२०८१ आश्विन २१ गते, सोमबार १३:०६
  • ९ वर्षअघि सुशील कोइरालाले के बोलेका थिए, पवन पाँचतारे होटल खोल्न कस्सिए

    ‘जनता, नीजि क्षेत्र र सरकार जसरी हुन्छ भैरहवाबाट अन्तर्राष्ट्रिय उडानका लागि केन्द्रीत हुनुपर्छ’

    भैरहवा– रुपन्देही र आसपासका थुप्रै व्यवसायीले भैरहवाबाट नियमित अन्तराष्ट्रिय उडान पर्खेर बसेका छन्। त्यसमध्येका एक हुन लुम्बिनीमा पाँच तारे होटल सञ्चालन गरेका पवन हलवाइ। भैरहवाको पहिचान बनेको पवनको पेंडा उनकै पवन मिष्ठान्न भण्डारमा उत्पादन हुन्छ। मिष्ठान्न भण्डारसँगै भैरहवामै होटल पनि सञ्चालन गरेका छन्। अहिले लुम्बिनीमा उनको होटल पवन प्यालेश पनि सञ्चालित छ।

    जुन दिन भैरहवामा गौत्मबुद्ध अन्तराष्ट्रिय विमानस्थलको शिलान्यस भयो त्यही दिन र समयमा पवनमा पाँचतारे होटलको सोँच आयो। अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्याश गरेका तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको बोलीबाट पवन लुम्बिनीमा ५ तारे होटलका लागि कस्सिएका हुन्।

    २०७१ साल माघ १ गते कोइरालाले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको शिलान्यास गरे। शिलान्यासका क्रममा उनले भने ‘भैरहवामा अन्तराष्ट्रिय विमानस्थल ३ वर्षमै सञ्चालनमा आइहाल्छ। यो क्षेत्रमा स्तरिय होटल छैनन्। त्यतातिर पनि यहाँका उद्योगी व्यापारी सोंच्नुपर्छ।’ कोइरालाले के बोलेका थिए, पवनमा पाँचतारे होटलको सोँच आइहाल्यो।

    ‘म यही लाइनमा भएकाले तत्कालै लुम्बिनीमा ५ तारे होटल बनाउन कम्मर कसें।’ पवनले भने। होटल निर्माण गरिरहँदा पवनले थुप्रै समस्याहरु भोग्न पर्यो। ‘भुकम्प आयो, तराइ मधेश आन्दोनलले तेल अभाव थियो। पछि कोभिड आयो।’ उनले भने।
    अन्तराष्ट्रिय विमास्थल सम्पन्न हुन ७ वर्ष लाग्यो। निर्माण सम्पन्न भएसँग आर्थिक मन्दि देखा पर्यो, बैंकको व्याज ह्वात्तै बढ्यो। ‘हामीले ७ प्रतिसत व्याजमा बैंकबाट लोन लिएका थियौं। छि १६ प्रतिसत सम्म पुग्यो। लोन बढेर दोब्बर भयो। त्यसमाथि अन्तराष्ट्रिय विमानस्थल पनि राम्रोसँग नचलेको हुनाले हामीलाई धेरै गाह्रो भएको छ।’

    पवनको जस्तै रुपन्देहीका सयौं व्यवसायीको पिडा अहिले यस्तै छ। अन्तराष्ट्रिय विमानस्थल बन्ने आशामा रुपन्देहीमा थुपै तारे र पर्यटकीय स्तरका होटल खुलेका छन्। तर उडान नहुँदा निराश छन्। २०७९ साल जेठ २ गते बुद्ध जयन्तीका दिन तत्कालिन प्रधानमन्त्री शेरवहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका थिए। उद्घाटन भएको डेढ वर्ष भन्दा बढि भइसक्दा पनि भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।

    होटल पवन प्यालेशका सञ्चालन पवन हलवाइ अब आम जनता, नीजि क्षेत्र र सरकार जसरी हुन्छ भैरहवाबाट अन्तराष्ट्रिय उडान सुचारु गर्न लागि पर्नुपर्ने बताए। ‘हामी व्यवसायी, जनता र सरकार पनि भैरहवाबाट कसरी अन्तराष्ट्रिय उडान गर्न सकिन्छ भन्ने तर्फ केन्द्रीत हुनपर्छ।’ उनले भने ‘यसमा मुख्य जिम्मेवारी सरकारको हो। नीति नियम बदलेर हुन्छ कि, थुप्रै एयरलाइन्स छन्, कुन एयरलाईन्सलाई भन्नुपर्ने हो भन्नुपर्छ, जस्तो कतार एयरलाइन्सको तिन चार वटा जहाज काठमाडौँ आउँछन्। एउटा भैरहवाआए हुन्छ नि।’

    भैरहवाबाट अन्तराष्ट्रिय उडान भयो भने पर्यटक निश्चित रुपमा बढ्ने हलवाइको दाबी छ। ‘मुश्लिमहरुको मक्का मदिना, क्रिश्चियनहरुको जेरुसेलम छ, बुद्धधर्मलम्बीहरुको लुम्बिनी पनि त्यस्तै ठाउँ हो। दुनियाका बुद्धधर्मलम्बी आउने ठाउँ हो।’ उनले भने ‘सिधै जहाजबाट लुम्बिनी ओलर्न खोज्छन्। उडान नहुनुमा सरकारको कम्जोरी हो कि एयरलाइन्सको कारण हो। त्यसलाई तुरुन्त समाधान गर्नुपर्छ।’

    अन्तराष्ट्रिय विमानस्थल सुचारु भएमा गुल्मी, अर्घाखाँची देखि लिएर पश्चिमबाट समेत बैदेशिक रोजगारीको लागि भैरहवाबाट जान सक्ने भन्दै त्यसका लागि चाहीने सबै प्रक्रिया भैरहवाबाटै हुनुपर्ने हलवाइको भनाइ छ। ‘विदेश जान कागजात लगायत के के प्रक्रिया हुन्छन् यही भैरहवाबाटै हुनुपर्यो। त्यसका लागि पनि काठमाडौँ जान्छन् भने यहाँबाट किन हुन्न्। जसरी हुन्छ भैरहवाबाट अन्तराष्ट्रिय उडान हुनैपर्छ।’ उनले भने।