीको सहभागिता रहेको छलफल कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले वन्यजन्तु संरक्षणमा चुनौती थपिँदै गएको बताए । दुर्लभ एकसिङ्गे गैँडा संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । तीनवटै तहका सरकारको संयोजनमा गैँडा संरक्षण गर्नुपर्ने समय आएको श्रेष्ठको भनाइ छ ।
    ‘थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ नाम दिइएको कार्यक्रममा नेपाल, भारत, भूटान, इन्डोनेसिया र मलेसियाका उच्च अधिकारीहरू सहभागी छन् । उनीहरुले आ–आफ्नो देशमा गैँडा संरक्षणका क्षेत्रमा भएका प्रगतिहरू प्रस्तुत गर्दैछन्।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा गणेश पन्तका अनुसार बैठकमा भेनेजुएयला, संयुक्त अरब इमिरेट्स, केन्या, दक्षिण अफ्रिकालगायतका देशका संरक्षणकर्मीहरू पनि सहभागी भएका छन् । सम्मेलनका सहभागीहरूले गैँडा संरक्षणमा देखिएका चुनौती र भावि योजनाको विषयमा छलफल गर्नेछन् । नेपाल विश्वमै एकसिङ्गे गैँडाको दोस्रो ठूलो बासस्थान हो । भारतको काजिरङ्गपछि नेपालको चितवन राष्ट्रिय निकुञ्जमा धेरै गैँडा पाइन्छन् ।

    पाँच देशका अधिकारीहरूले आफ्नो देशमा संरक्षणका क्षेत्रमा भएका प्रयासबारेमा जानकारी गराएसँगै विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । नेपालका तर्फबाट वातावरणमा आएको परिवर्तनले वन्यजन्तु र बासस्थानमा परेको असर र गैँडा संरक्षणमा भएका कामसँगै शून्य चोरी सिकारी नियन्त्रणका विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ । शनिबार गैँडाको बासस्थानको अध्ययन गरिने कार्यक्रम छ । आइतबार संरक्षणसम्बन्धी चितवन घोषणापत्र सार्वजनिक गरिनेछ । छलफलमा ३० विदेशी र ३० जना नेपाली संरक्षण तथा अधिकारी सहभागी छन् ।