२०८१ आश्विन २१ गते, सोमबार १०:५८
  • आन्दोलन स्थगित गर्न पर्यटन मन्त्री किराँतीको व्यवसायीलाई आग्रह


    भैरहवा =-भैरहवाबाट अन्तराष्ट्रिय उडान हुनुपर्ने माग सहित शुक्रबार धर्ना तथा प्रर्दशन गरेका व्यवसायीहरुले सोही साँझ संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीसँग भेट गरेका छन्। गौतमबुद्ध विमानस्थलमा भएको भेटमा मन्त्री किराँतीले आन्दोलन स्थगित गर्न व्यवसायीहरुलाई आग्रह गरे। ‘आन्दोलन गरेर हुँदैन। भएको पनि झन झन बिग्रन्छ। त्यतातिर नजान म गम्भिरताकासाथ अनुरोध गर्दछु। देश अप्ठयारो अवस्थामा छ। अफ्ठयारोकाबीच हमीले समस्या समाधान गर्नुपर्नेछ।’ सिद्धार्थ सञ्जालको टोलीसँग उनले भने।

    आँफूले उद्योगी व्यवसायीको आवाज सुनिरहेको भन्दै किराँतीले आन्दोलन गरेर आजको भोली नै जहाज चल्न नसक्ने उल्लेख गरे। उनले नेपाल वायू सेवा निगमसँग धेरै हवाइजहाज हुनुपर्ने भए पनि हुन नसकेको बताए। लिजमा लिएर जहाज चलाउनका लागि प्रक्रिया अघि बढेको किराँतीको भनाइ छ। एउटा जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्ट्याण्ड बाई राख्ने सोच बनाएको भन्दै किराँतीले भने ‘दिनको ४ वटा भन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीले अनिवार्य एउटा उडान भैरहवाबाट गर्नुपर्ने निर्णय निर्ममतापूर्वक गर्दैछौं ।’

    हवाई रुटको सन्दर्भमा आफ्नोतर्फबाट कुटनीतिक पहल गरेको र प्रधानमन्त्री स्वयंले उच्चकोटीमा प्रस्ताव राखेर भारतका प्रधानमन्त्रीसँग कुरा भएको बताए। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले समस्या समाधानका लागि अब परिणाम तथा निष्कर्ष निस्कने गरी राउण्ड टेबल बैठक गर्न आवश्यक रहेको बताए।

    लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयले विमानस्थल सञ्चालन हुनुपर्छ भन्ने सबैको मान्यता भएको बताए। गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलका महाप्रबन्धक हसं राज पाण्डेयले विमानस्थलबाट अन्तर्राष्टिय उडान हुनुपर्छ भन्ने सबैको माग रहेको बताए।

    सिद्धार्थ सञ्जाल, रुपन्देहीका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवालीले आन्दोलन गर्ने आफूहरुको रहर नभइ बाध्यता भएको बताए। यसअघि प्रधानमन्त्री, पर्यटनमन्त्री र लुम्बिनीका मुख्यमन्त्रीलाई अल्टिमेटमसहित ज्ञापनपत्र बुझाइसके पनि पनि समस्या समाधान नभएकाले आन्दोलनमा उत्रिनुपरेको उनले सुनाए। विमानस्थल सञ्चालन नहुँदा निजी क्षेत्र हत्तोत्साहित भएको र बैंकको ब्याज किस्ता समेत तिर्न ग्राहो भएको ज्ञवालीको भनाइ छ।

    सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले पर्यटकलाई भित्र्याउन कनेक्टीभिटी आवश्यक रहेको भन्दै यात्रु नपाएको भन्ने कुरा गलत भएको बताए। उनले भारतको गोरखपुरबाट हवाईमार्ग हुँदै जाने यात्रुमध्ये २५ प्रतिशत नेपाली यात्रु रहेको बताए । उनले नेपालमा आउने पर्यटकमध्ये अधिकांश भारतीय पर्यटक रहेको तर एअरपोर्ट नचाल्दा समस्या भएको बताए।
    सञ्जालका महासचिव संजय बजिमयले कनेक्टीभिटी बिना पर्यटन क्षेत्रको विकास हुन नसक्ने बताए ।

    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुल प्रसाद न्यौपानेले विमानस्थल सञ्चालन हुन नसक्दा निजी क्षेत्र मर्कामा परेको बताए। यस अघि शुक्रबार दिउसो सिद्धार्थ सञ्जालको आयोजनामा व्यवसायीहरुले भैरहवामा धर्ना दिएका थिए। उनीहरुले २४ गतेबाट गौतमबुद्ध विमानस्थलमा निरन्तर प्रदर्शन गर्ने र आन्तरिक उडान रोक्ने चेतावनी दिएका छन्।