२०८१ आश्विन २१ गते, सोमबार ११:१०
  • भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको माग गर्दै विमानस्थल केन्द्रित धर्ना सुरु

    भैरहवा -भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको माग गर्दै विमानस्थल अगाडि धर्ना सुरु भएको छ। सिद्धार्थ सञ्जालको आयोजनामा आइतबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अगाडि धर्ना भएको थियो। धर्ना अब निरन्तर जारी रहने सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित र पूर्ण रुपमा सञ्चालनको माग गर्दै व्यवसायीहरुले कात्र्तिक १३ गतेबाट चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए। जस अन्तर्गत शुक्रबार भैरहवाको बुद्धचोकमा धर्नामा बसेका उनीहरु आइतबारबाट विमानस्थल केन्द्रीत धर्ना सुरु गरेका हुन्।

    धर्नामा लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोषकुमार पाण्डेले अर्बौको लगानीमा बनेको विमानस्थल नबन्नु सरकारको असक्षमता भएको बताए। ‘यदि यो विमानस्थल प्रदेश सरकारको मातहतमा भएको भए अन्तर्राष्ट्रिय उडान संचालन भइसक्थ्यो र संघको मातहतमा भएकाले समस्या आएको हो।’ उनले भने ‘नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्नुको पछाडि पर्यटन व्यवसायका विभिन्न माफिया र दादागिरी नै हो।’

    विमानस्थल सञ्चालनको लागि केन्द्र सरकारसँग वारको पार लडाइ हुन सक्ने भन्दै त्यसको नेतृत्व मुख्यमन्त्रीले गर्न सक्ने उल्लेख गरे। मुख्यमन्त्री डिल्ली चौधरीको नेतृत्वमा २ गते काठमाडौँ जाने तयारी समेत भएको भन्दै प्रदेशका गृहमन्त्री पाण्डेले त्यसपछि परिणाम आउने उनले जानकारी दिए।लुम्बिनी प्रदेश सभा सदस्य वसिउद्दिन खानले अन्तराष्ट्रिय विमानस्थललाई हेरेर महंगो व्याजदरमा लोन लिएर पूर्वाधार बनाएको भन्दै अहिले व्यवसायीहरु समस्यामा परेको उल्लेख गरे। धर्नामा आफ्नो उपस्थिति रहेको र आवश्यक परेमा हजारौं जनता धर्नामा उतार्ने चेतावनी दिए।

    उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपानेले पूर्वाधार बनाउन भनेर पहिला उक्साउने र अहिले पछार्ने काम गरेको आरोप लगाए। सिद्धार्थ उद्योग बाणिज्य संघका पूर्वमहासचिव विजय पाण्डेले विमानस्थल यस क्षेत्रको समृद्धिसँग जोडिएकाले पूर्णक्षमतामा नचलाउँदासम्म आन्दोलनलाई निरन्तरता दिइने उल्लेख गरे।

    सिद्धार्थनगर–४ का वडाध्यक्ष मुक्तिनाथ यादवले आफूहरुको आवाज सिंहदरबारसम्म पुगेन भने भैरहवाको एयरपोर्टको फोहर व्यवस्थापन रोकिदिने चेतावनी दिए। ‘तपाईहरुको एयरपोर्टभित्रको फोहर व्यस्थापन वडा नम्बर ४ ले रोकिदिने छ। त्यती मात्र होइन वडा नम्बर ४ मा जति फोहर निस्कन्छ त्यो फोहर यही गेटमा ल्याएर थुप्रिने छ।’ उनले भने।सुनचाँदी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष प्रेमकुमार सेन्चुरीले यदि यो विमानस्थल आवश्यक नभएको भए सरकारले अर्बौंको लगानी गर्नुको कुनै औचित्य नरहेको बताए।

    उद्घाटन भएको डेढ वर्ष बढि भइसक्दा पनि गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलबाट अन्तराष्ट्रिय उडान सुचारु हुन सकेको छैन। उद्घाटन सँगै जजिरा एयरवेजले उडान थाले पनि अहिले उसको उडान छैन । अहिले हप्ताको एक पटक मंगलबार विहान नेपाल एयरलाइन्सको विमानले मलेसिया भैरहवा काठमाडौँ उडान गरेको छ । त्यो बाहेक अरु अन्तराष्ट्रिय उडान छैन। ध्यानाकर्षण गराउँदा सुनुवाइ नभएपछि सडकमा उत्रिएको सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए।